काठमाडौं । राष्ट्रिय गौरबको आयोजनामध्ये महत्वपूर्ण आयोजना पाल्पा जिल्लाको सिद्धबाबा सुरुङ्गमार्गको अन्तिम ब्रेक थ्रु (दायाँ वायाँ छेदन गरी जोड्ने) आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुँदैछ ।
यो सुरुङ्गमार्ग सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा सडक खण्डमा पर्छ । यसअघि सुरुङ्गमार्गको अन्तिम ब्रेक थ्रु यहि माघ २ गते र ८ गते हुने तय भएपनि प्रधानमन्त्रीको व्यस्तताका कारण उक्त मितिमा हुन सकेन ।
प्रधानमन्त्री ओलीले सुरुङ्गमार्गसँगै आज नै ६ लेनमा विस्तार हुन लागेको बुटवल– गोरुसिंगे– चन्द्रौटा सडक खण्डको शिलन्यास गर्ने कार्यक्रमसमेत छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू परम्पराअनुसार पूजाआजा गरी यो सुरुङमार्ग अन्तर्गतको मुख्य टनेलको अन्तिम ब्रेक थ्रु गर्ने कार्यक्रम छ ।
ब्रेक थ्रु कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत सहभागी हुने कार्यक्रम छ ।
यो सुरुङ्गमार्ग प्रधानमन्त्री ओली र वर्तमान अर्थमन्त्री पौडेलले ड्रिम प्रोजेक्टको रुपमा प्राथमिकतामा राखेर अघि बढाएका हुन् ।
सिद्धबाबा सुरुङ्गमार्ग आयोजनाका अनुसार इलेक्ट्रोनिक्स प्रविधिमार्फत मुख्य टनेलमा खन्न बाँकी रहेको करिब १ मिटरको दूरी ब्रेक थ्रु गरी छिचोल्ने कार्यक्रम छ ।
‘माघ ८ गते प्रधानमन्त्रीज्युबाट अन्तिम ब्रेक थ्रु गर्ने कार्यक्रम तय भएपनि उहाँको व्यस्तताका कारण आज माघ ११ गते उक्त कार्यक्रम हुँदैछ,’ आयोजनाका योजना प्रमुख कृष्णराज अधिकारीले भने ।
‘ब्रेक थ्रु’ गर्ने यस्तो छ प्रधानमन्त्रीको सेड्युल
शुक्रबार दिउँसो सवा १२ बजे प्रधानमन्त्री ओली हेलिकप्टरबाट दोभान हाइस्कुल अवतरण गर्ने कार्यक्रम छ । त्यहाँ निर्माण भएको तिनाउँ गाउपालिका प्रशासनीक भवनको प्रधानमन्त्री ओलीले उदघाट्न गर्नेछन् ।
त्यसपछि १२ बजेर ४५ मिनेटमा सिद्धबाबा सुरुङ्गमार्ग साइट क्याम्पमा पुग्ने कार्यतालिका छ । आशन ग्रहण गरेपछि इलेक्ट्रोनिक्स प्रविधिबाट उक्त सुरुङ्गमार्गको अन्तिम ब्रेक थ्रु गर्ने कार्यतालिका छ ।
त्यसपछि सुरुङ्गमार्गको दक्षिणी पोर्टलमा अवलोकन गर्ने कार्यक्रम छ । त्यहाँ उनी सिद्धबााबा मन्दिरको शिला पूजन कार्यक्रममा सहभागी हुनेछन । यो सकिएपछि सवा १ बजे बुटबल- गोरुसिंगे सडक स्तरोन्नतिको शिलन्यास गर्न बुटबल १३ स्थित जितगढी दुर्गा मन्दिरमा पुग्ने उनको कार्यतालिका निर्धारण गरिएको छ ।
त्यहाँ पूजा तथा शिलालेख अनावरण पश्चात आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ ।
मृत्युमार्गको रुपमा परिचित सिद्धार्थ राजमार्गको दोभानदेखि चिडिया खोलासम्मको ४ किलोमिटरको सिद्धबाबाबा क्षेत्रमा निक्कै सुख्खा पहिरो आउने गरेको छ ।
सिद्धबाबा क्षेत्रमा सुख्खा र बर्षात सिजनमा ढुङ्गासहितको ठूल–ठूला पहिरो गएर सवारीसाधनका साथै जनधनमा ठूलो क्षति गर्दै आएकाले सरकारले दीर्घकालिन रुपमा उक्त समस्या समाधान गर्न त्यहाँ सुरुङ्गमार्ग निर्माण गर्न लागेको हो ।
पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गको तिनाउ ३ दोभान क्षेत्रमा सुरुङ्गमार्ग निर्माण हुँदैछ । यो सुरुङ्गमार्गको अन्तिम ब्रेक थ्रु एक वर्षमै सम्पन्न हुन लागेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।
यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङ्गमार्ग(भित्री पहाडी क्षेत्र छिचोलिने) १,०८९ मिटर लम्बाईको निर्माण गर्न लागेको छ । उत्तर र दक्षिण सडकलाई जोड्ने गरी यो सुरुङ्गमार्ग निर्माण हुन लागेको हो ।
मुख्य सुरुङ्गमार्गको चौडाई साढे १० मिटर र उचाँई करिब ७ मिटर छ । लाइनिङ्गसहित यो सुरुङ्गमार्गको कूल लम्बाई ११२६ मिटर छ ।
आयोजनाले उत्तर र दक्षिणतर्फबाट एनएटीएम प्रविधिमार्फत खन्दै सुरुङ्गको बीचमा १ मिटरजतिको दूरी बाँकी राखिएको छ । सुरुङ्गको उत्तर र दक्षिण भाग जोड्न १ मिटर मात्रै बाँकी छ । यहि १ मिटरको अन्तिम ब्रेक थ्रु प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम तय भएको हो ।
यो सुरुङ्गमार्ग इन्जिनियरिङ्ग, प्रोक्युरमेन्ट तथा कन्स्ट्रक्सन(ईपीएस) बिधीबाट निर्माण भइरहेको जानकारी दिदैं अधिकारीले सुरुङ्गमार्गमा सवारी साधन गुड्दा आपातकालिन अवस्थामा यात्रुलाई उद्दार गर्नका निम्ति १५१ मिटरको पहिलो वाइवास, १६१ मिटरको दोश्रो वाइपास र १३० मिटर दूरीको तेश्रो वाइपास पनि निर्माण गरिएको छ ।
‘सुरुङ्गमार्गमा सवारी र यात्रुलाई समस्या पर्दा उद्दार गर्न तीनवटा वासपास सहायक सुरुङ्गमार्ग निर्माण गरेका छौं, तीनवटै सहायक सुरुङ्गमार्गको निर्माण सम्पन्न भइसकेको छ,’ अधिकारीले भने ।
उनका अनुसार पहिलो वाइपास सुरुङ्गमार्गको ब्रेक थ्रु २०८१ असोज ४ गते, दोश्रोको २०८१ पुस ७ गते र तेश्रो सुरुङ्गमार्गको ब्रेक थ्रु २०८१ भदौं २६ गते भएको थियो । दोश्रो वाइपास सुरुङ्गमार्ग बीचमा भएकाले सबैभन्दा अन्तिममा उक्त वाइपासको ब्रेक थ्रु भएको हो ।
मुख्य सुरुङ्गमार्गमा समस्यामा परेका यात्रुको उद्दार गरी तत्कालै अस्पतालसम्म लैजानको लागि सुरुङ्गमार्गको उत्तरी र दक्षिणी छेउमा हेलिप्याडसमेत निर्माण गरिने अधिकारीले जानकारी दिए ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेडले यो आयोजनाको ठेक्का २०७८ चैत ९ गते मूल्य अभिवृद्धि कर(भ्याट) सहित ७ अर्ब ३९ करोड रुपैयाँमा कवोल गरेको थियो ।
सडक विभागले यो कर्पोरेशनसँग २०७८ फागुन २५ गते ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का शर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ बर्षभित्र अर्थात २०८३ चैत ७ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौतापश्चात् २०८० पुषदेखि सुरुङ्गमार्ग खन्ने काम सुरु भएको थियो ।
यस्तै व्लास्टिङ्ग गर्ने काम २०८१ जेट १३ गतेबाट सुरु भएको थियो । सुरुङ्ग दैनिक १० मिटरको दरले खनिएको अधिकारीले जानकारी दिए ।
चालु आर्थिक बर्ष २०८१/८२ मा यो आयोजनाको लागि ६५ करोड ८१ लाख रुपैयाँ बिनियोजन गरिएको छ । अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत भएको छ । बाँकी काम अबको दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।
सुरुङमार्ग सम्पन्न भएर सञ्चालनमा आएपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रमा सुरक्षित रुपमा यात्रा गर्न सहज हुने अधिकारीले जानकारी दिए ।
सुरुङमार्ग निर्माण गर्ने बिषयमा २०७७ मंसिर १ गते बसेको मन्त्रिपरिषदको बैठकले सहमति प्रदान गरेको थियो । त्यसलगत्तै २०७८ जेठ ९ गते सडक विभागले ग्लोवल टेण्डर आह्वान गरेको थियो । यो टेण्डरमार्फत निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेडले पाएको थियो ।
५ बर्षसम्मको सञ्चालनको जिम्मा ठेक्केदार कम्पनीलाई
यो सुरुङ्गमार्गको निर्माण पश्चात् ५ बर्षसम्म सञ्चालन तथा मर्मत सम्भारको जिम्मेवारी ठेक्केदारी कम्पनीको नै हुनेछ ।
यस्तै सम्झौता शर्तअनुसार सुरुङ्गमार्गको व्यारेन्टी, सञ्चालन तथा मर्मत सम्भारको लागि ५ बर्ष तोकिएको छ । यो ५ बर्षसम्म सञ्चालन र मर्मत सम्भार गर्ने जिम्मेवारी ठेक्का पाउने कम्पनीकै हुनेछ ।
निर्माणकै क्रममा रहेकाले यो सुरुङ्गमार्ग प्रयोग गरी सवारी साधन गुडाउनेले शुल्क तिर्नु पर्ने वा नपर्ने बिषयमा अहिले मोडालिटी तयार भएको छैन् । सुरुङ्गमार्गमा ६० किलोमिटर प्रति घण्टाको दरले सवारी साधन गुडाउन पाइने व्यवस्था छ ।
के के काम गर्न बाँकी ?
सुरुङमार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएकाले सवारी गुडाउन एक वर्ष अझै लाग्ने आयोजनाले जनाएको छ ।
यस्तै सुरुङमार्गको उत्तरतर्फ र दक्षिणतर्फको बाहिर सडकको स्तरोन्नतिको काम र रकनेट गर्ने काम बाँकी छ । रकनेटका लागि पहाडको थोरै भाग काट्ने र नेट बिछ्याउने काममा केही ढिलाइ भएको छ ।
अधिकारीका अनुसार रक सेड, पहुँच सडकको निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ्ग, लाइटिङ्ग, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी छ ।
साढे १३ अर्ब लागतमा बुटबल गोरुसिंगे सडक निर्माण हुँदै
सडक विभागका महानिर्देशक रामहरी पोखरेलका अनुसार बुटबल- गोरुसिंगे सडक दुई चरणमा निर्माण हुन लागेको हो ।
जसअनुसार बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर दूरीको सडक हुनेछ । पहिलो चरणअन्तर्गत निर्माण हुने बुटवल–गोरुसिंगे खण्डको प्रधानमन्त्री ओलीले शिलान्यास गर्न लागेका हुन् ।
उक्त सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले दुई भागमा गर्ने गरी पाएको हो ।
पोखरेलका अनुसार बुटवलदेखि रुपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिंगेसम्म २५ किलोमिटरलाई दुई खण्डमा बाँडेर गत असार १३ गते ठेक्का सम्झौता भएको थियो ।
यो सडक खण्डको लागत १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँ छ । निर्माण हुने ५० किलोमिटर सडकमध्ये बुटवलदेखि कोठीनदी सम्मको २५ किलोमिटरका लागि ७ अर्ब ८९ करोड र कोठी नदिदेखि गोरुसिंगेसम्मको २५ किलोमिटरका लागि ५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यो सम्झौता अनुसार २०८४ असोजभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने छ।
प्रतिक्रिया