रेवतबहादुर कार्की र निरज गिरी ‘भ्रष्ट’ भन्दै धितोपत्र बोर्डमै नाराबाजी (भिडियोसहित)



काठमाडौं । सेयर लगानीकर्ता दबाब समूहले फागुन २७ गते धितोपत्र बोर्ड विरुद्व ८ दिने आन्दोलनको घोषणा गरेको थियो । उनीहरुको आन्दोलन चैत ९ गतेदेखि १६ गतेसम्मको थियो ।

बिडम्बना उनीहरुको अन्दोलन सकिने अन्तिम दिन र अघिल्लो दिन सरकारले काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछ ।
आन्दोलनरत लगानीकर्ताहरुलाई लगानी सम्मेलनको विरोधीको रुपमा पनि चित्रित गरिएको छ । तर उनीहरुले नै त्यसलाई अस्विकार गर्दै आएका छन् ।

उनीहरुको आन्दोलनको कार्यक्रममध्ये अर्थमन्त्री डा. युवराज खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नेदेखि धितोपत्र बोर्ड, नेप्सेका अध्यक्ष लगायत अधिकारीहरुको घर–कार्यालय घेर्ने र लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुसँग छलफल गर्नेसम्म रहेको थियो ।

लगानीकर्ताको घोषणाः सेबोन अध्यक्ष कार्कीले षड्यन्त्र गरे, अब ‘हिसाब चुक्ता’ गर्छौं

जसअन्तगर्त आन्दोलनको दोस्रो दिन कार्यक्रम सेडुलमा नभएको कार्यक्रम दबाब समूहले गर्यो, त्यो भनेको धितोपत्र बोर्डमा लगाएको तालाबन्दी हो । उनीहरुको कार्यक्रम तालिका अनुसार आज धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने भनिएको थियो ।

लगानीकर्ताहरुले भ्रष्टाचारी कर्मचारी राजीनामा दे, भ्रष्टाचारी कर्मचारी मुर्दाबाद, रेवतबहादुर कार्की राजीनामा दे, निरज गिरी राजीनामा दे, भ्रष्टाचारी कर्मचारी देश छोड भन्दै चर्को नाराबाजी गरे ।

बोर्डमा तालाबन्दी गर्ने कार्यक्रम १३ गतेमात्रै थियो । उनीहरुले १३ गतेको कार्यक्रम आजै सारेर बिहान ८ बजे नै बोर्डमा ताला लगाए । उनीहरुले आइतबार ताल लगाउने कार्यक्रमको जानकारी न धितोपत्र बोर्डलाई थियो, न त प्रहरी प्रशासनलाई नै । जानकारीबिना दबाब समूहले सबैलाई ‘सरप्राइज’ दियो । ८ बजे नै ताला लाग्यो । १० बजे कार्यालयमा बोर्डका कर्मचारी पुग्दा ताला लागिसकेको थियो ।

ताला लागेपछि ३ घन्टा उनीहरु बोर्ड परिसरमा रहेको चउरमा बढ्दो गर्मीलाई चुनौति दिँदै रुखको शितल छहारीमा बसिरहे । त्यो क्रममा केही माथिल्लो तहका कर्मचारी तनाबमा देखिएका थिए भने अन्य कर्मचारी भने रुखको छहारीमा बस्दै सेल्फी खिची रहेका थिए । अझ भनौं त्यहाँ निकै मज्जाले फोटो सेसन चलिरहेको थियो । बोर्डका कर्मचारीले धित मरुन्जेल फोटो खिचे । केही कर्मचारीले त बदाम समेत किनेर ल्याउन भ्याएछन् ।


चउरमा, रुखको शितल छहारीमा बसेर फोटो खिच्दै, बदाम खाँदै, निकै मज्जाको दृश्य थियो त्यो । त्यो बेलासम्म लगानीकर्ताहरु उभिएर मात्र आन्दोलन सम्भव नहुने भन्दै कसरी अघि बढ्ने भन्ने छलफलमा रहेका थिए ।

झण्डै साढे ११ बजेको हाराहारीमा एक लगानीकर्ताले जुक्ति निकाले त्यो थियो, त्रिपाल किनर ल्याउने र बोर्डको मुख्य प्रवेशद्वारमा ओछ्याएर बस्ने ।

गत मंसिरमा पाल टाँगेर, पाल नै ओछ्याएर रिलेअनसन हुँदै आमरण अनसन बसेका उनीहरुलाई यो जुक्ति खियाउनु खासै नयाँ कुरा भने होइन । तत्कालै उनीहरुले ८ सय रुपैयाँ तिरेर नयाँ पाल पनि ल्याएर बोर्डको मुख्य प्रवेशद्वारमा धर्ना बसे ।

अध्यक्ष डा. रेवत बहादुर कार्की बोर्डमा ताला लगाएको थाहा पाएपछि कार्यलयमा आउँदै आएनन् सीधै अर्थ मन्त्रालयतिर हानिए ।

उनीहरु धर्नामा बसिरहँदा बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेल भने निकै तनाबमा थिए । बोर्डका कार्यकारी निर्देशक निरज गिरी बार्षिक रुपमा पाउने बिदा अन्तर्गत छुट्टिमा रहेका थिए भने, अध्यक्ष डा. रेवत बहादुर कार्की बोर्डमा ताला लगाएको थाहा पाएपछि कार्यलयमा आउँदै आएनन् सीधै अर्थ मन्त्रालयतिर हानिए ।

अब त्यहाँको बाताबरण मिलाउने जिम्मेवारी पौडेलको काँधमा आयो, बिडम्बना, त्यो जिम्मेवारी उनले सहजै बहन गर्न भने सकेनन् ।

बोर्डसँग मात्रै वार्ता नगर्ने लगानीकर्ताको हठ

लगानीकर्ताहरुलाई उनले पटक–पटक बार्तामा आउन आग्रह गर्दा पनि लगानीकर्ता मान्दै मानेनन् । उनीहरुले अब कुनै पनि वार्ता बोर्डसँग नहुने र सीधै अर्थमन्त्री वा प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने अडान कसे ।

उनीहरुले सरकारले ५८ बुँदा मध्ये बोर्डको भागमा परेको काम गर्न भनेर निर्देशन दिँदा सरकारकै निर्देशन नमान्ने निकायसँग वार्ता गर्नुको कुनै औचित्य नभएको भन्दै वार्तामा बस्न मानेनन् । उनीहरुले अन्तिम सम्मपनि बोर्डसँग कुनै पनि वार्ता नगर्ने गर्नै बरु अर्थमन्त्रालयको एक जना, आन्तरिक राजश्व विभागको एक जना र बोर्डको एकजनासहित ३ जनासँग दबाब समूहको तर्फबाट ३ जना बसेर वार्ता गर्न तयार भए ।

प्रहरीले लगानीकर्ताहरुलाई सामान्य लछार पछार गरेर ताला तोडेको थियो ।

लगानीकर्ताहरुले यस्तो प्रस्ताव गरिरहँदा बोर्डका कार्यकारी निर्देशक पौडेलले राजश्व विभाग, मन्त्रालयका अधिकारी वार्तामा आउने ग्यारेन्टी आफुले दिन नसक्ने भन्दै आफुले मात्रै वार्ता गर्ने र त्यसको लागि पहिला ताला खोल्न पटक–पटक आग्रह गरे । तर लगानीकर्ताहरुले उनको प्रस्ताव मान्न तयार भएनन् ।

उच्च सुरक्षा सतर्कता

सेयर बजारमा १५ लाख लगानीकर्ता छन् भनिए पनि लगानीकर्ताको हकहितको लागि भन्दै गरिएको तालाबन्दीमा करिब ३० जना मात्रै लगानीकर्ता थिए । तर प्रहरी भने त्यो भन्दा निकै बढी थिए ।

बोर्डमा सुरक्षाको थ्रेट देखेर जिल्ला प्रशासन कार्यालय (जिप्रका)ले धितोपत्र बोर्डलाई एउटा पत्र पठायो । लगानीकर्ताहरुको विरोधस्वरुप आन्दोलन चली रहेको समयमा जिप्रकाले पत्र पठायो । कार्यालयमा ताला लागेपनि रुखको छहारीमा बसेका कर्मचारीहरुले पत्र बुझे, जसको चलान नम्बर ३७८७ हो । जिप्रकाले त्यही समयमा ललितपुर प्रहरीलाई पनि पत्र पठाएको थियो ।

बोर्डसँग युद्ध सुरु भएको बताउने लगानीकर्ताहरुले आगामी दिनमा सचेत भएर बाँकी आन्दोलनका कार्यक्रमतर्फ लाग्नुपर्ने निश्कर्ष निकालेका छन् ।

पत्र आएको थाहा पाएपछि केही लगानीकर्ता भने अब प्रहरीले धरपकड गर्ने र सबैलाई लगेर थुन्ने भयो भन्ने चिन्तामा परिसकेका थिए ।

उक्त पत्र पाएपछि २ जना इन्सपेक्टरको कमान्डमा दुई भ्यान प्रहरी बोर्डमा आए । त्यति गर्दा पनि स्थिति असामान्य बनेपछि ललितपुरका डिएसपी एआर बोहराको नेतृत्वमा थप प्रहरी आए । रमाइलो प्रसंग के छ भने नेपाल प्रहरीले मात्र कुनै ठाँउमा शान्ति सुरक्षा कायम गर्न नसकेको खण्डमा शसस्त्र प्रहरी आउने गर्दछ । बोर्डमा भने असईको नेतृत्वमा ७ जना शसस्त्र प्रहरी पनि आएका थिए । बोर्डमा ४ गाडी सुरक्षा निकायका अधिकारीहरु तैनाथ रहे । त्यसपछि लगानीकर्ताहरु निरास बन्दै गए ।

डिएसपी आएपछि उनले बोर्डका कार्यकारी निर्देशक पौडेलसहित लगानीकर्तासँग चउरमै छलफल गरे । डिएसपीले सरकारी कार्यालयमा तालाबन्दी गर्न नपाउने र कार्यालय खोल्न दबाब समूहलाई आग्रह गरे ।

लगानीकर्ताहरुले कुनै पनि हालतमा ताला नखोल्ने र आफ्ना ३२ बुँदे माग पुरा भएपछि मात्रै ताला खोल्ने अडान कसे । वार्ताको सन्दर्भमा अर्थमन्त्रालय, आन्तरिक राजश्व विभाग र बोर्डका पदाधिकारीसँग मात्रै वार्ता गर्ने अडान लिए ।

जब प्रहरीले ताला तोड्यो…

लगानीकर्ताहरुले धर्ना छोड्न नमानेपछि प्रहरीले अन्त्यमा सामान्य बल प्रयोग गरेर ताला फोड्यो । दबाब समूहले सात सय रुपैयाँ खर्च गरेर ताला र साङलो ल्याएका थिए । त्यो प्रहरीले एकै पटकमा तोडिदियो । त्यो समयमा प्रहरीले लगानीकर्ताहरुलाई सामान्य लछार पछार गरेर ताला तोडेको थियो ।

एक लगानीकर्ता भने भुईमा लडीबुडी पनि गरिरहेका थिए । प्रहरीले ताला फोडेपछि भित्र थुनिएका बोर्डको कर्मचारी यूनियनका अध्यक्ष समेत रहेका राजबहादुर जिसी बाहिर निस्किए । यसपछि ३ घन्टा शितल छहारीमा बसेका कर्मचारी प्रहरीको सुरक्षा घेराबीच कार्यालमा प्रवेश गरे ।
प्रहरी र लगानीकर्ताबीच रस्साकस्सी भइरहँदा नेप्सेका एक कर्मचारी टुप्लुक्क पुगेका थिए । उनी केही समय बसेर फर्किइहाले ।

अध्यक्ष कार्की र कार्यकारी निर्देशक गिरीको राजीनामा मागियो

प्रहरीको उच्च सतर्कताबीच कर्मचारीहरु १ बजेपछि कार्यालयमा प्रवेश गरे, त्यो समयमा लगानीकर्ताहरु भ्रष्टाचारी कार्यालयमा छिरे भन्दै विरोध स्वरुप हाँसेर ताली बजाउँदै पुनः नाराबाजीमा लागे ।

उनीहरुले भ्रष्टाचारी कर्मचारी राजीनामा दे, भ्रष्टाचारी कर्मचारी मुर्दाबाद, रेवतबहादुर कार्की राजीनामा दे, निरज गिरी राजीनामा दे, भ्रष्टाचारी कर्मचारी देश छोड भन्दै चर्को नाराबाजी गरे ।

त्यसपछि दबाद समूहले वक्तव्य जारी गर्ने तयारी गरिरहेका थिए । हरी ढकाल, गोपाल स्वामी लगायत केही दबाब समूहका व्यक्तिहरु बाहिर निस्केका थिए, उनीहरुलाई प्रहरीले भित्र प्रवेश गर्न नदिएपछि केही हुन सकेन ।

भित्र भएका सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले आफ्ना माग पुरा नभएसम्म आन्दोलन कायमै राख्ने प्रतिकृया जनाए, आगामी दिनमा कस्तो आन्दोलन हुने भन्ने रणनीति बनाएर अघि बढने बताए ।

राज्य नै आन्दोलनको पछि लागेपछि आफ्नो केही नलाग्ने आन्दोलनकारीहरु निष्कर्षमा पुगेका छन् । बोर्डसँग युद्ध सुरु भएको बताउने लगानीकर्ताहरुले आगामी दिनमा सचेत भएर बाँकी आन्दोलनका कार्यक्रमतर्फ लाग्नुपर्ने निश्कर्ष निकालेका छन् ।

उनीहरुले धितोपत्र बोर्डमा खर्चेको चार घन्टामा कुनै उपलब्धि नभएन । तर ताला चाबीमा ७ सय र त्रिपालमा ८ सयसहित १५ सय रुपैयाँमात्र खर्च भयो ।

उनीहरुले त्यो तालाचाबी र त्रिपाल भने लिएर आएका छन् । प्रहरीले त्यो लैजान खोजेपनि आफैंले लिएको आएका छन् ।


पुष्प दुलाल