काठमाडौं उपत्यकाको तापक्रम क्रमशः बढ्दो, तराईको कुहिरो अगामी सातामात्रै फाट्ने


काठमाडौं । मौसममा आएको सुधारसँगै काठमाडौं उपत्यकाको तापक्रम विस्तारै बढ्ने क्रममा छ । तापक्रम बढेसँगै बुधबारदेखि उपत्यकाम विस्तारै गर्मीको अनुभव हुन थालेको छ ।।

शुक्रबार बिहान उपत्यकाको तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार बिहान यहाँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौं उपत्यकाको मौसममा विस्तारै सुधार आउँदै गर्दा देशभरको बाँकी भागमा भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव अझै कायम छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

तराइका धेरै भागमा हुस्सु लागेको विभागले जनाएको छ । आगामी साताभर तराई भेगमा कुहिरो नफाट्ने तथा त्यसपछि क्रमशः त्यो हराउँदै जाने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन।

विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावन छ ।

त्यसैगरी, आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

आगामी २४ घण्टामा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।