पशुपति मुरारका भन्छन्,- उद्योग फस्टाउन नपाउँदै राज्यले निमोठ्छ



म्याग्दी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले राज्य उद्योग विकासमा उदासीन भएको बताएका छन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घ म्याग्दीको २३औँ साधारणसभाको आज बेनीमा उद्घाटन गर्दै अध्यक्ष मुरारकाले राज्यले उद्योगको विकासका लागि भन्दा पनि राजस्व सङ्कलनमा मात्रै ध्यान दिएको आरोप लगाए ।

‘राज्यले उद्योग फस्टाउन नपाउँदै निमोठ्ने गरेको छ, देशमा उद्योग फस्टाएमा आर्थिक समृद्धि हुन्छ त्यसैले उद्योगको विकासमा ध्यान दिनुपर्छ,’ उनले भने ।

राज्यको अस्पष्ट नीतिले नेपालमा जलविद्युत्मा गरिएको लगानी सुरक्षित नभएको मुरारकाले बताए ।

‘देशमा लगानी गर्ने उचित वातावरण छैन, नेपालको सम्भावना भनेको जलविद्युत् र पर्यटन हो । तर राज्यले लगानीको उचित वातावरण सिर्जना गर्न सकेको छैन,’ उनले भने ।

झन्झटिलो नीति नियम र राजनीतिक दलले आर्थिक एजेन्डाप्रति उदासीनता देखाउँदा निजी क्षेत्रले उद्योग, पर्यटन, जलविद्युत्, कृषिलगायत सम्भावनाको क्षेत्रमा लगानी गर्न हिच्किचाएको अध्यक्ष मुरारकाको भनाइ थियो ।


पुष्प दुलाल