अहिलेसम्म विदेशी लगानी नआएको देशका विदेशमन्त्री लगानी सम्मेलनका मुख्य वक्ता



काठमाडौं । सरकारले लगानी सम्मेलनमा प्रमुख वक्ताको रुपमा नेपालमा अहिलेसम्म लगानी नगरेको देश म्यानमारका लगानी तथा विदेशमन्त्रीलाई बोलाएको छ ।

उद्योग विभागको तथ्यांक हेर्ने हो भने अहिलेसम्म म्यानमारबारबाट बैदेशिक लगानी भने आएको छैन ।

शुक्रबारदेखि काठमाडौंमा सुरु हुने लगानी लगानी सम्मेलनमा म्यानमारका लगानी तथा विदेश मन्त्री उ ताउन तुनले विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

दुई वर्षअघि भएको लगानी सम्मेलनमा भारतबाट अर्थमन्त्री अरुण जेट्ली आएर विशेष सम्बोधन गरेका थिए ।

सरकारले लगानी सम्मेलनमा विशेष वक्ताको रुपमा म्यानमारका विदेश मन्त्रीलाई छानेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन समारोहमा म्यानमारका अर्थमन्त्रीसँगै विश्व बैंकका उपाध्यक्ष हार्टविङ स्याफरले सम्बोधन गर्ने छन् । यस्तै एशियाली विकास बैंकका उपाध्यक्ष सिएन चेनले सम्बोधन गर्ने छन् ।

यस्तै हङकङको मेनहर्ट ग्रुपका कार्यकारी अध्यक्ष सहादत नसिम र भारतको मुथुट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुटले समेत सम्बोधन गर्ने छन् ।

म्यानमारका विदेशमन्त्री २८ जना सहभागी लिएर नेपालको लगानी सम्मेलनमा सहभागी हुनेछन् ।

स्रोतका अनुसार यो पटक म्यानमारले नेपालको एउटा परियोजनामा लगानीको लागि लगानी सम्मेलनमा सम्झौता गर्ने छ ।

यद्यपी कतिपय व्यापारी तथा व्यवसायीले भने विशेष वक्ताको रुपमा लगानी नै नआएको देशका अर्थमन्त्रीलाई बोलाएर गलत खाले सन्देश सरकारले दिन खोजेको बताए ।

‘पछिल्लो समय खानी र कृषि क्षेत्रमा म्यानमारका लगानीकर्ताले चासो दिएका छन्, तर,अहिलेसम्म म्यानमारबाट औपचारिक रुपमा लगानी आएको छैन, यस्तो अवस्थामा अन्य देशबाट राजनीतिक नेतृत्वलाई सहभागिता गराउनुपर्ने थियो,’ एक व्यवसायीले क्लिकमाण्डूसँग भने ।

सरकारले लगानी सम्मेलनमा भारत र चीनबाट उच्च स्तरको राजनीतिक नेतृत्वको सहभागितालाई लागि अनुरोध गरेको थियो । सरकारी अधिकारीहरुका अनुसार भारतमा लोकसभा निर्वाचन सुरु हुन लागेको हुँदा भारतबाट उच्च सरकारी प्रतिनिधित्व असम्भव थियो ।

चीनका लगानीकर्ता बढी आएपनि सरकारी अधिकारीहरु नआउने सन्देश दिएका थिए । त्यसपछि सरकारले म्यानमारका अर्थमन्त्रीलाई विशेष वक्ताको रुपमा बोलाउने निर्णय गरेको थियो ।

नेपालबाट म्यानमार पुगेका नेपालीभाषीको संख्या भने म्यानमारमा रहेको छ । नेपालबाट म्यानमार पुगेर पुनः फर्केर नेपालमा ठूलो लगानी गरेका सौरव ग्रुप र अम्बे ग्रुपको व्यवसायिक यात्रा भने म्यानमारबाट सुरु भएको थियो । म्यानमारमा रहेका नेपालीभाषी म्यानमारीले नेपालमा लगानी गर्ने चासो भने दिएका छन् ।

म्यानमारको अर्थतन्त्रको आकार ६९ अर्ब अमेरिकी डलरको छ । नेपालको अर्थतन्त्रको आकार ३० अर्ब अमेरिकी डलरको रहेको छ । यस आधारले म्यानमारको अर्थतन्त्रको आकार नेपालको भन्दा दोब्बर भन्दा बढी हो ।

नेपाल र म्यानमारबीच व्यापारको कुरा गर्ने हो भने १ अर्ब २२ करोड रुपैयाँ बराबरको सामान पछिल्लो ६ महिनामा आयात भएको थियो । यस्तै ९ करोड ८५ लाख रुपैयाँ बराबरको सामान म्यानमार निर्यात भएको थियो ।

म्यानमारले गत फ्रेबुअरीमा लगानी सम्मेलनको आयोजना गरेको थियो । सन् २०११ बाट आर्थिक उदारिकण सुरु गरेको म्यानमार विदेशी लगानी आकर्षित गर्न भने आफैं लागिरहेको छ ।

एशिया प्यासेफिक सम्मेलनमा भाग लिन आएकी म्यानमारकी सेट काउन्सिर आङसाङ सूकीले चेम्बर एक्प्सोको उद्घाटन समारोहमा म्यानमारमा लगानी गर्नको लागि नेपाली लगानीकर्तालाई आह्वान गरेकी थिइन् ।

नेपाली कानून अनुसार विदेशमा लगानी गर्न भने प्रतिबन्ध रहेको छ ।


पुष्प दुलाल