माग्नेहरु यसरी बन्दैछन् धनी, यी हुन् करोडपति माग्ने



बिगत १० बर्षमा माग्नेहरु निकै धनी हुँदै गैरहेका छन् । यीनिहरु ब्यवसायीक माग्नेहरु हुन् । र, निकै ‘उन्नती’ गरिरहेका छन् ।

१. भरत जैन: भरत भारतकै धनी माग्ने हुन् । ४९ बर्षिय भरत मुम्बईको पारेल क्षेत्रमा काम गर्छन् । उनीसँग ७० लाख भारु पर्ने दुइवटा अपार्टमेन्ट छन् । उनले जुश पसलका लागि पनि भाडामा लगाएका छन्, जसबाट उनी १०,००० भारु प्रतिमहिना कमाउँछन् । मागेरै महिनाको ६० हजार भारुसम्म कमाउने उनी बताउँछन् ।

२. कृष्ण कुमार गिटे: उनीसँग ५ लाख भारु पर्ने फ्ल्याट छ ।

३. सर्बतिया देवी: उनी मासिक रुपमा ३६ हजार भारुको इन्स्योरेन्स प्रिमियम भर्छिन् । उनी भारतकै चर्चित महिला माग्ने हुन् । उनले मागेरै आफ्नो छोरीको बिवाह पनि गरिन् ।

४. संबाजी काले: कालेसँग सोलापुरमा एउटा फ्ल्याट, २ वटा घर र एउटा जमिनको टुक्रा समेत छ । उनले केहि लगानी गर्नुका साथै ५० हजार बैंक ब्यालेन्स समेत गरेका छन् ।

५. लक्ष्मी दास: लक्ष्मी सन् १९६४ देखि कोलकातामा माग्दै आएकी छिन् । आफ्नो पुरै जिवन मागेरै बिताएकी उनले ‘ठूलो’ रकम बैंकमा जम्मा गरेको बताइन्छ ।

६. मासु/मलाना: मासु हरेक दिन आटो रिक्सा चढेर माग्ने ठाउँ पुग्छन्, आफ्नो लुगा बदल्छन्, र दैनिक ८ देखि १० घण्टा मागेर फेरी अटोमै घर फर्किन्छन् ।

यस्तो छ माग्नेहरुको कथा

जब म दिल्लीको लालकिल्ला जान बाटो काट्दै थिएँ, पछाडिबाट एउटी सानी केटीको आवाज सुनें । ‘दीदी, १० रुपैंयाँ दिनुस् न ।’ उनी एक्ली छैनन् । उनका वरीपरी स-साना केटाकेटीहरुको झुण्ड छ । केहि ५/६ बर्षका छन्, त केही अलि ठूला ।

उनीहरु सबैले मैलो र च्यात्तिएको लुगा लगाएका छन् । हात-गोडा मैला छन् । र, अनुहार सुन्दर । उनीहरु निकै उर्जावान छन् । र, म उनीहरुलाई केहि दिन चाहन्छु । तर, मसँग खुद्रा छैन । ‘एकछिनमा फर्केर आउँदा दिन्छु,’ उर्दु र अंग्रेजी मिसिएको लवजमा म भन्छु । ‘छिटो आउनुहोला, छिटो आउनुहोला,’ केटाकेटी भन्छन् ।

कुनै न कुनै समयमा वा ठाउँमा सबैसँग माग्नेहरुले यसरी खुद्रा पैसा मागेकै होलान् । जहाँसुकै यस्ता अन्तर्क्रिया भए पनि यसले केही असहज प्रश्न भने मनमा उब्जाउँछ: यी मान्छे किन सडकमा भौतारिएका होलान ? मसँग किन पैसा मागेको होला ? मैले दिएको पैसाले उसले के गर्छ होला ? मैले दिएको पैसाको कतै दुरुपयोग त हुँदैन ?

माग्नेहरु एकैखालका समुहको हुँदैनन् । म परिचत रहेको भारतीय उपमहाद्धिपमा उनीहरु हट्टाकटट्टा देखि लिएर अक्तत, महिला, बच्चा, तेस्रो लिङ्गी र सडक बालबालिका सम्मका छन् । सोध्यो भने उनीहरु सबैका मुटु कटक्क काट्ने हृदय बिदारक कथा हुन्छन् । र, उनीहरुलाई माग्न बाध्य बनाउने केही समान कारणहरु पनि छन् ।

उदाहरणको लागि पाकिस्तानको लाहोर र भारतको मुम्बइलाई लिन सकिन्छ । ठ्याक्कै संख्या पहिल्याउन कठिन छ । तर निकै ठूलो संख्यामा रहेको अनुमान लगाउन गाह्रो छैन । दुवै सहर निकै ठूला छन् । मुम्बइमा करिब १ करोड ३० लाख जनसंख्या छ । उता लाहोरमा पनि झण्डै १ करोड मानिस बसोबास गर्छन् । दुवै सहरमा धनी र गरीबबीच ठूलो खाडल छ । र, दुवै सहरले छिमेकी सहरहरुबाट गरिब आप्रवासीहरुलाई आकर्षित गर्छ ।

दक्षिण एसियाली राष्ट्रहरुमा ‘दिने’ संस्कृतीको पनि निकै बोलवाला छ । इस्लामले माग्ने प्रबृतिलाई निरुत्साहित गरे पनि दान र परोपकारलाई मुसल्मानहरुको कर्तब्य भनी ब्याख्या गरेको छ । यस्तै हिन्दु धर्मले पनि ‘कम भाग्यशाली’का लागि दान दिने कर्मलाई प्रोत्साहन गर्छ ।

पाकिस्तानमा ‘अल्लाहके नाममे कुछ देदे बाबा’ भनेर माग्दै गरेको भेटिन्छ । भारतमा पनि धार्मिक स्थलहरु माग्नेहरुका रोजाइमा पर्ने गरेका छन् । धार्मिक स्थलहरुको माहौलले माग्नेहरुलाई फाइदा पुर्याउँछ । त्यहाँ मानिस ‘दिने’ मानसिकतामा हुन्छन् ।

यी सहरकरुको आकार र जनघनत्वले पनि माग्नेहरुलाई अवसर प्रदान गर्छ । जन्मदर अत्याधिक छ, आप्रवासीको संख्या त्यो भन्दा पनि बढि । मुम्बइमा ठूलो संख्यामा आप्रवासीहरु कामको खोजीमा र ‘मुम्बइ सपना’ का कारणले आउँछन् । लाहोरमा चाँही अफगान शरणार्थीहरुको संख्या लाखौंमा छ । यस्ता धेरै आप्रवासीहरु सँग सीप हुँदैंन र जस्तोसुकै काम खोजिरहेका हुन्छन् । केही समयपछि उनीहरुले आफ्नो स्थिति पुरानो ठाउँको भन्दा पनि नराम्रो पाउँछन् । अनि माग्न थाल्छन् ।

दक्षिण एसियामा थोरै मात्र माग्नेहरु एक्लै माग्छन् । सामान्यतः उनीहरु चाहेर वा नचाहेर कुनै संजालमा आबद्ध हुन्छन् । अप्ठ्यारोमा परेका प्रौढ र अलपत्र परेका केटाकेटीहरुलाई भर्ती गरेर माग्न लगाउने हुनाले यस्ता संजालहरुलाई ‘माग्ने माफिया’ पनि भन्ने गरिन्छ । माग्नेहरुले यस्ता संजाल चलाउनेका लागि आफ्नो ‘कमाइ’ को निश्चित प्रतिशत दिने गर्छन् । भारत र पाकिस्तान दुवैमा यस्ता समुहका मानिसहरु ट्राफिक लाइट, धार्मिक स्थल र ब्यस्त सपिङमल तिर भेटिन्छन् । उनीहरुले आफ्ना लागि माग्ने ठाउँ संजालका नाइकेहरुसँग ‘किन्ने’ गर्छन् ।

केही रिपोर्टहरुले भर्ती हुन आउनेहरुलाई अङ्गभङ्ग समेत बनाएर माग्ने काममा लगाउने तथ्य उजागर गरेका छन्, अपाङ्गले बढि सहानुभुती पाउँने कारण । बच्चाहरुले पनि माग्दा धेरै पैसा पाउने हुनाले अपहरण गर्ने देखि भाडामा ल्याउने प्रबृत्ति पनि प्रशस्त भेटिन्छ ।

तर, यस्ता समुहलाई माफिया नै भन्नु पनि सायद अतिरञ्जना हुन्छ । मानिहरु माग्ने बिभिन्न कारणले भएका छन् । यीनिहरु सबैलाई माफियाको रङ्गले पोत्नु एउटा अत्यन्तै जटिल बिषयलाई सामान्यीकरण गर्नु हुन्छ । यद्यपि केटाकेटीहरुलाई अपहरण गर्ने र भाडामा ल्याउने जस्ता काम पनि नभएका होइनन् । र, यी काम पक्कै पनि बाल अधिकारको हनन् हो ।

भारत र पाकिस्तान दुवैले केटाकेटी जोगाउन नियम कानुनहरु पारित गरेका छन् । यी प्रयासहरु सफल पनि भएका छन् । तर, अझै धेरै बालबालिकाहरु पछाडि नै छुटेका छन् ।

दुवै देशको कानुनले माग्ने कामलाई बर्जित गरेको छ । तर, माग्नेलाई जेलमा कोच्नु उपयुक्त बिकल्प होइन । तर, ‘ग्याङहरु’ को पर्दाफास गर्नु भने राम्रो कदम हो । यसले मान्छेहरुलाई भर्ती गरेर सडकमा माग्न पठाउने कामलाई लगाम कस्छ । त्यसैले यसलाई राम्रोसँग कार्यान्वयनमा लैजानु पर्छ ।

तर, यस्ता ‘लक्षणहरु’ को सम्बोधन गर्दैगर्दा समस्याको जरोमा पुग्ने प्रयास पनि जारी राख्नुपर्छ । यस्तो भयो भने सामाजिक समस्याको रुपमा रहेको माग्ने कामको अन्त्य गर्न मद्दत पुग्छ ।

 


पुष्प दुलाल