कुन जिल्लामा कति संख्यामा छ जागिरको अवसर, काठमाडौं सबैभन्दा बढी मनाङ कम(सूचि सहित)



काठमाडौं । नेपालमा ९ लाख २२ हजार प्रतिष्ठानमा ३४ लाखले रोजगारी पाएको देखिएको छ ।

केन्द्रीय तथ्यांक विभागले पहिलो पटक राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै देशभर गरेर ९ लाख २२ हजार ४४५ व्यवसायिक प्रतिष्ठान रहेको र त्यसमा ३४ लाख ८ हजार ७४६ नेपालीले रोजगारी पाएका छन् ।

जसमा पुरुषको संख्या २० लाख ४४ हजार ९८९ रहेको छ भने महिलाको संख्या १३ लाख ६३ हजार ७५७ रहेको छ ।

केन्द्रीय तथ्यांक विभागले आर्थिक तथ्यांकको आधारको रुपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, संघसंस्था आदि प्रतिष्ठानहरु (आर्थिक एकाइहरु) को विवरण संकलन गर्ने उद्देश्यले आर्थिक गणना गरेको थियो । बैशाख १ देखि सुरु भएको तथ्यांक संकलन २०७५ साल वैशाख १ गते देखी जेष्ठ ३१ गते सम्म चलेको थियो ।

विभागले देशका ७७ जिल्लामा नै आर्थिक गणना कार्यालयहरु स्थापना गरी आर्थिक गणनाको देशव्यापी रुपमा तथ्याङ्क संकलनको कार्यक्रम सञ्चालन गरेको थियो ।

“सबै आर्थिक क्रियाकलापहरुको अन्तर्राष्ट्रिय स्तरीय औद्योगिक वर्गीकरण” मा उल्लेख भए अनुसारका नेपालमा सञ्चालित वा क्रियाशील कृषि, वन तथा माछापालन व्यवसाय (दर्ता भएकामात्र), खानी तथा उत्खनन्; औद्योगिक उत्पादन; विद्युत, ग्याँस, वाफ तथा वातानुकुलित आपुर्ति; पानी आपुर्ति,ढल, फोहर व्यवस्थापन तथा प्रशोधन क्रियाकलापहरु ; निर्माण; थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत; यातायात तथा गोदाम; आवास सुविधा तथा खाना व्यवस्थाका क्रियाकलापहरु; सूचना तथा सञ्चार; वित्तीय तथा वीमा सम्बन्धि क्रियाकलापहरु; घरजग्गा कारोबारका क्रियाकलापहरु; पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरु; प्रशासनिक तथा सहयोगी क्रियाकलापहरु; शिक्षा; मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापहरु; कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलापहरु; र अन्य सेवा क्रियाकलापहरु सञ्चालन गर्ने प्रतिष्ठानहरुलाइ यस गणनामा समेटिएको थियो ।

एउटा व्यवसायिक प्रतिष्ठानले औसतमा ३.७ जनालाई रोजगारी दिएको देखिन्छ ।
प्रदेश अनुसार सबैभन्दा बढी व्यवसायिक प्रतिष्ठान ३ नम्बर प्रदेशमा रहेका छन् । ३ नम्बर प्रदेशमा २लाख ८२ हजार ५६ प्रतिष्ठानमा ११ लाख ९० हजार ७२१ जनाले काम पाएका छन् ।

यस्तै सबैभन्दा कम प्रतिष्ठान रहेको कर्णाली प्रदेशमा ४२ हजार ८१७ प्रतिष्ठानमा १ लाख ३२ हजार ४२५ जनाले काम पाएका छन् ।

यस्तै १ नम्बर प्रदेशमा १ लाख ६८ हजार ४३४ प्रतिष्ठान छन् भने ५ लाख ८० हजारले काम पाएका छन् ।
२ नम्बरमा १ लाख १७ हजार ५८८ प्रतिष्ठान रहेकोमा ४ लाख २४ हजार २६७ले काम पाएका छन् ।

यस्तै गण्डकी प्रदेशमा १ लाख ६८८ वटा प्रतिष्ठान रहेकोमा ३ लाख ४१ हजार ८१८ ले रोजगारी पाएको देखिन्छ । ५ नम्बरमा १ लाख ४७ हजार ८२९ प्रतिष्ठान रहेकोमा ५ लाख २७ हजार ९६० जनाले काम पाएका छन् । ७ नम्बर प्रदेशमा ६२ हजार ९७० प्रष्तिठान छन्े भने २ लाख ११ हजार ५५५ ले काम पाएका छन् ।

जिल्लाहरुमा सबैभन्दा बढी व्यवसायिक प्रतिष्ठान काठमाडौंमा १ लाख २३ हजार ९९४ छ । काठमाडौं जिल्लामा ५ लाख ७५ हजार ३ जनाले सो व्यवसायिक प्रतिष्ठानमा काम गरेका छन् ।

४ वटा प्रदेशमा भएको प्रतिष्ठान र त्यहा सिर्जना भएको रोजगारीभन्दा काठमाडौंमा रोजगारी सिर्जना बढी छ । मनाङ जिल्लामा ४ सय ८७ प्रतिष्ठान छ भने २ हजार ३७५ ले रोजगारी पाएका छन् ।


क्लिकमान्डु