सिटिजन्स बैंकको २ करोड २८ लाख रुपैयाँ ठग्ने कर्मचारी र ऋणलाई प्रहरीले समात्यो



काठमाडौं । सिटिजन्स बैंकको २ करोड २८ लाख ३८ हजार रुपैयाँ ठगी गर्ने बैंकका कर्मचारी र ऋणीलाई प्रहरीले पक्राउ गरेको छ । सिटिजन्स बैंकको न्यूरोड शाखामा कार्यरत बरिष्ठ सुन जाँचकी, सुन जाँचकी र ऋणीलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको हो ।

सुन जाँचकी र ऋणीको मिलेर बैंकलाई ठगेको भन्दै बैंक व्यवस्थापनले प्रहरीमा उजुरी दिएको थियो ।

ऋणीहरुको मिलेमतोमा धितो वापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुन समेत राखि विभिन्न समयमा विभिन्न ऋणीहरुलाई ऋण प्रवाह गर्दा ७४९७.८ ग्राम बराबरको सुन अपुग हुन गई बैकलाई २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँ बैंकिङ प्रक्रिया विपरित हानीनोक्सानी पुर्याएका थिए ।

बैंक ठगीमा संलग्नलाई प्रहरीले भदौ १२ गते पक्राउ गरी ‍ उच्च अदालत पाटन बाट ७ दिनको म्याद लिई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा दायर गरेको छ ।

भक्तपुर जिल्ला घर भइ काठमाडौंको बांङेमुढा बस्ने सिटिजन्स बैंकका बरिष्ठ सुन जाँचकी सामिन शाक्य, भक्तपुर नै घर भएका र भक्तपुरको इतोछेमा बस्दै आएका सिटिजन्स बैंकका सहायक सुन जाँचकी विन्देश शाक्य, भक्तपुर इटापा घर भइ प्राइम बैंकको कमलपोखरी शाखामा गोल्ड अडिट डिपार्टमेन्टमा कार्यरत अमितराज बज्राचार्य पक्राउ परेका छन् ।

त्यसैगरी, ऋणी मोरङको शनिश्चरे घर भएका हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने लभ बराइली, संखुवासभाको चैनपुर घर भई हाल काठमाडौंको निलोपुल बस्दै आएका ऋणी उमेशराज बराइलीलाई पक्राउ गरिएको सीआइबी प्रवक्ता सानुराम भट्टराईले जानकारी दिए ।


पुष्प दुलाल