रेवतबहादुर भन्छन्- मैले अनियमितता गर्यो भन्दै अख्तियारमा उजुरी हाल्नेहरु पछुताउँछन् (भिडियो)
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्नेहरु भविष्यमा पछुताउने बताएका छन् । कार्कीले ६ लाख रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारमा यही भदौ ३० गते उजुरी परेको थियो ।
हामीले पुँजी बजारमा गरेको सुधारलाई देख्न नसकेर रन्थनिएकाहरु आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले नियोजितरुपमा अख्तियारमा उजुरी हालेर मिडियाबाजी गरेको कार्कीले बताए ।
धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी
‘म कार्यालय विदा लिएर जापानको टोकियोस्थित पुँजी बजारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएको हुँ, तर त्यहाँ जाँदा मैले एक पैसा पनि लिएको छैन, सरकारलाई कुनै आर्थिक भार पारेको छैन,’ क्लिकमाण्डूसँग विशेष कुराकानी गर्दै अध्यक्ष कार्कीले भने, ‘अनियमितता गर्यो भन्दै जसले उजुरी हाल्यो, भविष्यमा उसलाई पछुतो लाग्छ ।’
आफूले कुनैपनि बदमासी नगरी असल नियतले पुँजी बजारमा ठूलो सुधार गरेको कार्कीले बताए ।
‘मैले केही पनि दायाँबायाँ नगरेकाले म प्रष्ट बोल्छु, यही कुरा कतिपयलाई असह्य भएको छ,’ उनले थपे, ‘टोकियो सेमिनारमा आयोजकले नै हवाइजहाजको टिकट र बस्ने खाने व्यवस्था मिलाएका थिए ।’
रेगुलेटरसँग धेरै सुपरिभिजन नगरिदिए हुन्थ्यो, कारबाही नगरिदिए हुन्थ्यो भन्ने सरोकारवालाहरुको मानसिकता भएको तर आफूले गलत गर्नेलाई कारबाही गरेरै छाडेको कार्कीले दोहोर्याए ।
६ लाख अनियमितता नगरेको सेवोन अध्यक्ष कार्कीको दाबी, अख्तियारले सुरू गर्यो छानबिन
अर्थ मन्त्रालयले स्वीकृति नदिए पनि सरकारी खर्च नहुने र धितोपत्र बोर्डको क्षमता विस्तारमा सहयोग पुग्ने भएकाले आफू टोकियो सेमिनारमा भाग लिन गएको कार्कीले प्रष्ट पारे ।
‘अख्तियारले के हेर्नु, भए पो हेर्नु ?’ उनले भने, ‘अख्तियारमा बस्नेहरुलाई पनि थाहा छ कि धितोपत्र बोर्डमा रेवतबहादुरले के कस्ता सुधारका काम गरेको छ भनेर ।’
जसले बदमासी गरेको हो उसैले उजुरी लेखाएर आफ्नो चरित्रहत्या गर्न खोजेको उनले दोहोर्याए । अहिलेसम्म अख्तियारले आफूलाई सम्पर्क नगरेको उनको भनाइ छ ।
‘अहिलेसम्म मलाई अख्तियारले सम्पर्क गरेको छैन, सत्यतथ्य के हो तपाईंहरुले पछि देखिहाल्नु हुन्छ नि,’ उनले भने, ‘मेरा विरुद्धमा उजुरी हाल्नेसँग मेरो कुनै बदलाभाव छैन । मलाई थाहा छ उहाँहरु अवश्य पछुताउनु हुनेछ ।’
सबैलाई ढाँट्न सकेपनि आफ्नो आत्मालाई ढाँट्न नसकिने उनले बताए ।
‘म आत्मादेखि काम गर्ने मान्छे हुँ, आत्मालाई ढाँट्नु हुँदैन,’ उनले भने, ‘म किन चिन्तित हुने ?’
अख्तियारले कागजात मागेको खण्डमा आफू सबै कागजात देखाउन तयार रहेको उनले बताए ।
‘गलत काम नगरेपछि अख्तियार त के अख्तियारको बाजे नै आएपनि केही गर्न सक्दैन,’ कार्कीले भने, ‘अख्तियारजस्तो सम्मानित संबैधानिक निकायले त सबै कुरा हेर्छ, हेर्दा केही छैन भने के नै गर्छ र ?’