चारदेशीय महिला फुटबलको टिकटमार्फत एन्फालाई २ करोड बढी आम्दानी, खेलाडीले कति पाए ?

2.4k
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भर्खरै मात्र चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सम्पन्न गर्‍यो ।

प्रतियोगितामा नेपाली दर्शकले भरपुर साथ दिए । नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा पछिल्लो समय दर्शकहरुको बेग्लै लगाव छ । महिला फुटबलमा दर्शकले माया गर्न थालेपछि त्यसले फुटबलमा आर्थिक पाटो पनि जोडिन थालेको छ ।

हालसम्म अन्तर्राष्ट्रिय महिला फुटबलमा धेरै उपलब्धि हासिल गर्न नसके पनि दर्शकको माया पाउँदा टिमलाई आर्थिक पाटोमा पनि सहज भएको छ । त्यसैको फाइदा एन्फाले उठाउँदै अन्तर्राष्ट्रिय स्तरका महिला फुटबल प्रतियोगिताहरु नेपालमा आयोजना गर्नका लागि हानथाप गर्ने गरेको छ ।

भर्खरै मात्रको उदाहरण हेर्दा फागुन ५ देखि एन्फाले आफ्नो आयोजनामा दशरथ रंगशालामा म्यानमार, लेबनान र कीर्गिस्तानसको सहभागितामा पहिलोपटक चारदेशीय महिला फुटबल प्रतियोगिताको आयोजना गर्‍यो ।

महिला फुटबललाई पछिल्लो समय आर्थिक हिसाबले पनि बलियो मान्न थालेको एन्फाले खेल हेर्न इतिहासमै महँगो टिकट मूल्य राख्यो । महिला फुटलबलाई माया गरेका दर्शक महँगो टिकट हुँदा पनि रंगशालामा भरिभराउ थिए ।

चारदेशीय महिला फुटबल प्रतियोगिताको फाइनल खेल हेर्नका लागि दर्शकले भीआईपीतर्फ २ हजार र साधारणतर्फ १ हजार रुपैयाँको टिकट काटेका थिए । एन्फाले चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको टिकटिङ र मार्केटिङको जिम्मेवारी ब्राण्ड लजिकलाई दिएको थियो ।

प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्ने पक्का हुँदा एन्फाले दर्शकको माया देखेर टिकटको मूल्य बढाएको थियो । टिकट महँगो भए पनि दर्शकहरुले नेपाली महिला फुटबललाई साथ दिन भने पछि परेनन् । टिकटिङ राइट्स लिएको ब्राण्ड लजिकले फाइनल खेलको टिकट मार्फत मात्र १ करोड २२ लाख रुपैयाँ आम्दानी गर्‍यो ।

एन्फाले ब्राण्ड लजिकलाई प्रतियोगिताका लागि १ करोड ३५ लाख रुपैयाँमा टिकटिङ राइट्स दिएको थियो । ब्राण्ड लजिक र एन्फाको सम्झौता अनुसार फाइनल खेलमा बढाउने टिकटको मूल्य बाहेक एन्फाले पाउने भनेको १ करोड ३५ लाख मात्र हो ।

फाइनल खेलमा एन्फाले ब्राण्ड लजिकबाट ५२ लाख ५० हजार रुपैयाँ साधारणतर्फमा उठेको रुपैयाँ र १० लाख रुपौयाँ भीआईपीतर्फको टिकटको रकम पायो । समग्रमा चार देश सम्मिलित महिला फुटबल प्रतियोगिता गर्दा एन्फाले २ करोड ८ लाखसम्म कमायो ।

एन्फाका प्रवक्ता सुरेश शाहकाअनुसार प्रतियोगिताका लागि एन्फाले टिकटिङ राइट्स दिएको कम्पनीबाट सम्झौता अनुसार आएको रकमबाट मात्र खेलाडीले २० प्रतिशत रकम पाउने बताए। समग्रमा सबै खेलाडीलाई रकम वितरण गर्दै आइरहेको शाहले बताए ।

‘एन्फाले आयोजना गरेको सबै प्रकारका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामार्फत उठ्ने रकमको २० प्रतिशत हामीले खेलाडीलाई दिने गरेका छौं । त्यो रकम टिकटिङ मार्फत उठेको मात्र गणना गरिन्छ । त्यसै अनुसार चारदेशीय फुटबलको पनि खेलाडीले पाएका छन्,’ शाहले क्लिकमान्डुसँगको कुराकानीमा भने ।

प्रतियोगिता सकिएको एक साताभित्र नै एन्फाले उठेको रकमको २० प्रतिशत खोलडीलाई दिएको बताए । सम्पूर्ण खेलाडीले १ लाख १७ हजार ५०० रुपैयाँ पाएको एन्फाले बताएको छ।

एन्फाले टिकटिङ मार्फत उठाएको बाहेकको पैसाको भने खेलाडीको कुनै भाग हुँदैन । उक्त पैसालाई एन्फाले खेलाडीको विकासमा खर्च गर्ने गरेको हुन्छ । तर, महिला फुटबलबाट उठेको करोडौंको पैसा एन्फाले महिला फुटबलको विकासका लागि लगानी गर्नु पर्ने एन्फाका केन्द्रीय सदस्य पेमा लामाको भनाइ छ ।

लामाले एन्फाले करोडौं उठाउँदा खेलाडीले मात्र २० प्रतिशत टिकटबाट उठेको पैसा पाउनु सुहाउँदो नभएको बताइन् । टिकटबाट उठेको २० प्रतिशत खेलाडीलाई दिँदा बाँकी रकम पनि एन्फाले महिला खेलाडीको विकास, राष्ट्रिय स्तरका प्रतियोगिता, घरेलु फुटबलमा महिला खेलाडीको पहुँचमा पनि लगानी गर्नु पर्ने उनको भनाइ छ ।

‘टिकटबाट उठेको रकम खेलाडीलाई २० प्रतिशतबाट बढाउन आवश्यक छ । अन्य मार्केटिङ, ब्रोडकास्टिङ लगायतका पाटोबाट उठेका पैसा पनि खेलाडीकै विकासका लागि लगानी गर्नु पर्छ,’ लामाले क्लिकमान्डुसँगको कुराकानीमा भनिन् ।

एन्फाले साफ च्याम्पिनसिबाट उठेको पैसाको सही हिसाब निकाल्न नसक्दा अहिलेसम्म खेलाडीले पैसा पाउन सकेका छैनन् । टिकटिङ राइट्स लिएको कम्पनीलाई सेमिफाइनल खेल अघि नै सम्झौता रद्द गरेर एन्फाले आफैं टिकट काट्ने निर्णय गरेको थियो ।

Skip This