लगानीकर्ताको घोषणाः सेबोन अध्यक्ष कार्कीले षड्यन्त्र गरे, अब ‘हिसाब चुक्ता’ गर्छौं



काठमाडौं । सेयर लगानीकर्ता दबाब समूहले आइतबार धितोपत्र बोर्डमा गरेको तालाबन्दी सरकारी दमनका बीच सफल भएको निष्कर्श निकालेको छ ।

समूहले विज्ञप्ति जारी गर्दै पूँजी बजार सुधार र बिस्तारका साथै लगानीकर्ताहरुको लगानी सुरक्षाको सवालमा २ महिनाअघि अर्थ मन्त्रालयलगायतका नियमनकारी निकायहरुमा पेश गरिएको ३२ बुँदे माग पुरा गराउन दबाब स्वरुप बोर्डमा गरको तालाबन्दी सफल भएको जनाएको हो ।

समूहले आफ्ना पूर्व घोषित कार्यक्रमलाई सरकारले दमनकारी नीति अख्तियार गरेपछि रणनीतिक रुपमा परिवर्तन गरी आइतबार बिहान ८ बजे बोर्डको कार्यालयमा तालाबन्दी गरिएको जनाएको छ ।

तालाबन्दी जारी रहँदा १ बजेको समयमा धितोपत्र बोर्डका अध्यक्ष रेबत कार्की र कार्यकारी निर्देशक निरज गिरीलगायतका केही अधिकारीको उक्साहटमा प्रहरीले दमन गरी ताला फोरेर लगानीकर्ताहरुलाई लछारपछार गरेकोमा निन्दा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

समूहले पूँजी बजार र आम सर्बसाधारण लगानीकर्ताको हित विपरित कुटिल षडयन्त्र गर्नेहरुको एक–एक हिसाब लगानीकर्ताले चुक्ता गर्ने समेत चेतावनी दिएको छ ।

पुँजी बजार जस्तो संबेदनशील क्षेत्रमा उत्पन्न भएका समस्या र सुधारका लागि लगानीकर्ताले दिएको दबाबलाई सरकारले हार्दिक रुपमा स्वीकार गरी तत्काल सुधार गर्नुपर्नेमा उल्टै प्रहरी लगाएर दमन गर्ने, लगानीकर्तालाई धम्क्याउने तथा ब्यक्तिगत रुपमा लान्छना लगाउँने कार्य गर्नु हदैसम्मको निन्दनीय काम भएको निष्कर्श निकालेको छ ।

‘नियमनकारी निकायले अध्ययन समितिको ५८ बुँदे सुझाव कार्यान्वयनमा आलटाल गरिरहेको अबस्थामा अर्थ मन्त्रालय समेत सोही षडयन्त्रमा संलग्न रहेको आजको घटनाले पुष्टि गरेको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको पूँजी बजार बिकास, बिस्तार र सुधार गरी लगानीकर्ताको लगानी सुरक्षित गर्नेे अभियानमा कडा र सशक्त भएर अगाडि बढ्ने पनि जनाएका छन् ।


पुष्प दुलाल