दुई हप्ताभित्रै बाहिरी चक्रपथ सञ्चालनमा ल्याउने शहरी विकास मन्त्रीको घोषणा



काठमाडौं । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले दुई हप्ताभित्रै बाहिरी चक्रपथ सञ्चालनमा ल्याउने बताएका छन् । बाहिरी चक्रपथ सञ्चालनमा आएसँगै काठमाडौंमा उपत्यकामा हुने जामको सममस्या धेरै हदसम्म कम हुने बताइएको छ ।

‘१३ वर्षदेखि सञ्चालन हुन नसकेको बाहिरी चक्रपथ चैत अन्तिम वा बैशाख पहिलो साताभित्र सञ्चालनमा ल्याइसक्ने छौं,’ मन्त्री केसीले क्लिकमण्डूसँग भने ।

बाहिरी चक्रपथ सञ्चालनमा आएपछि उपत्यकाका जनताले राहतको महसुस गर्ने उनको भनाई थियो ।

सरकारले काठमाडौं उपत्यकाको ट्राफिक चाप भित्री चक्रपथले धान्न नसक्ने र काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यस्थित सहरीकरणलाई व्यवस्थित बनाउनका लागि भन्दै आर्थिक वर्ष ०६१/०६२ देखि बाहिरी चक्रपथ बनाउन थालेको थियो ।

करिब ७२ किलोमिटर लम्बाइ रहने बाहिरी चक्रपथले काठमाडौंमा ३५ किलोमिटर, भक्तपुरमा २१ किलोमिटर र ललितपुरमा १६ किलोमिटर पर्नेछ ।

७२ किलोमिटर लम्बाइको चक्रपथको दायाँ बायाँ २ सय ५० मिटर र चक्रपथका लागि ५० मिटर गरी ५ सय ५० मिटर क्षेत्रमा सडक संजाल, ढल निकास, खुला क्षेत्र जस्ता भौतिक पूर्वाधारको विकास गर्ने जनाएको छ ।

भाते-ढिकुरो-राधेराधे सडक खण्ड अरनिको राजमार्ग (कोटेश्वर-सुर्यविनाय) लाई ओभर ल्याप गर्नु पर्ने भएकाले सो क्षेत्रमा डिपिआर आवश्यक छैन । सो खण्डमा पहिलेदेखि नै ६ लेनको सडक निर्माण भइसकेको छ ।

त्यसैगरी, टोखा-गोकर्णेश्वर बाहेक अन्य स्थलको डिपिआर तयार भईसकेको छ । सो खण्डमा पहाड पर्ने भएकाले आयोजना सुरुङमार्ग निर्माण गरेर अघि बढ्ने योजना छ ।

साढे ६ अर्ब लागत

बाहिरी चक्रपथ निर्माणको लागि ६ अर्ब ३६ करोड रुपैंया लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । बाहिरी चक्रपथ चीन सरकारकोे आर्थिक सहयोगमा बन्न लागेको हो ।

सुकुम्बासीलाई घडेरी

सरकारले बाहिरी चक्रपथ निर्माणको लागि जग्गा अधिकरण गर्दा सुकुम्बासी हुनेलाई घडेरी दिने निर्णय गरेको छ । चक्रपथ निर्माणका लागि आवश्यक जग्गा अधिकरण गर्दा २ अना २ पैसा भन्दा कम जग्गा बाँकी रहेका जग्गाधनीलाई घडेरी दिने ब्यवस्था मिलाइएको छ ।

बाहिरी चक्रपथलाई पूर्ण बनाउँदासम्म ८० हजार रोपनी जग्गा अधिकरण गरिने आयोजनाले जनाएको छ । आयोजनाले बाहिरी चक्रपथ निर्माणसँगै व्यवस्थित सहर निर्माणका लागि जग्गा अधिकरण गर्ने जनाएको छ ।

यसकारण आवश्यक छ

काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित सहरीकरणका कारण सहर कुरुप बन्दै गएको छ । उपत्यकालाई व्यवस्थित बनाउनका लागि बाहिरी चक्रपथ आवश्यक देखिएको आयोजनाको भनाइ छ । बाहिरी चक्रपथ निर्माण भएमा भित्री चक्रपथ र त्यसका आसपासमा बढी आश्रित जनतालाई राहत हुनेछ ।

उपत्यकाको अन्य स्थानमा सडक संजाल विस्तार गरेर व्यवस्थित सहर विकास भएमा उपत्यकाका जनताले हालका दिनमा भोग्नु परेको ट्राफिक लगायत अन्य धेरै समस्या हल हुनेछ । सुविधा खोज्दै अहिलेको चक्रपथ तथा आसपासको क्षेत्रमा केन्द्रित हुने भएकाले उपत्यका भित्र नै व्यवस्थित सहरीकरण हुन सकेको छैन ।

बाहिरी चक्रपथ निर्माण भएमा काँठ क्षेत्रमा बसोबास गरेर पनि मानिसले भित्री सहरको जस्तै सुविधा उपभोग गर्न सक्नेछन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डे यकिन विवरण नभए पनि उपत्यकामा करिब ११ लाखको हाराहारीको गाडी रहेको बताउछन् । यी सबै गाडीहरु भित्री चक्रपथ र आसपासका सडकमा गुड्ने गरेका छन् । जसले गर्दा हालको समयमा उपत्यकामा ट्राफिकको अधिक समस्या देखिने गरेको छ ।

उपत्यकाका भित्री चक्रपथ र आसपासको क्षेत्र व्यवस्थित सहर बन्न नसकेका कारण सहर कुरुप बन्नुका साथै ट्राफिक व्यवस्थापनमा पनि समस्या बढ्दै गएको छ । आजभन्दा एकदशक अगाडीदेखि नै काठमाडौं उपत्यका लागि व्यवस्थित बनाउन बाहिरी चक्रपथको अवधारण अगाडी सारिएको थियो ।

१० खण्ड

आयोजनाले बाहिरी चक्रपथलाई १० खण्डमा विभाजन गरि निर्माण भइरहेको छ । पाइलट प्रोजेक्टको रुपमा चोभार-गाम्चा-सतुंगल खण्ड पहिलो चरणमा निर्माण भएको छ । चोभार-गाम्चा-सतुंगल खण्डले आयोजनाको ६.६ किलोमिटर हिस्सा ओगट्छ ।

चोभार-सतुंगल
सतुंगल-पैयाटार
पैंयाटार-टोखा
टोखा-गोकर्णेश्वर
गोकर्णेश्वर–थली, डाँछी
थली-डाँछी-भाते ढिकुरो
भाते ढिकुरो-राधेराधे
राधेराधे-लुभु
लुभु-हरिसिद्धि
हरिसिद्धि-चोभार


पुष्प दुलाल