६ अर्ब लगानीमा काठमाडौंमा लक्जरी होटेल खोल्ने सुर्य नेपालका प्रमुख पोद्दारको घोषणा



काठमाडौं । औद्योगिक घराना सूर्य नेपाल प्रालिले नेपालमा लक्जरी होटेल खोल्ने भएको छ । ६ अर्ब रुपैयाँको लगानीमा काठमाडौंमा लक्जरी होटेल खोल्न लागेको सूर्य नेपालका प्रवन्ध निर्देशक अभिमान्यू पोद्दारले जानकारी दिए ।

सरकारले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा बक्ताका रुपमा सहभागी भएका पोद्दारले होटेल खोल्ने तयारी भइरहेको जानकारी गराएका हुन् ।

‘हामी ६ अर्बको लगानीमा काठमाडौंमा लक्जरी होटेल खोल्ने तयारी गरिरहेका छौं,’ पोद्दारले भने, ‘फास्ट मुभिङ कञ्जुमर गुड्स (एफएमजी) उद्योगमा पनि लगानी गर्ने हाम्रो तयारी छ ।’

एफएमजी भनेको चाउचाउ, विस्कुट लगायतका तयारी खाद्य सामाग्री हुन् ।

इन्डो–नेपाल–युकेको संयुक्त लगानीमा ३५ वर्षदेखि नेपालमा सूर्य नेपालले सूर्य चुरोट, तीर सलाई, मंगलदीप अगरबत्ति, जोन प्लेयर ब्राण्डको कपडा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

सूर्य नेपाल नेपालमा अत्याधिक नाफा कमाउने र धेरै कर तिर्ने ठूला कम्पनीहरुको सूचीमा पर्छ ।


पुष्प दुलाल