सिजनमै सुस्तायो निर्माण क्षेत्र, सिमेन्ट बोरामा १०० रुपैयाँ घट्दा, डण्डी १० रुपैयाँले घट्यो



काठमाडौं । गतवर्ष यो समयमा निर्माण सामाग्रीको व्यापार अत्याधिक बढी थियो । सिमेन्ट होस् या डण्डी वालुवा र रोडाको व्यापारमा चमक थियो । तर, यो वर्ष सिजनमा नै निर्माण क्षेत्रको व्यापार सुस्ताएको छ ।

व्यापार सुस्ताएसँगै निर्माण सामाग्रीको मूल्य समेत घटेको छ । सिमेन्ट, डण्डी रोडा र वालुवाको मूल्य घटेको हो ।

अर्घाखाँची सिमेन्टका प्रवन्ध निर्देशक पशुपति मुरारका निर्माण क्षेत्रको व्यापारमा कमी आएसँगै सिमेन्टको मूल्य बोरामा एक सय रुपैयाँसम्मले घटेको बताउँछन् ।

‘अघिल्ला वर्षहरुमा मंसिरदेखि चैत महिनासम्म व्यापार अत्याधिक बढी हुने गरेको थियो, व्यापार नभएपछि सिमेन्टको मूल्य घटेको छ,’ उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष समेत रहेका उद्योगी मुरारकाले क्लिकमाण्डूसँग भने ।

सिमेन्टको बिक्री नभएपछि सिमेन्ट उत्पादक कम्पनीले विभिन्न खाले स्किम ल्याएका छन् । खासगरी यस्ता स्किमहरु अघिल्ला वर्ष अफसिजनमा हुने गरेका थिए ।

आर्थिक गतिविधिमा देखिएको सुस्ततासँगै निर्माण क्षेत्रको व्यापारमा कमी आएको हो । गतवर्ष भूकम्पपछिको पुननिर्माणको लागि घर निर्माण अत्याधिक बढी भएको थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले गतवर्ष नक्सापास गरेर घर बनाउनेको संख्या ५० प्रतिशतले बढेको थियो । यो पटक त्यो अनुपातमा घर बनाउनेको संख्या बढेको छैन ।

अहिले सिमेन्टको मूल्य बोरामा ओपीसी र पीपीसीमा १०० रुपैयाँसम्म घटाएर उद्योगीले बेचेका छन् । उपभोक्ताले लिदा ६० रुपैयाँसम्म तीन महिना अगाडिको तुलनामा मूल्य घटेको बिक्रेताहरु बताउँछन् ।

बैंक तथा वित्तीय संस्थामा अहिले ऋण दिने रकमको अभाव छ । जसले गर्दा माग अनुसारको ऋण दिने क्षमता बैंक तथा वित्तीय संस्थाको छैन । ललितपुरमा निर्माण सामाग्रीको बिक्रेता रहेको देवेन्द्र राय सिमेन्टदेखि डण्डी बालुवा रोडा सबैको मूल्य घट्दापनि किन्ने उपभोक्ता आएका छैनन् ।

‘९ वर्ष अगाडिको मूल्यमा रोडा पाउने अवस्था भएको छ, प्रतिटिप्प ८ हजारसम्म पर्ने रोडा अहिले ३५ सयमा झरेपनि खरिदकर्ता छैनन्, यस्तै अवस्थामा बालुवामा पनि छ,’ उनले भने ।

सिमेन्टको बिक्री नभएपछि सिमेन्ट उत्पादक कम्पनीले विभिन्न खाले स्किम ल्याएका छन् । खासगरी यस्ता स्किमहरु अघिल्ला वर्ष अफसिजनमा हुने गरेका थिए । यो पटक बिक्री बढाउनको लागि स्किमहरु बढेका छन् ।

शिवम सिमेन्टका सिनियर ब्राण्ड म्यानेजर केशव अर्याल बिक्रीको हिसाबले अघिल्लो वर्षको तुलनामा यो वर्ष सिमेन्टको बिक्रीमा कमी आएको बताउँछन् । ‘सिमेन्ट मात्र नभएर देशभर नै निर्माण सामाग्रीको मूल्य घटेको छ,’उनले भने ।

भारतबाट आउने क्लिङकर आयात घट्यो

भारतबाट आउने क्लिङकरको आयात १३ प्रतिशतले घटेको छ । नेपालमा नै क्लिङकर उत्पादन गर्ने ठूला सिमेन्ट कम्पनीको स्थापना भएसँगै क्लिङकरको आयातमा कमी आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा क्लिङकरको आयातमा १३ प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०७५/७६ को महिनाको अवधिमा ७ अर्ब ५५ करोड रुपैयाँको क्लिङकर आयात भएको छ । अघिल्लो वर्ष ५ महिनाको अवधीमा ८ अर्ब ७२ करोड रुपैयाँको क्लिङकर आयात भएको थियो ।

अर्घाखाची सिमेन्टका प्रवन्ध निर्देशक मुरारका स्वदेशी उद्योगको उत्पादन क्षमता बढ्दा भारतबाट क्लिङकर आयात घटेको बताउँछन् ।

‘क्लिङकरको आयात अझै घट्ने छ, मागभन्दा उत्पादन बढी भएको कारण भारतबाट आउने क्लिङकर घटेको हो,’ उनले भने ।

क्लिङकर समेत व्यवसायीले मूल्य घटाएका छन् ।


क्लिकमान्डु