करिब १ लाख मोहीले मात्रै दिए निवेदन, अझै दुई तिहाईले किन चासो दिएनन् ?



फाइल फोटो

काठमाडौं । करिब १ लाख जनाले भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मोहीयानी हक दाबीका लागि निवेदन दिएको पाइएको छ ।

२ वर्षको अवधिमा ९९ हजार २ सय ३७ जनाले मोहीयानी हक दाबीका लागि निवेदन दिएका हुन् ।

मन्त्रालयले भदौ ४ गतेसम्म मोहीयानी हकदाबीका लागि निवेदन दिन आव्हान गरिएको थियो । उक्त अवधिसम्मपनि अपेक्षा अनुसार निवेदन आउन नसकेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालका १० जिल्लामा ९२ प्रतिशत मोही रहेका छन् । नेपालभर २ लाख ७० हजार ३ सय ७२ मोही भएको मध्ये २ लाख ४८ हजार ७ सय ७० मोही १० जिल्लामा मात्र रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

नेपालका २२ जिल्लामा मोही नै नभएको मन्त्रालयले दाबी गरेको छ । १३ जिल्लाको मोही सम्बन्धी विवरण आउन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ४० वटा जिल्ला मध्ये भक्तपुर, काठमाडौं, ललितपुर, बाँके नुवाकोट, बर्दिया, दाङ, मोरङ, झापा र सिरहा लगायतका जिल्लामा सबैभन्दा बढी मोही रहेका छन् ।

देशभरीमा काठमाडौं र भक्तपुरमा सबैभन्दा बढी मोही रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

काठमाडौंमा ५१ हजार २ सय ६ र भक्तपुरमा ५६ हजा। ४ सय ७६ मोही रहेका छन् ।
झापामा ४१ हजार ८ सय ५४ मोही छन् भने मोरङमा २२ हजार ९ सय ६९ मोही रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

ललितपुरमा २१ हजार ६ सय ४०, सिरहामा १८ हजार ६ सय, बाँकेमा ११ हजार ३ सय ४६, नुवाकोटमा १० हजार ९ सय ७३, बर्दियामा ६ हजार ८ सय ९ र दाङमा ६ हजार ८ सय ११ मोही रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

सरकारले मोहियानी हकको अन्त्य गर्ने र छिनोफानो गरेर जमिनमा कायम रहेको दोहोरो स्वामित्व हटाउनका लागि निवेदन दिन आव्हान गरेको थियो ।

सोही मार्गचित्र अनुसार मन्त्रालयले मोहियानी समस्या समाधान ईकाई गठन गरेर जमिनमा कायम रहेको द्धैध स्वामित्व अन्त्य गर्न लागेको हो ।

के हो मोहियानी ?
मोहियानी भन्नाले अर्कैको जग्गामा खेती किसान गर्नेलाई बुझिन्छ । जसले आफूले अरुको जग्गामा श्रम गर्छन् र त्यस श्रम बापत उत्पादन भएको वस्तु जग्गा धनीलाईपनि बाँडेर चलाउने गर्छन् ।

यो नेपालमा पहिलैदेखि चलिआएको एउटा चलन हो । जसले गर्दा एउटै जग्गामा १ भन्दा बढी व्यक्तिको स्वामित्व हुँदै आएको थियो । यही स्वामीत्वको अन्त्य गर्दै सरकारले मोइयानीहकको रुपमा उनीहरुलाई आदि जग्गा उपलब्ध गराउन लागेको हो ।


क्लिकमान्डु