सरकारका प्रवक्ताको दाबी- आइफा अवार्डका लागि पैसा दिने निर्णय भएकै थिएन
काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले आइफा अवार्डका लागि यति नै पैसा दिन्छु नभनेको दाबी गरेका छन् ।
बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘आइफा अवार्ड आयोजना गर्ने विषयमा सैद्दान्तिक समहति भएको थियो, तर यसको अर्थ हामी छलफलमा छौं भन्ने हो ।’
सरकारले त्यसमा कति लगानी गर्न खोजेको हो भन्ने विषयमा प्रवेश नै गरेको होइन् ।
उनका अनुसार त्यसबाट हुने लाभ वा हानीका विषयमा छलफल गर्न तयार छौं भन्ने हो । लाभ वा हानी पैसामा वा देशको पहिचानको कुन हिसाबले हुने हो भन्ने थियो ।
प्रस्तावहरु आउन सक्छन्, मोडलहरुमा छलफल गरिनुपर्छ । प्रधानमन्त्री स्वयमले पनि घाटाको व्यापार गरिन्न भन्नु भएको थियो । त्यसमा हतार गरेर आकाशै खसे जस्तो, पहाड नै धसिए जस्तो गरी गर्नुपर्ने आवश्यकता थिएन ।
विषय प्रवेश गरिसकेपछि छलफल गर्नुपर्ने थियो र त्यो स्वभाविक नै हो । सरकारले छलफल नगरेको होइन, राम्रोसँग छलफल गरेर नेपाललाई पनि आर्थिक लाभ हुन्छ भने आयोजन गर्न सकिन्छ भन्ने मात्रै थियो ।
यस अगाडि काठमाडौं महानगरपालिकाले आइफा अवार्ड आयोजना गर्नका लागि ४४ करोड रुपैयाँ दिन लागेको कुरा बाहिर आएको थियो ।
विधयेकको विरोधपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सो कार्यक्रम आयोजना नगर्नका लागि सरकारलाई निर्देशन दिएको थियो ।