साधारणसभाको म्यान्डेट विपरीत कैलाशले प्राइममा एक्विजेशन हुने निर्णय गरेको खुलासा, अब के हुन्छ ? (एमओयू र माइन्यूटसहित)



काठमाडौं । गत असार २० गते प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने सम्झौतापत्रमा हस्ताक्षर भयो ।
सम्झौतापत्रमा प्राइम र कैलाश विकास बैंकले साधारणसभाको म्यान्डेट अनुसार एक्विजेशन पत्रमा हस्ताक्षर गरेको कुरा उल्लेख गरेका छन् ।

प्राइम बैंकको ११औं साधारणसभाबाट प्राप्त गरेको म्यान्डेट र कैलाश विकास बैंकको २५औं साधारणसभाको म्यान्डेट अनुसार एक्विजेशन भएको सम्झौतापत्रमा उल्लेख छ ।

प्राइम बैंकको ११औं साधारणसभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजेशन गर्नको लागि अख्तियारी दिएको थियो ।


तर, कैलाश विकास बैंकको साधारणसभा भने मर्जर हुने र कैलाश विकास बैंकले आफ्नोमा अन्य बैंक तथा वित्तीय संस्था एक्वायर गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

२०७५ पुस २२ गते सम्पन्न कैलाशको साधारणसभाले कुनैपनि बैंक तथा वित्तीय संस्थालाई कैलाशमा एक्विजेशनको लागि अख्तियारी दिएपनि कैलाश अर्कोमा एक्वाएर गर्नको लागि अनुमति दिएको छैन ।

तर, साधारणसभाको अनुमतिबिनै कैलाश विकास बैंकको सञ्चालक समितिले प्राइमसँग एक्विजिसनको सम्झौता गरेको भन्दै सेयरधनीहरुले आपत्ति जनाएका छन् । सेयरधनीहरुले आपत्ति जनाएसँगै प्राइम र कैलाशको एक्वायर प्रक्रिया भाँडिने खतरा बढेको छ ।

प्राइम बैंकले ओम डेभलपमेन्ट बैंकसँग एक्विजेशनको सम्झौता भंग भएपछि कैलाशलाई एक्वाएर गर्ने सम्झौता गरेको हो ।

राष्ट्र बैंकले सम्झौता भंग गरेपछि मर्जर तथा एक्विजेशनमा नगए कारवाही गर्ने लिखित चेतावनी दिएपछि प्राइमले कैलाशलाई एक्वाएर गर्ने निर्णय गर्यो भने प्राइमसँग साझेदारी तोडेको ओम डेभलपमेन्ट बैंकले एनएमबि बैंकमा मर्ज हुने हुने निर्णय गरिसकेको छ ।

यी दुई बैंकबीच कात्तिक मसान्तसम्ममा एक्विजिसन प्रक्रिया सकेर एकीकृत कारोबार गर्ने लक्ष्य छ ।

तर, कैलाशका सेयरधनीहरुले साधारणसभाको माइन्यूट बिपरित सञ्चालक समितिले एक्विजिशनमा जाने निर्णय गरेको भन्दै आवाज बुलन्द बनाउन थालेपछि समस्या उत्पन्न भएको छ ।

फेरि साधारणसभा बोलाएर एक्विजिसनमा जाने प्रस्ताव पारित भएपछि मात्रै प्राइम र ओमको एक्विजिशन सम्झौताले बैधानिकता पाउने तर्क अघि सार्न थालिएको छ ।

कैलाशले प्राइमलाई पैसा तिर्नुपर्ने

मर्जरमा जाने सैद्दान्तिक समझदारी गरिसकेका बैंकहरु प्रक्रियाबाट पछि हटेको खण्डमा राष्ट्र बैंकले विभिन्न प्रकारका कारणबाही गर्छ । तर, साधारणसभाबाट पछि हटेको खण्डमा भने राष्ट्र बैंकले पनि कारबाही गर्न सक्दैन ।

प्राइम र कैलाशबीच भएको सम्झौताअनुसार एक्वायर प्रक्रियाका लागि हुने सम्पूर्ण खर्च प्रथम पक्ष अर्थात् प्राइम बैंकले ब्यहोर्ने छ ।

कथम् कदाचित् संस्था प्राप्तिको कार्य नभएमा वा हुन नसकेमा यस शिर्षकमा एक्विजिशन प्रक्रियामा खर्च भएकोमध्ये रकममध्ये आधा खर्च कैलाश विकास बैंकले प्राइम बैंकलाई तिर्नुपर्नेछ सम्झौतापत्रमा उल्लेख छ ।


पुष्प दुलाल