वाइवाइको उत्पादन अव युरोपमा



काठमाडौं । चौधरी गु्रपले युरोपमा आफ्नो लोकप्रिय ब्राण्ड वाइवाइको उत्पादन तथा वितरणको तयारी तीव्र बनाएको छ । युरोपेली राष्ट्र सर्वियाको रुमा शहरमा वाइवाइ प्लान्ट स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विहीबार सर्वियाको राजधानी बेल्ग्रेडमा सर्वियाका प्रधानमन्त्री अलेक्ज्याण्डर भुसिक र उर्जा, पर्यटन तथा कृषि मन्त्रीहरुसँग र रुमा शहरका मेयर स्लोदान म्यान्सिकका साथ शिष्टाचार भेट गरे । उक्त अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलगायत ग्रुपका उच्चपदस्थ अधिकारीहरुको पनि उपस्थिति थियो । यसअघि उनले रुमा शहरको रुम्स्का इन्डस्ट्रियल लुपमा प्लान्टको अवलोकन गरेका थिए ।

‘नेपालीहरुको आफ्नै लोकप्रिय ब्राण्ड वाइवाइलाई विश्वव्यापी रुपमा विस्तार गर्ने हाम्रो अभियान हो । सोही क्रममा हामीले वाइवाइको विस्तार युरोपमा गरेका हौं’ प्रधानमन्त्री भुसिकसँगको भेटपश्चात चौधरीले भने, ‘नेपाली उद्यम र व्यवसायलाई विश्व सामु लिएर जाने हाम्रो प्रयत्नको अर्को कडीको रुपमा यो विस्तार रहेको छ ।’

भेटमा प्रधानमन्त्री भुसिकले सर्वियामा वाइवाइ प्लान्ट स्थापना गर्ने योजना ल्याई लगानी विस्तार तथा रोजगारी सिर्जना गरेकोमा चौधरी ग्रुपलाई धन्यवाद दिँदै विश्वव्यापी रुपमा सर्वियाको वैदेशिक लगानी विस्तारका लागि सहयोग गर्न समेत आग्रह गरे । त्यस्तै मेयर म्यान्सिकले सर्वियाको स्थानीय सरकार उद्यमीहरुसँग सहकार्य तथा सहयोगका लागि तयार रहेको बताउँदै चौधरी ग्रुपलाई उद्योग स्थापनाका लागि धन्यवाद व्यक्त गरे ।

विश्वव्यापी रुपमा वार्षिक २ अरव २० करोड विक्री भैरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको छ । नेपालमा ६ र भारतमा ८ प्लान्टमार्फत उत्पादन भैरहेको नेपालको सर्वाधिक लोकप्रिय वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ । बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्टहरु स्थापना गर्ने तयारीमा चौधरी ग्रुप रहेको छ ।

प्लान्टको स्थापनासँगै विश्वभरका ३० मुलुकका उपभोक्ताले रुचाएको वाइवाइको व्यवसायिक उत्पादन सर्वियामा निकट भविष्यमै शुरु हुनेछ । यहाँबाट युरोपेली बजारमा वितरण शुरु गरिनेछ । युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुनेछ ।

यो तयारीसँगै चौधरी ग्रुप युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुनेछ । उद्योगले पहिलो चरणमा करीब चार सय तथा उत्पादन र वितरण शुरु हुँदासम्म १२ सयभन्दा बढीलाई रोजगारी प्रदान गर्नेछ ।


पुष्प दुलाल