अभिमुखीकरणका लागि होटेल पुगे रास्वपा सांसदहरू, क-कसले दिने छन् प्रशिक्षण ?

714
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु गर्दै छ ।

ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा सञ्चालन हुने अभिमुखीकरणमा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे प्रशिक्षण दिइनेछ । कार्यक्रममा सहभागी हुन सांसदहरू पुग्नेक्रम जारी छ ।

मंगलबार बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमको उद्घाटन पार्टीका उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्याल (डिपी)ले गरेका छन् । प्रारम्भिक सत्रमा उपसभापतिद्वय अर्याल र स्वर्णिम वाग्लेले अभिमुखीकरणको उद्देश्य र तात्पर्यबारे जानकारी गराउने कार्यतालिका छ ।

अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय, महामन्त्री कविन्द्र बुर्लाकोटी लगायत शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ । यद्यपि बालेनको भूमिका भने औपचारिक रूपमा खुलाइएको छैन ।

पहिलो दिन विभिन्न सत्रहरूमा पूर्वसचिव सुरेश अधिकारीले संसदको संरचना र कार्यप्रणालीबारे जानकारी दिने छन् भने पूर्वकानुन सचिव तोयानाथ अधिकारीले कानुन निर्माण प्रक्रियाबारे प्रशिक्षण दिने कार्यसूची छ ।

यस्तै, विश्लेषक दोभान राईले संसद र नागरिकबीचको सम्बन्ध, डिजिटल युगमा प्रभावकारी सञ्चारका विषयमा प्रशिक्षण दिनेछिन् । चितवन–३ बाट निर्वाचित सांसद सोविता गौतम लगायतले पनि अनुभव साझा गर्ने कार्यक्रम रहेको छ ।

पहिलो दिन नवसांसदहरूलाई समूहमा विभाजन गरी आपसी परिचय, अन्तरघुलन तथा समूहगत कार्य क्षमताको विकासमा समेत जोड दिइनेछ । साथै, स्वर्णिम वाग्लेले पार्टीको चुनावी वाचापत्र र त्यसप्रति सांसदको जिम्मेवारीबारे प्रशिक्षण दिनेछन् ।

दोस्रो दिनको कार्यक्रम योग–ध्यानबाट सुरु हुनेछ । यसअन्तर्गत एलपी भानु शर्माले योग तथा ध्यान अभ्यास गराउनेछन् । त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वसचिव तोयानारायण ज्ञवालीले योजना तर्जुमा, बजेट निर्माण र विन्यासबारे प्रशिक्षण दिनेछन् ।

यसैगरी, पार्टी र संसदबीचको सम्बन्धबारे महामन्त्री बुर्लाकोटीले प्रशिक्षण दिनेछन् भने संसदीय कार्यसूची र प्राथमिकता निर्धारणका विषयमा सामूहिक छलफल पनि गराइनेछ ।

दोस्रो दिनको अन्तिम सत्रमा सभापति रवि लामिछानेको सम्बोधनसँगै अभिमुखीकरण समापन हुने कार्यसूची रहेको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्दै प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटसहित झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको थियो ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी