कोरला-सुनौली जोड्ने कालिगण्डकी करिडोर गण्डकी प्रदेशले माग्यो, पर्वत-पोखरा सुरुङमार्ग बनाइने




काठमाडौं । गण्डकी प्रदेशले चीनको कोरलादेखि भारतको सुनौलीसम्मको उत्तर दक्षिण लोकमार्ग (गण्डकी करिडोर) निर्माणको जिम्मा दिन केन्द्र सरकार समक्ष माग गरेको छ ।

सो क्षेत्र आफ्नो प्रदेश अन्तरगत परेको र प्रदेश गौरबको आयोजनाको रुपमा आफूहरुले निर्माण गर्ने गरी केन्द्र सरकारको स्वीकृतिका लागि मन्त्रिपरिषदले निर्णय गरेर केन्द्रमा पठाएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए ।

‘यो सडक राष्ट्रिय गौरबको आयोजना भएकोले त्यसको निर्माणदेखि अन्य अनुगमनसम्मका काम गर्न गण्डकी प्रदेश सरकारलाई नै देउ भनेर हाम्रो मन्त्रिपरिषद बैठकले निर्णय गरेर केन्द्र सरकारलाई पठाइसकेको छ, केन्द्र सरकारले स्वीकृति दियो भने हामी बनाउन तयार छौं,’ मन्त्री लम्सालले क्लिकमाण्डूसँग भने ।

चीनको कोरलादेखि भारतको सुनौलीसम्म जोड्ने उत्तर दक्षिण लोकमार्गको काम भइरहेको छ । अहिले प्रदेश सरकारले सो सडकखण्डमा पर्वत पोखरा सुरुङमार्ग समेत निर्माण गर्ने गरी स्वीकृतिका लागि केन्द्र सरकार समक्ष अनुरोध गरेको हो ।

पर्वत पोखरा सुरुङमार्ग बनाउने बिषयमा अहिले अध्ययन भइरहेको मन्त्री लम्सालले बताए । कोरला पोखरा जोड्ने सडकलाई पन्चासेमुनीबाट एउटा सुरुङ बनाउने र दुम्कीवासबाट नवलपूरतिर जाने सडकको लागि अर्काे सुरुङ मार्ग बनाउने गण्डकी प्रदेशको योजना छ ।

यसो गरिएमा सो सडक छोटो हुने मन्त्री लम्सालले दाबी गरे । सो सडक बनाउन आवश्यक स्रोत साधानको लागि चीन सरकारसँग पनि कुरा भइरहेको उनले जानकारी दिए । अबको ५ बर्षभित्रमा यो सडक बनाउन सुरु गर्ने गरी गण्डकी प्रदेश सरकारले तयारी अगाडि बढाइएको छ ।

पर्वतदेखि पोखरासम्म बनाइने सुरुङमार्गको लम्बाइ करिब साढे २ किलोमिटर जति पर्ने देखिएको छ । दुम्कीवासबाट नवलपूरतिर निस्कने सुरुङमार्गको लम्बाइ करिब १४ सय मिटर हुने देखिएको मन्त्री लम्सालले बताए ।

यो सडक बनाउन करिब १४ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यो सडक आयोजना बनाउनको लागि लगानी बोर्डसँग पनि कुरा भइरहेको उनले बताए । लगानी बोर्डले पनि १० अर्ब रुपैयाँभन्दा बढीको आयोजनाको हेरिदिने आश्वासन दिएको मन्त्री लम्सालको भनाइ छ ।

पर्वत पोखरा सडक निर्माण क्षेत्रको बस्ती ज्यादै कम छ । जनसंख्या कम भएकोले आयोजनाको बिषयमा प्रश्न उठ्न सक्ने गण्डकी प्रदेश सरकारको बुझाइ छ । यस्तै सो क्षेत्रको भौगर्भिक अबस्था पनि अलि कमजोर छ भन्ने कुरा आएको छ । तर गाडीका प्रयोग हुने इन्धन, काँडे निस्केर जानुपर्ने भएकोले गाडीलाई हुने नोक्सानी, समयको बचत जस्ता कुराले सो सडक निर्माणको औचित्य पुष्टी हुने मन्त्री लम्सालले बताए ।

‘मध्यपहाडी लोकमार्ग पनि यसमै पर्ने भएकोले त्यसको उपादेयता अझ बढी देखिन्छ,’ मन्त्री लम्साल भन्छन् ।

यस्तै पोखरा आउने पर्यटकलाई पर्वततिर ल्याउनको लागि पनि यो सडकको आवश्यकता रहेको उनले बताए । सो सडक देशकै नमुना आयोजना हुन सक्ने भन्दै मन्त्री लम्सालले आफूहरुले प्रदेश गौरबको आयोजना बनाउन खोजेको जानकारी दिए ।

सो आयोजना बनाउन चीन सरकारसँग अनुरोध गर्ने सोच गण्डकी सरकारको छ । अहिले डीपीआर तयार हुदैछ ।

‘डीपीआर तयार भइसकेपछि नेपाल सरकार आफैले वा सकिएन भने विदेशी दातृ निकाय खोजेर भएपनि आयोजना बनाएरै छोड्ने हाम्रो उद्देश्य हो, लगानी खोजिदिन लगानी बोर्डलाई पनि आग्रह गर्ने र त्यति गर्दा पनि भएन भने निजी क्षेत्रलाई आग्रह गरेर भएपनि ४ बर्षभित्रमा यो आयोजना सुरु गरिसक्छौं,’ उनले भने ।

एक बर्षभित्रमा डीपीआर तयार भइसक्ने उनले जानकारी दिए । गण्डकी सरकार आफैले पनि डीपीआर तयार गर्न तयार रहेको उनले बताए ।

‘यो आयोजनाको विषयमा चीन सरकारका प्रतिनिधिसँग २/३ चरणमा कुरा भइसक्यो, उनीहरु एकदमै सकारात्मक छन्, उनीहरु लगानी गर्न र काम गर्न इच्छुक छन्, केन्द्र सरकारले हामीलाई स्वीकृति दियो भने हामी चीन सरकारसँग कुरा गरेर यो आयोजना बनाउन सक्छौं,’ उनले भने ।

गण्डकी करिडोरको लम्बाइ ११० किलोमिटर छ । सो सडकको २ लेन ग्राभेल गर्ने प्रक्रिया अहिले अगाडि बढिरहेको छ ।


क्लिकमान्डु