सरकारले ५ वर्षभित्र चरम गरिबीलाई अन्त्य गर्छः अर्थमन्त्री खतिवडा (भिडियोसहित)



काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी पाँच वर्ष भित्रमा देशलाई गरिबी उन्मुलन बनाउन सबै लाग्नु पर्ने बताएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघको ११ औं वार्षिक साधारण सभा कार्यक्रममा मन्त्री खतिवडाले यसका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै गरिबी उत्मुलनमा कृषि क्षेत्रले गर्ने कामको योजना ल्याउन आग्रह गरेका छन् ।

उनले कृषि उत्पादनलाई बढाउन सकेको खण्डमा चरम गरिबी उन्मुल गर्न सकिने भन्दै यसका लागि सहकारी क्षेत्रले सामुहिक रुपमा काम गर्नु पर्ने बेला आएको धारणा राखे ।

चरम गरिबीमा रहेका किसानहरुलाई संगठिन गरेर उनीहरुको जिउने स्तर उकास्न लाग्नु पर्ने तर्फ जोड दिए । आगामी ५ वर्ष भित्रमा चरम गरिबी लाई अन्त्य गर्नु पर्ने र आगामी २ वर्षमा आधारभूत केही खाद्य बस्तुमा आत्मनिर्भर हुनुपर्ने,अन्य केही बस्तुमा निर्यात गर्नुपर्ने भएकाले त्यसका लागि कृषि सहकारीको भूमिका महत्वपूर्ण हुने दाबी गरे ।

केही दिन अघि काउली बिकेन भनेर कृषकले बारी मै डोजर चलाउनु परेको विषय निकै चिन्ताजनक भएको धारणा राखे । उनले भने ‘काठमाडौंमा अहिले कसैले पनि २० रुपैयाँमा काउली किनेर खान पाएका छैनन्, यो त उत्पादक भन्दा उपभोग कम भएको जस्तो देखियो,नत्र यस्तो हुनु नपर्ने हो ।’

मन्त्री खतिवडाले लघु बीमा सुरु गरेर पशु र कृषि बीमा गर्ने हो भने यसका लागि सरकार प्रोत्साहन गर्न तयार रहेको जानकारी गराए ।

सहकारीको माध्यमबाट बीमा गर्ने हो भने बाटो खोल्न आफु तयार रहेको समेत जानकारी गराए । यसका लागि कानूनी जटिलता रहेको भन्दै सहकारीलाई आफ्नै बीमा प्रणाली ल्याउने आग्रह गरे । उनले त्यसका लागि सरकारले सहयोग गर्ने, आवश्यक परे कानून संशोधन लगायतका काम गर्ने बताए ।

सरकारले कृषकसँग आन्तरिक बजारका लागि मात्र नभएर निर्यातका जन्य उत्पादनमा पनि सहकार्य गर्ने आश्वासन दिए । उनले भने ‘यस्ता खालका योजना लिएर आउनु, सरकार सहयोग गर्न तयार छ ।’

एक फरक प्रसङमा डा. खतिवडालले केरामा १० प्रतिशत भन्सार लगाउनु पर्छ भन्ने प्रसङग उठेको भन्दै यस्ता विषय उटपट्याङ खालको भएको दाबी गरे । उनले भने ‘हाम्रो मुलुकको अर्थतन्त्र विश्व अर्थतन्त्रको एउटा अंग हो, हाम्रा क्षेत्रीय, दुई पक्षीय, बुहपक्षीय व्यापारीक सम्झौता छन, हामी क्षेत्रीय, अन्तराष्ट्रिय व्यापार कानूनबाट बाँधिएका छौ, हामीलाई कृषिजन्य बस्तुमा पाँच प्रतिशत भन्दा बढी भन्सार लगाउन त्यति अनुकुलता छैन ।’

कुनै कुनै वस्तुमा आठ प्रतिशत भन्सार लाग्दा छिमेकी मुलुकबाट आउने बस्तुमा समस्या देखिने गरेको बताए । भन्सार बढाउने भन्दा पनि प्रतिस्पर्धा बढाउने, प्रशोधन गरेर मूल्य बढाउन सहकार्य गर्न तयार रहेको बताए ।

कम लागतमा बस्तु उत्पादन गर्न आवश्यक रहेको उनको तर्क छ । उत्पादनका लागत घटाउन सामुहिकता तर्फ लाग्न समेत अनुरोध गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले सबैको साझा एजेन्डा सम्बृद्धि भएकाले यसलाई सहकारीले सहयोग गर्ने बताए ।

सहकारीलाई राज्यले प्राथमिकतामा राख्नु पर्ने उनको भनाई छ । कृषि सहकारीको भूमिका झनै हुने भएकाले नीति निर्माण गर्दा कृषि सहकारीलाई प्राथमिकतामा राख्नु पर्ने बताए । विषादीयुक्त खाध्यान्न आयात गर्नु भन्दा यहीका किषानलाई राज्यले सहयोग गरेको खण्डमा अर्गानिक उत्पादन हुने धारणा राखे ।

देश सम्बृद्ध बन्नका लागि राज्यले कृषिमा लगानी गरेको खण्डमा त्यसको प्रतिफल समयमा नै पाउन सकिने बताए ।


क्लिकमान्डु