कलंकीमा जस्तै अन्डरपास बनाएर कोटेश्वरको जाम हटाउने तयारी



काठमाडौं । सडक विभागले ‘ग्रेड सेप्रेशन’ (छुटाछुट्टै–सडक) माध्यमबाट कोटेश्वर खण्डको जाम हटाउने तयारी गरेको छ । विभागले ‘ग्रेड सेप्रेशन’ माध्यमलाई प्रयोग गर्दा सवारी एकैस्थानबाट नभई तलमाथि अर्थात् फरक–फरक लेनबाट गुड्ने हुदाँ कोटेश्वर खण्डमा जाम कम हुने बताएको छ ।

कोटेश्वरमा पनि करिब कंलकीकै शैली अर्थात् ‘ग्रेड सेप्रेशन’ माध्यम अपनाउने बारेमा अध्ययन भइरहेको विभागकी उपमहानिर्देशक प्रमिला देवी शाक्यले बताइन् ।

‘ग्रेड सेप्रेशन’ माध्यम प्रयोग गर्दा सवारी साधन एकै स्थानबाट नगुड्ने हुदाँ यसका लागि अन्डरपास र फ्लाईओभरको आवश्यकता पर्दछ , जसको निर्माणको लागि अध्ययन भइरहेको छ ।

‘एअरपोर्टको नजिक भएको कारण फलाई ओभर निर्माण गर्दा १६ मिटर भन्दा माथि नगई निर्माण गर्नुपर्छ भने अन्डरपासमा भने अवरोध छैन, ’उनले भनिन् । यसको अध्यनन भने जापानी टोली जाइकाले गरिरहेको उनले जानकारी दिइन् ।

यस्तै कोटेश्वरमा सवारी साधन कम गर्नको लागि अर्को बिकल्प भनेको मनोहरा करिडोर हो । मनोहरा करिडोरको बाटो छिटै नै तयार हुने हुदाँ कोटेश्वरको जाम कम हुने विभागका इन्जिनियर दीप बराहीले गरे । ‘हाल उक्त खण्डमा ढल निकास, ढुंङ्गा बिछ्याउने काम भइरहेको हुदाँ छिटै नै सडक बन्नेछ,’उनले भने ।

पेप्सिकोला र भक्तपुरबाट आउने सवारीसाधनलाई सातदोबाटो मनोहरा पुलको मुनिबाट बालकुमारीमा निकाल्ने तयारी गरेको उनले बताए ।

त्यसपछि जडिबुटी नजिकै बाँयाखण्डमा ठूलो फुटपाथ छ त्यहाँबाट कोटेश्वर सातदोबाटोको बीच भागमा सडक जोड्न सक्ने विकल्प बारेमा अध्ययन भइरहेको उनले बताए ।

उनका अनुसार काठमाडौं उपत्यका भित्र देखिएको जाम कम गर्नका लागि ४ सदस्य रहेको एक समिति गठन गरिएको छ । जसमा सहरी व्यवस्था विभागका प्रमुख हरि कुवँरको संयोजकत्वमा सडक विभाग, काठमाडौं महानगरपालिका , काठमाडौं ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागको रहेको छ ।

अरनिको तथा पृथ्वी राजमार्गबाट आउने सवारी पार्किङको व्यवस्था गरे पनि कोटेश्वरखण्डमा जाम कम हुने भन्दै त्यसको व्यवस्थापनमा समिति लागेको बताइएको छ ।

उक्त समितिले नै रत्नपार्क आरएनएसीको क्षेत्रमा पिक्क एण्ड ड्रपको अवधारणा ल्याएको उनले बताए । हाल उक्त समितिले कोटेश्वरको जाम कम गर्ने विषयमा विकल्पहरु खोजिरहेको छ ।

कोटेश्वरखण्डमा पैदल यात्रुको चाप अत्यधिक भएको कारण त्यहाँ आकेशपुल निर्माणको विषयमा पनि प्रमुखताका साथ समितिले उठाएको इन्जिनियर बराहीले बताए ।

समितिले यो महिनाभित्र काठमाडौं उपत्यकामा ट्राफिक समस्या पहिचान गरी माथिल्लो निकायसँग छलफल समेत गर्न लागेको छ ।

उनले विभिन्न निकाय भन्दा पनि काठमाडौंको सवारी व्यवस्थापनको लागि एउटा मात्र निकाय निर्माण गरी जिम्मेवारी दिदाँ जामको समस्या हट्ने बताए ।

यस्तै इन्जिनियर बराहीका अनुसार काठमाडौंका जामलाई कम गर्नका लागि भन्दै जाइका टोलीले तीन समुह बनाएर अध्ययन तथा काम गरिरहेको बताए । विशेष गरी कोटेश्वरको जाम कम गर्नका लागि उक्त टोलीले काम गरेको उनले जानकारी दिए ।


क्लिकमान्डु