कृषि विकास बैंकमा किर्ते गरी १ करोड ठगी गर्ने ३ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले कृषि विकास बैंकको जम्मा १ करोड १० लाख ८० हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोले किर्ते अग्रिम भुक्तानी जमानत बनाई पेश गर्ने बैंकका कर्मचारीसहित तीन जनालाई ब्यूरोले पक्राउ गरेको छ ।
ब्यूरोका अनुसार बैंकको मुख्य शाखा कार्यालय, रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटर प्याड समेत अनाधिकृत रुपमा दुरुपयोग गरी रत्नपार्क शाखामा तत्कालीन शाखा अधिकृत छविलाल ढकाल र बबरमहलका आधिकारिक प्रतिनिधीहरु रणधिर तुम्बा र देवजंग शाहीलाई पक्राउ गरेको हो ।
उनीहरुले १० जुन २०१६ मा ५५ लाख ५० हजार र ४ नोभेम्बर २०१६ मा ५५ लाख ५० हजारका नक्कली किर्ते अग्रिम भुक्तानी जमानत बनाएको भन्दै ३ जनालाई असार १५ गते पक्राउ गरी उच्च अदालत पाटनबाट ५ दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेमा झापा, महारानी झोडा-९ हाल भक्तपुर सुर्य विनायक-२ बालकोट बस्ने कृषि विकास बैंक, कर्पोरेट बैंकिङ कार्यालयमा कर्यरत तत्कालिन शाखा अधिकृत छविलाल ढकाल, धनकुटा जिल्ला साबिक अर्खाउली जितपुर गाविस निवासी बबरमहलमा कार्यरत रणधिर तुम्बा र बाजुरा जिल्ला साविक गोत्री गाविस ४ हाल ललितपुर महालक्ष्मी नागरपालिका-२ बस्ने बबरमहलमा कार्यरत देवजंग शाहीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
ब्यूरोले अनुसन्धानको क्रममा २०७३ असार ४ गते जिल्ला प्राविधिक कार्यालय भोजपुर बबरमहलबीच भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सड्क स्तरोनन्तीको लागि १२ करोड ५५ लाख ९७ हजार ७५४ रुपैयाँमा ठेक्का सम्झौता हुँदा नक्कली जमानत पेश गरेको पाइएको छ ।
यस्तै नक्कली किर्ते अग्रिम भुक्तानी जमानतको लागि बैंकका कर्मचारी छविलाल ढकालले तयार गरी बबरमहलका प्रतिनिधिहरुलाई दिएको ब्यूरोले जनाएको छ ।
ब्यूरोका अनुसार उक्त बैंक मार्फत पहिलो किस्ता ५५ लाख ३० हजार र दोस्रो किस्ता ५५ लाख ५० हजार सहित १ करोड १० लाख ८० हजार रुपैयाँ जिल्ला प्राविधिक कार्यालय भोजपुरबाट भुक्तानी लिइसकेको देखिएको उल्लेख छ । उक्त ठेक्काको म्याद ०७५ असार १६ गते सम्म रहेकोमा हाल ठेक्का स्थगित भएको ब्यूरोको भनाइ छ ।