राम र सीताको बिबाह भएको जनकपुरमा ‘बैबाहिक पर्यटन’को विकास गर्न ५ अर्बको होटेल



काठमाडौं । राम र सीताको बिहे भएको ठाउँ जनकपुरधाममा बैबाहिक पर्यटनको विकास गर्ने योजना अघि सारिएको छ । लगानी बोर्डले यही चैत १५ र १६ गते काठमाडौंमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा यस्तो प्रोजेक्ट शोकेस गर्दैछ ।

जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज प्रोजेक्ट नाम दिइएको उक्त आयोजना बनाउन ५० मिलियन डलर अर्थात साढे ५ अर्ब रुपैयाँ लाग्ने बोर्डले जनाएको छ ।

‘राम र सीताको बिबाह ऐतिहासिक महत्वको बिबाह हो, त्यस्तो महत्वपूर्ण ठाउँ हाम्रो जनकपुरमा छ,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले क्लिकमाण्डूसँग भने, ‘त्यसैले हामीले जनकपुरमा बैबाहिक पर्यटनको विकास गर्न यो आयोजना तयार पारेका हौं ।’

अधिकारीका अनुसार विश्वभर नै बैबाहिक पर्यटनको कारोबार बढिरहेको छ । भारतमा मात्रै प्रत्येक वर्ष ३६ अर्ब रुपैयाँ बैबाहिक पर्यटनको कारोबार हुन्छ । सन् २०२० सम्ममा यो आकार बढेर ७० अर्ब रुपैयाँ पुग्ने बोर्डको अनुमान छ ।

जनकपुरमा बिबाह गराउने स्तरीय र सुविधासम्पन्न होटेल बनाउने हो भने भारतीयहरुको ठूलो आकर्षण हुने अधिकारीले जानकारी दिए ।

‘हिन्दू धर्म मान्नेहरु खासगरी भारतीयहरु राम र सीताको बिहे भएको ठाउँमा आएर बिहे गर्न चाहन्छन्,’ उनले भने, ‘यसको बजार भनेको त्यही हो ।’

त्यसका अलावा नेपालीहरुका लागि पनि आकर्षणको केन्द्रविन्दु बन्ने उनको भनाई छ ।

‘पछिल्लो समय नेपालीहरु पनि लाखौ रुपैयाँ खर्च गरेर पार्टी प्यालेस तथा ब्याक्वेटहरुमा बिबाह गर्न थालेका छन्, राम र सीताको बिबाह भएको ठाउँमा बिबाह गर्न पाउने सुविधासम्पन्न होटेल बनाउने हो भने नेपालीहरु पनि आकर्षित हुन्छन्,’ अधिकारीले भने ।

नेपालको धर्म संस्कृतिलाई ब्राण्डिङ गर्दै पर्यटकलाई आकर्षित गर्नका लागि यस्तो आयोजनाको परिकल्पना गरिएको उनले बताए । बोर्डले तयार पारेको प्रोजेक्ट अनुसार २५ देखि ३३ हेक्टर जमिनमा बनाइने उक्त होटेलमा १ सय ४० वटा अत्याधुनिक सुविधासम्पन्न रुम हुनेछन् ।

त्यस्तै, ३ हजारजना अट्ने सभाहल हुनेछ भने विवाहका लागि स्तरीय र आधुनिक सुविधा हुनेछन् ।

उक्त आयोजनाले त्यस वरपर सांस्कृतिक गाउँको विकास गर्नेछ । र, उक्त गाउँभित्र होमस्टे, प्रवेशद्धार, सामुदायिक केन्द्र, पर्यटन सूचना केन्द्र, प्रहरी चौकी, चिया घर, सार्वजानिक सौचालय आदि रहनेछन् ।

विश्वव्यापीमरुपमै बैबाहिक पर्यटन फस्टाइरहेको अवस्थामा नेपालमा पनि राम र सीताको विवाह भएको जनकपुरमा बैबाहिक पर्यटनको संभावना भएको बोर्डको ठहर छ ।

४ वर्षमा निर्माण सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गरेर उक्त होटेलको स्वामित्व सरकारलाई हस्तान्तरण गर्ने बुट मेडेलमा उक्त होटेल बनाउन दिने योजना बोर्डले अघि सारेको हो ।

आदिम युगमा भवगान राम र राजा जनककी छोरी सीताबीच जनकपुरको जानकी मन्दिर भएको ठाउँमा बिबाह भएको धार्मिक मान्यता छ । त्यसैले जनकपुरलाई हिन्दु धर्मावलम्बीहरुले विवाहका लागि पवित्रस्थलको रुपमा लिने गरेका छन् । जनकपुरधाम र जानकी मन्दिर नेपालको महत्वपूर्ण सांस्कृतिक पर्यटकीय क्षेत्र पनि हो ।


पुष्प दुलाल