प्रधानमन्त्रीले अर्थमन्त्रीबाट यसकारण पो खोसेका रहेछन् सम्पत्ति सुद्धिकरण र राजस्व विभाग



काठमाडौं । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली प्रदिप ज्ञवालीलाई अर्थमन्त्री बनाउन चाहन्थे । एमाले स्थायी समितिका सदस्यसचिव समेत रहेका ज्ञवाली ओलीका विश्वासपात्र हुन् ।

ज्ञवालीले कतिपय व्यापारीहरुलाई समेत आफू अर्थमन्त्री हुन लागेको सुनाइसकेका थिए । किनभने प्रधानमन्त्रीले उनलाई नै अर्थमन्त्री बनाउने बचन दिएका थिए ।

तर, पूर्वअर्थमन्त्री विष्णु पौडेल कुनैपनि हालतमा ज्ञवाली अर्थमन्त्री भएको देख्न चाहँदैन थिए ।

‘पौडेलले ज्ञवालीलाई रोक्न हदैसम्मको प्रयास गरे,’ एमाले उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘उहाँहरु दुबैजना पार्टीमा ओली गुटकै मान्छे हो तर उहाँहरुबीच क्षेत्रीय राजनीतिक प्रभावका कारण एकले अर्काको खुट्टा तान्न ठूलो खेल भयो ।’

पार्टी महासचिबसमेत रहेका इश्वर पोखरेल गृहमन्त्री बन्न चाहन्थे । तर, सत्ता समिकरणमा गृहमन्त्री माओवादीको भागमा परेपछि पोखरेल जसरी भएपनि अर्थमन्त्री बन्न कस्सिए ।

एमाले स्रोतहरुका अनुसार ओलीले ज्ञवालीलाई प्रधानमन्त्री कार्यालयमा रहेर सबै मन्त्रालय हेर्ने गरी जिम्मेवारी दिने तयारी भइरहेको छ ।

‘खासमा प्रधानमन्त्री ओली पनि इश्वर पोखरेललाई अर्थमन्त्री बनाउन चाहनुहुन्थेन,’ ओली निकट स्रोतले भन्यो, ‘उता प्रदिप ज्ञवाली जसरी भएपनि इश्वर पोखरेललाई अर्थमन्त्री हुन नदिन लागे ।’

स्रोतका बेला त्यसबेलासम्म ओली ज्ञवालीलाई अर्थमन्त्री र डा. युवराज खतिवडालाई अर्थराज्यमन्त्री बनाउन चाहन्थे ।

‘उहाँहरुबीच तीब्र झगडा भयो, यो कुरा प्रधानमन्त्रीज्यूले प्रष्टै थाहा पाइसक्नु भएको थियो । र, उहाँले आश्चर्यजन डिसिजन गर्नुभयो,’ स्रोतले भन्यो, ‘एमाले वृत्तमा पनि खतिवडा अर्थमन्त्री हुन्छन् भन्ने कसैले सोचेका पनि थिएनन् ।’

यतिसम्म कि प्रधानमन्त्रीले मन्त्रीहरुलाई सफथ खुवाउने १ घन्टा अघिसम्म पनि को अर्थमन्त्री बन्दैछ भन्ने ओलीलाई बाहेक थाहा नभएको उनको दाबी छ ।

प्रधानमन्त्रीको सचिवालयबाट प्रदिप ज्ञवालीलाई सफथ खानका लागि राष्ट्रिय पोशाक लगाएर आउनु भन्दै खबर भयो । र, सफथको १ घन्टाअघि ज्ञवालीलाई तत्काल विनाविभागीय र युवराज खतिवडालाई अर्थमन्त्री बनाउने भन्ने प्रस्ताब भयो । ज्ञवालीले बिनाबिभागिय मन्त्री अस्वीकार गरे ।

ज्ञवालीलाई त्यसबेलासम्म पनि आशा थियो कि प्रधानमन्त्रीले आफूलाई नै अर्थमन्त्री बनाउँछन् भन्ने ।

तर, जब सफथका बेला युवराज खतिवडालाई बोलाइयो, तब ज्ञवाली आश्चर्यमा परे । इश्वर पोखरेललाई रोक्न सफल भएकोमा उनी खुसी त भए तर आफूलाई नबनाएर खतिवडालाई बनाएकोमा उनले असन्तोष व्यक्त गरे ।

र, मन्त्रीहरुको सफथग्रहणको भोलिपल्ट सार्वजानिकरुपमै घोषणा गरे- ‘जुनसुकै मन्त्रालय दिए पनि अब म मन्त्री पद खान्न ।’

आफ्नै गुटका ज्ञवाली भड्किएपछि प्रधानमन्त्री ओलीले सम्झाउने प्रयास गरे । त्यसबेला ज्ञवालीले भने कि- सम्पत्ति सुद्धिकरण, राजस्व विभाग प्रधानमन्त्री कार्यालय मातहत नै राखियोस् ।’

ओलीले ज्ञवालीलाई खुसी बनाउन यी दुई विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय गरे । यो निर्णयसँगै ज्ञवाली खुसी भए ।

‘प्रदिप ज्ञवालीलाई अर्थमन्त्री बनाउँदा इश्वर पोखरेल र विष्णु पौडेलले सतहमै पोखिने गरे असन्तुष्टि जनाउने भएपछि प्रधानमन्त्रीले खतिवडालाई बनाएर सबैलाई चकित बनाइदिनु भयो,’ स्रोतले भन्यो, ‘खासमा प्रधानमन्त्रीज्यू, इश्वर पोखरेललाई जनसम्पर्क हुने मन्त्रालय दिन चाहनु हुँदैनथ्यो, त्यसैले उनलाई जनतासँग सोझै सम्पर्क नहुने रक्षा मन्त्रालयमा थन्क्याउनु भएको हो ।’

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा स्थायी घर भएका खतिवडा पहिलेदेखि नै ओलीसँग निकट थिए । अझ पार्टी अध्यक्ष भएपछि त उनले ज्यान फालेरै ओलीसँग थप सम्बन्ध विस्तार गरेका थिए ।

‘स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका बेला खतिवडाले ढुक्कै पार्टी अफिस बसेर काम गरे, त्यसपछि त अध्यक्ष ओलीले अझ बढी विश्वास गर्न थाल्नुभयो, तैपनि यति छिट्टै अर्थमन्त्री नै बनाइहाल्ने आश्वासन चाहिँ दिनुभएको थिएन, आफ्नै गुटभित्रको झगडाले अन्तिम समयमा आएर खतिवडाको भाग्य खुल्यो,’ स्रोतले भन्यो ।

एमाले स्रोतहरुका अनुसार ओलीले ज्ञवालीलाई प्रधानमन्त्री कार्यालयमा रहेर सबै मन्त्रालय हेर्ने गरी जिम्मेवारी दिने तयारी भइरहेको छ ।


पुष्प दुलाल