महंगा सवारी साधनदेखि खैनीसम्मको आयात रोक्ने तयारी, सुझाब समितिले सूची बुझायो



काठमाडौँ । सरकारले महंगा सवारी साधन, मोटरसाइलक, खेलौना तथा कस्मेटिक्सका केही सामना, गुटखा र खैैनीजस्ता सामानको आयातमा थप कडाई गर्ने भएको छ ।

मुलुकको शोधान्तर घाटा क्रमशः बढ्दै गएर चालु आर्थिक वर्षको ५ महिनामा नै ८५ अर्ब ३२ करोड पुगेपछि सरकारले उक्त निर्णय गर्न लागेको हो ।

उच्च आयातका आधारमा शोधान्तर घाटा बढ्दै गएको निष्कर्षका साथ सरकारले अत्यावश्यक सामान बाहेक अन्य माल वस्तु आयातमा रोक लगाउनुपर्ने निष्कर्षमा पुगेको हो ।

निर्यात बढ्न सकेको छैन । तर, आयात बढेको बढ्यै छ । जसकारण यो आर्थिक वर्षको ५ महिनामा साढे साढे ३ खर्ब ब्यापार घाटा छ । चालू खाता १ खर्बले ऋणात्मक छ । विदेशी मुद्रा सञ्चिति पनि घटिरहेको छ ।

त्यतिमात्रै होइन, वैदेशिक लगानीको प्रतिवद्धता पनि घटेको छ । गत आर्थिक वर्षको ५ महिनामा १४ अर्ब विदेशी लगानी स्वीकृत भएकोमा यो आर्थिक वर्षको ५ महिना जम्मा १० अर्ब लगानीको प्रतिवद्धता मात्रै आएको छ ।

सरकारले भने आर्थिक वृद्धिका लागि आवश्यक मानिएका माल वस्तुको आयात बढेका कारण तत्काल केही समसया देखिएपनि आगामी दिनमा त्यसको सकारात्मक प्रभाव पर्ने बताउँदै आएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि केही वस्तुमा आयातमा केही कडाई गर्ने तयारी गरेको छ । शोधान्तर स्थितिको चाप देशको ढुकुटीमा पर्न थालेपछि सरकारले उक्त निर्णय गर्न लागेको हो ।

विदेशी मुद्राको सञ्चिती घटेको तथा केही विलासी सामानको आयात पनि उच्च भएको भन्दै केही न केही माल वस्तुमा आयात रोक लगाउनै पर्ने अवस्थामा सरकार पुगेको हो ।
सरकारले केही समय पहिले नेपाल राष्ट्र बैंकसँग वस्तु आयात नियन्त्रणका लागि केही सूची माग गरेको थियो ।

अत्यावश्यक बाहेक विलासी वस्तुमा रोक लगाउनुपर्ने निष्कर्षमा सरकार पुगेको छ ।

चालु आर्थिक वर्षको ५ महिनामा मात्रै करिब ७७ अर्ब रुपैयाँले पेट्रोलियम पदार्थको आयात बढेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले करिब १८ अर्ब रुपैयाँको विद्युत् आयात गरेको छ । त्यस्तै सवारी साधानको पाटपूर्जाको आयात पनि सोही अवधिमा ६ अर्बको भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही वस्तुमा परिमाणात्म बन्देज लगाउने तयारी गरेको छ । तर, आवश्यक निर्णय भने सरकारले नै गर्ने तयारी गरेको छ ।

सरकारको सुझाव अनुसार राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट संयोजकत्वको टोलीले कुन वस्तुमा कस्तो बन्देज लगाउने भन्ने विषयमा आवश्यक सुझाव दिएका छन् ।


पुष्प दुलाल