निर्माणाधीन सपिङ मल सहितको होटेल चितवनका लागि चौधरी ग्रुपले माग्यो १ अर्ब ऋण



काठमाडौं । चौधरी ग्रुपतले चितवनको भरतपुरमा निर्माण गरिरहेको सपिङ मल सहितको होटेल चितवन प्रालिका लागि १ अर्ब रुपैयाँ ऋण लिने भएको छ । शुरुमा अनुमान गरिएको बजेटले होटेल निर्माण नभएपछि चौधरी ग्रुप ऋण माग्दै बैंकमा पुगेको छ ।

५० करोड रुपैयाँभन्दा माथिको ऋणको रेटिङ गराउनुपर्ने व्यवस्था छ । जसकारण होटेल चितवनले ऋण लिनु पहिले केयर नेपालबाट रेटिङ गराएको हो ।

चौधरी ग्रुपले सपिङ मल र मल्टिकम्प्लेक्स सहितको उक्त होटेलका लागि ९४ करोड ७० लाख रुपैयाँ दीर्घकालका लागि र ३ करोड रुपैयाँ छोटो समयका लागि ऋण मागेको हो । केयर नेपालले सर्ट टर्मका लागि ए फोर प्लस र दीर्घकालका लागि डबल बी प्लस रेटिङ दिएको छ ।

उक्त आयोजनाका अध्यक्ष विनोद चौधरीका छोरा निर्माण चौधरी छन् ।

कम्पनीले एकतर्फीरुपमा आम्दानीको हिसाब गरेको हुनाले त्यहाँनेर जोखिम हुनसक्ने केयर नेपालको भनाइ छ ।

निर्माणकार्य ७७ प्रतिशत सकिँदै सपिङ मलको ५८ प्रतिशत स्पेसमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्राण्डहरु नाइक, पुमा, किड प्लान्ट, निजी र जोनीले बुकिङ गरिसकेको छ । ती ब्राण्डले होटेलभित्र रहेको रिटेल स्पेसमा शोरुम राखेर आफ्ना उत्पादन बिक्री गर्नेछन् ।

होटेलको टपमा स्वीमिङ पुल र रुफ टप रेस्टुराँ हुनेछ । त्यसैगरी, होटेलभित्रै सभाहल र मल्टिप्लेक्स पनि हुनेछ ।

शुरुमा १ अर्ब ४१ करोड ४० लाख रुपैयाँमा उक्त कम्प्लेक्स निर्माण हुने अनुमान गरिएको थियो । जसमध्ये ७० करोड ७० लाख प्रोमोटेरको पुँजी र ७० करोड ७० लाख बैंकबाट ऋण लिएर कम्प्लेक्स निर्माण थालिएको थियो ।

विभिन्न कारणले लागत बढेर अहिले १ अर्ब ७३ करोड रुपैयाँ लाग्ने देखिएको छ । जसकारण २४ करोड रुपैयाँ अतिरिक्त ऋण लिनुपर्ने देखिन्छ । कम्प्लेक्स बनाउन २०१८ को नोभेम्बर सम्ममै १ अर्ब ३३ करोड रुपैयाँ खर्च भइसकेको छ । २०१९ को अप्रिल सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य रहेको चौधरी ग्रुपले जनाएको छ ।

युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको चितवन राष्ट्रिय निकुञ्जबाट २३ किलोमिटरको दूरीमा रहेको उक्त होटेल भरतपुर बिमानस्थलदेखि १ किलोमिटरको दूरीमा छन् । चितवन राष्ट्रिय निकुञ्जमा वार्षिक डेढ लाख पर्यटक जाने गर्छन् । ती नै पर्यटकलाई लक्षित गरेर चौधरी ग्रुपले होटेल बनाएको हो ।

उक्त कम्प्लेक्सले विविध किसिमबाट आम्दानी गर्नसक्छ । कम्प्लेक्स १ लाख ८ हजार स्क्वायर फिट क्षेत्रफलमा बनिरहेको छ । उक्त कम्प्लेक्समा ७० वटा खुद्रा पसल, मल्टिकम्प्लेक्स, ४८ वटा कोठा भएको होटेल, फाइन डाइन रेस्टुराँ, आउट डोर डाइनिङ, बैंक्वेट र रुफटप रेस्टुराँ रहनेछन् ।

कम्पनीले एकतर्फीरुपमा आम्दानीको हिसाब गरेको हुनाले त्यहाँनेर जोखिम हुनसक्ने केयर नेपालको भनाइ छ ।


पुष्प दुलाल