अनुष्का श्रेष्ठ, जसलाई लघुवित्तले करोडपति बनायो



बनेपा । चरम आर्थिक सङ्कटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । पाँच सय रुपैयाँका लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बनेकि छिन् ।

छिमेक लघुवित्त विकास बैंकको शनिबार बनेपामा भएको १२औँ एकाइ भेलामा आफ्नो सफलताको कारण सुनाउँदै उनले भनिन्, ‘आज मसँग एक करोडभन्दा बढीको सम्पत्ति छ ।’

परिवारमा समेत कुनै सहयोग नपाएर माइती पक्षका भाइ र बुबाको हस्ताक्षरमा ऋण लिएर व्यवसाय सुरु गरेकी श्रेष्ठले भनिन्,‘पहिले मेरो श्रीमानले पनि वास्ता गर्नुभएन तर अहिले सबै कुरामा सहयोग गर्नुभएको छ ।’ अहिले पसल पनि चलाएको छु र १८ आना जग्गा पनि किनेको छु, श्रेष्ठले भने ।

उनले सो विकास बैंकबाट सुरुमा १५ हजार, त्यसपछि २० हजार रुपैयाँ र क्रमशः लाखौँ कर्जा लिएर व्यवसाय सुरु गरेपछि उनको जीवनमा सो परिवर्तन आएको हो ।

उनजस्तै एक किलो गहुँको पिढोले छाक टारेकी धुलिखेल नगरपालिका–६ की सुमित्रा बानियाँ अहिले लखपति छन् ।

बिहान के खाउँ, बेलुका के खाउँ भन्ने चरम दुःख पाएकी उनले भनिन्, ‘कैयौँ रात त भोकै पनि बसियो ।’

बानियाँले ऋण लिएको रकम सदुपयोग गर्न सुझाव दिँदै जीवनमा ठूलो आर्थिक परिवर्तन भएको सुनाइन् । पनौतीकी लक्ष्मी सापकोटाले यो लघुवित्तले दुःख पीडा भुलाउने काम गरेको उल्लेख गर्दै अहिले आफुसँग गाडी, छ जग्गा रहेको बताइन् ।

छिमेक लघुवित्त विकास बैकले स्थापनाकालदेखि नै महिलाको आर्थिक जीवनसँग जोडेर कार्यक्रम सञ्चालन गरिरहेको छिमेक लघुवित्त विकास बैंकका अध्यक्ष भुवनेश्वरी पन्तले बताए ।

बैंकका कार्यकारी निर्देशक रामचन्द्र जोशीले लघुवित्त विकास बैंकले २० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जानकारी दिँदै ब्याज घटाउने विषयमा छलफल भइरहेको बताए । बैंकका नायब महाप्रन्बधक शोभा मिश्रले बैंकका कारण महिलाको आर्थिक सशक्तीकरणसँगै नेतृत्व विकास पनि भएको बताइन् ।

छिमेक लघुवित्त विकास बैंक बनेपाका प्रबन्धक रामकृष्ण पाण्डेले महिलालाई लक्षित गरेर कृषि, पशुपालनलगायतका क्षेत्रमा लगानी भएको बताए । सो अवसरमा उत्कृष्ट काम गरेबापत पहिलोलाई चार हजार, दोस्रोलाई तीन हजार, तेस्रोलाई दुई हजार, चौथोदेखि छैठौँलाई एक हजार, सातौँदेखि दशौँलाई पाँच सय रुपैयाँका दरले पुरष्कृत गरिएको छ ।

१० समूहका विपन्न सदस्यका छोराछोरीलाई पढाउनका लागि दुई हजार चार सयका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।


पुष्प दुलाल