आईपीओ जारी गरे सूर्य नेपाल ‘ब्लूचिप’ कम्पनी बन्ने, वर्षमा ३३ अर्बको कारोबार, ९ अर्ब नाफा



काठमाडौं । सूर्य नेपाल प्रालि पब्लिक कम्पनी भएको भए सेयर बजारमा उसको मूल्य कति हुन्थ्यो होला ? अनुमान गर्नुहोस् त २ अर्ब १ करोड चुक्ता पूँजी भएको कम्पनीले वर्षमा ९ अर्ब रुपैयाँ नाफा गर्छ ।

अहिले नेपालको सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी युनिलिभिर हो । सुर्य नेपालले पब्लिकलाई सेयर जारी गरेको भए युनिलिभरकै हाराहारीमा सेयर मूल्य हुने कम्पनीमा पर्ने सहजै अनुमान गर्न सकिन्छ ।

बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रालिले नेपालमा ३३ अर्ब रुपैयाँको कारोबार गर्ने देखिएको छ । कम्पनीको सन् २०१८ मा सन् २०१७ को तुलनामा कारोबार रकम १२.३० प्रतिशतले बढेको हो ।

सन् २०१७ मा कम्पनीको कारोबार २९ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । सुर्य नेपाल प्रालिले सन् २०१८ मा नेपालमा भएको कारोबारबाट ९ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ । सुर्य नेपाल प्रालिको नाफा सन् २०१७ मा ७ अर्ब ८३ करोड रुपैयाँ नाफा थियो ।

सुर्य नेपाल प्रालि नेपालमा सन् १९८६ देखि कारोबार सुरु गरेको हो । कम्पनी नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने सूचीमा उत्कृष्ट ५ कम्पनीभित्र पर्छ ।

कम्पनी आएपछि यहाँ सिर्जना भएको रोजगारी,उसले वार्षिक रुपमा तिर्ने कर सरकार र नेपालका लागि फाइदा जनक हो ।

सुर्य नेपालमा सबैभन्दा बढी सेयर स्वामित्व आइटिसी लिमिटेड इन्डियाको ५९ प्रतिशत रहेको छ । ३९ प्रतिशत सेयर नेपाली लगानीकर्ता नेपाली व्यापारिक घरानाको रहेको छ । २ प्रतिशत सेयर लगानी भने बिट्रिस अमेरिकन टोब्याको इन्भेष्टमेन्टको रहेको छ ।

सुर्य नेपालीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ छ । गतवर्ष कम्पनीले लाभांश वापत ८७ करोड ६२ लाख ४ हजार रुपैयाँ विदेश लगेको थियो । जसमा ८४ करोड ७४ लाख रुपैयाँ आइटिसी इन्डिया र २ करोड ८७ लाख रुपैयाँ बिट्रिस अमेरिकन कम्पनीले लगेको थियो । सुर्य नेपालले घोषणा गरेको लाभांशमा ३४ करोड १७ लाख१९ हजार ५६० रुपैयाँ नेपाली लगानीकर्ताले प्राप्त गरेका थिए ।

एनसेलले झस्काएका लगानीकर्तालाई सूर्य नेपालका प्रमुखको ब्रिफिङ- लाभांश लान अफ्ठेरो छैन

गतवर्षको नाफाबाट सुर्य नेपालले ६० प्रतिशत लाभांश घोषणा गरेको हो । सुर्य नेपाल पब्लिक कम्पनी नभएको हुँदा आम लगानीकर्तालाई यसको नाफाले केही फाइदा हुँदैन । तर, सरकारले प्राप्त गर्ने राजस्व,कम्पनीले सिर्जना गरेको रोजगारी तथा नेपाली अर्थतन्त्रमा पुर्याएको योगदान अत्यन्त महत्वपूर्ण छ ।

लगानी सम्मेलनको क्रममा सुर्य नेपालका प्रवन्ध निर्देशक अभिमन्यु पोद्दारले नेपालबाट विदेशमा लाभांश लैजान कुनैपनि समस्या नभएको बताएका थिए । ३५ वर्षदेखि काम गरेको आधारमा सुर्य नेपाललाई लाभांश फिर्ता लैजान कुनैपनि समस्या नभएको भनाई उनको थियो ।पछिल्लो समय सुर्य नेपालले नेपालमा लगानी थप्ने घोषणा गरेको छ । उसले ६ अर्ब रुपैयाँ लगानी गरेर नयाँ पाँचतारे होटल खोल्ने घोषणा गरेको हो ।

६ अर्ब लगानीमा काठमाडौंमा लक्जरी होटेल खोल्ने सुर्य नेपालका प्रमुख पोद्दारको घोषणा

सुर्य नेपाल अन्तर्गत सुर्य चुरोट, तिर सलाई, मंगलदिप अगरवत्तीको उत्पादन हुन्छ ।

५ अर्ब ७५ करोड रुपैयाँ ऋणको लागि गरायो रेटिङ

सुर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ ऋण लिनको लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले सुर्य नेपाल प्रालिको रेटिङ गरेको हो ।

सुर्य नेपालले अल्पकालिन अवधीको लागि ऋण लिन लागेको हो । रेटिङ एजेन्सीले ए प्लस रेटिङ दिएको छ । ए प्ल रेटिङ पाएको कम्पनीलाई एकदमै राम्रो कम्पनी मान्छि । यसको अर्थ यो कम्पनीमा लगानी गर्दा अति कम जोखिम छ भनिएको हो ।


क्लिकमान्डु