दशैंमा मासुको अभाव हुँदैन्, बजार अनुगमनमा म आफैं निस्किन्छुः मन्त्री खनाल
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले दशैंमा मासुको अभाव नहुने आश्वस्त पारेका छन् । सोमबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले दशैंमा देशभरी कतैपनि मासुको अभाव नहुने स्पष्ट पारेका हुन् ।
‘काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यकता हो, ४० हजार खसी बोका आउँदैछन, यति भएपछि हामीलाई पर्याप्त हुन्छ, मासुको अभाव हुँदैन’ उनले भने ।
दशैं सुरु भएकाले सरकारले बजारमा अनुगमन बढाएको पनि उनले जानकारी दिए ।
चाडपर्व सुरु भएसँगै आपूर्तिमा असहजता भएको, व्यापारीको मनोमानी बढेको भन्ने गुनासो आएकाले कृषि मन्त्रालय र आपूर्ति मन्त्रालयले संयुक्त अनुगमन सुरु गरेको पनि उनको भनाइ छ ।
‘आपूर्ति सहज बनाउनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमित अनुगमन गरिरहेको छ’ उनले भने ।
काठमाडौंमा खसीको मासुको मूल्य अस्वभाविक रुपमा वृद्धि गरिएको भनेर गुनासो सुनिएकाले सरकारले खसीको मासुको मूल्यवृद्धिबारे नियमन गरिरहेको छ ।
‘हामी यसबारेमा निरन्तर छलफलमा पनि छौं, सबै कुराको विचार गर्दा पनि खसीको मासुको मुल्य ११ सयभन्दा माथि जाने अवस्था छैन । हामी कडाइ गर्छौ’ मन्त्री खनालले भने ।
खनालले मासुमा नेपाल आत्मनिर्भर हुने अवस्थामा रहेको सुनाए ।
‘हामीले आफ्नै उत्पादनले ७५ प्रतिशतसम्म धान्न सक्छौं । कुखुरामा आत्मनिर्भर छौं’ उनले भने ।
खसी, बोकाको मासुमा आत्मनिर्भर बन्नका लागि मन्त्रालयले यसपटक जोन, सुपरजोन चलाउने, लाइभ स्टक इनोभेसनमा पनि खसी, बोका उत्पादन र कृषिमा युवा कार्यक्रम गरेर तीन वटा कार्यक्रम सुरु गरेको उनले सुनाए । आगामी तीन वर्षभित्र नेपाल खसी, बोकामा पनि आत्मनिर्भर हुने उनको दाबी छ ।
आफूहरुले बजार अनुगमनको कामलाई तिव्रताका साथ अघि बढाइएको सुनाउँदै केही मिठाइ पसलले गुणस्तरहीन सामान बेच्ने गरेकाले गुणस्तरीयता कायम गर्न कडा निर्देशन दिएको पनि खनालले स्पष्ट पारे ।
आवश्यक परे आफू पनि अनुगमनमा उपस्थित हुने उनले विश्वास दिलाए । बजारमा कृतिम अभाव सिर्जना गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने उनको चेतावनी छ ।
भारत सरकारले प्याज निर्यात नगर्ने भनेर निर्णय गरेको भनेर बाहिर हल्ला भएपनि आधिकारिक रुपमा आफूहरुलाई यसबारेमा जानकारी नभएको उनले स्पष्ट पारे ।
‘भारतलाई नै अभाव भएकाले उसले निर्यात नगर्ने निर्णय गरेको सुनियो, तर आधिकारिक जानकारी छैन’ उनले भने ।
नेपालमा प्याजको आपूर्ति ८० देखि ९० प्रतिशत रहेकाले प्याजमा मूल्यवृद्धि हुने सम्भावना देखिएको पनि उनले सुनाए ।
आफूहरुले क्वारेन्टाइन चेकजाँच गरेरै खसी, बोका भित्राउने गरेको पनि उनले सुनाए ।
‘मासु जाँच ऐन-२०५५ अनुसार हामीले अनुगमन गरिरहेका छौं । तर, आपूर्ति असहज हुँदैन्, पर्याप्त व्यवस्था गरिएको छ । ढुक्क हुन म आम उपभोक्तालाई आग्रह गर्छु’ उनले भने ।
उनले भेडा, च्याङग्रा आउने हुम्ला र जुम्लालगायतका उत्तरी भेगका नाका व्यवस्थित बनाइएको पनि उनले स्पष्ट पारे । त्यस्तै, दूध, दही र घ्युको पनि पर्याप्त व्यवस्था गरिएको उनले सुनाए ।