केही दिनमै मस्कको सम्पत्ति ३५० अर्ब डलरले घट्यो, विश्वका सबैभन्दा धनीबाट के भए ?


एजेन्सी । स्पेसएक्सको सेयर मूल्य तीव्र रूपमा घटेपछि इलोन मस्कको व्यक्तिगत सम्पत्ति झन्डै ३५० अर्ब अमेरिकी डलर (नेपाली मूल्य अनुसार करिब ५३० खर्ब रुपैयाँ)ले घटेको छ।

मस्कको रकेट निर्माता कम्पनी स्पेसएक्सको सेयरमा लगातार तीन दिनसम्म देखिएको भारी गिरावटले उनको कुल सम्पत्तिमा यो ठूलो धक्का पुर्याएको हो ।

जुन १६ मा प्रति सेयर २२५.६४ डलरको उच्च विन्दुमा पुगेर रेकर्ड बनाएको स्पेसएक्सको सेयर त्यसयता ३१ प्रतिशतभन्दा बढीले घटिसकेको छ ।

सोमबार मात्रै सेयर मूल्य १६.४ प्रतिशतले घटेर १५५ डलरभन्दा तल झरेको छ। यो गिरावटसँगै मस्कको कुल सम्पत्ति १.४५ ट्रिलियन डलरको ऐतिहासिक उचाइबाट घटेर १.१ ट्रिलियन डलरको आसपास आइपुगेको छ । फोर्ब्सका अनुसार सोमबार एकै दिन मात्र मस्कले १५२ अर्ब डलरभन्दा बढी गुमाएका छन् ।

बजार मूल्यमा ९०० अर्ब डलरको क्षति

सेयर बजारमा आएको यो पहिरोले स्पेसएक्सको समग्र बजार मूल्यमा करिब ९२८ अर्ब डलरको गिरावट ल्याएको छ ।

कुनै समय अमेजन र माइक्रोसफ्टलाई उछिन्दै विश्वकै चौथो ठूलो कम्पनी बनेको स्पेसएक्स अहिले घटेर सातौं स्थानमा पुगेको छ। हाल यसको बजार पुँजीकरण करिब २ ट्रिलियन डलर रहेको छ ।

किन घट्यो सेयर मूल्य ?

स्पेसएक्सको सेयर घट्नुमा मुख्यतया दुईवटा कारण देखिएका छन्। पहिलो, विश्व प्रसिद्ध सूचकांक प्रदायक संस्था एमएससीआईले स्पेसएक्सलाई दिगोपनको मामलामा सबैभन्दा तल्लो ‘सीसीसी’ रेटिङ दिएको छ। कम्पनीले वातावरणीय र सामाजिक जोखिमहरू सही ढंगले व्यवस्थापन गर्न नसकेको एमएससीआईको ठहर छ ।

दोस्रो, कम्पनीले हालै ६० अर्ब डलरमा एआई स्टार्टअप ‘कर्सर’ खरिद गर्ने घोषणा गरेको थियो । यो खरिदका कारण सेयरको भ्यालु घटेको भन्दै लगानीकर्ताहरू चिन्तित देखिएका छन् । साथै, कम्पनीले ऋण तिर्नका लागि नयाँ ऋणपत्र जारी गर्ने निर्णयले पनि बजारमा नकारात्मक सन्देश गएको छ ।

एआई क्षेत्रमा नयाँ सम्झौता

यसैबीच, स्पेसएक्सले एआई स्टार्टअप ‘रिफ्लेक्सन एआई’सँग ६.३ अर्ब डलरको कम्प्युटिङ सम्झौता गरेको छ । यो सम्झौता अनुसार सन् २०२६ देखि २०२९ सम्म रिफ्लेक्सन एआईले स्पेसएक्सलाई मासिक १५० मिलियन डलर भुक्तानी गर्नेछ र एनभिडियाको शक्तिशाली चिप्स प्रयोग गरी आफ्ना एआई मोडलहरू तालिम दिनेछ ।

केही विश्लेषकहरूले स्पेसएक्सको भविष्यप्रति आशंका व्यक्त गरेका छन् । स्वीसकोटकी विश्लेषक इपेक ओज्कार्डेस्कायाले स्पेसएक्स ‘मिम स्टक’ जस्तै भएको र लगानीकर्ताहरूले केवल हल्लाको भरमा मूल्य बढाएको दाबी गरेकी छिन् । त्यस्तै, मर्निङस्टारले स्पेसएक्सको वास्तविक प्रति सेयर मूल्य मात्र ६२ डलर हुनुपर्ने भन्दै यो अझै पनि महँगो रहेको बताएको छ। मस्कसँग स्पेसएक्सको ३८ प्रतिशत हिस्सा र ठूलो मात्रामा स्टक अप्सनहरू रहेका छन् ।