नेपाली उद्योगको २ चरित्रः बियरको उत्पादन ३३%ले बढ्दा, चामलको उत्पादन ६६%ले घट्यो



काठमाडौं । कृषि प्रधान देश नेपालमा चामल उद्योगको उत्पादन क्षमता र उत्पादन हरेक वर्ष कमजोर बन्दा वियर उद्योगको उत्पादन क्षमता र उत्पादन बढ्दै गएको देखिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एकवर्षको अवधीमा वियर उद्योगको उत्पादन ३३ प्रतिशतले बढेको छ भने चामल उद्योगको उत्पादन ६६ प्रतिशतले घटेको छ ।

नेपालमा वार्षिक ९ करोड ६६ लाख लिटर वियर उत्पादन भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक गतिविधि अध्ययन अनुसार वियर उद्योगको उत्पादन क्षमता र उत्पादनमा बृद्धि भएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा ७ करोड २२ लाख १० हजार लिटर वियर उत्पादन भएको छ ।

नेपालमा भएका वियर उद्योगले गत आर्थिक वर्षमा ११ करोड १९ लाख लिटर वियर उत्पादन गर्ने क्षमता थियो । राष्ट्र बैंकका अनुसार वियर उद्योगले आफ्नो क्षमताको ८६.३ प्रतिशत उपयोग गरेका छन् । अघिल्लो वर्ष वियर उद्योगको उत्पादन क्षमता ८ करोड ८० लाख लिटर थियो भने उद्योगले क्षमताको ८२.१ प्रतिशत क्षमता उपयोग गरेका छन् ।

पछिल्लो दुईवर्षदेखि वियर उद्योगको क्षमता र उत्पादन अत्याधिक बढेको छ । यो अवधीमा नेपालमा दर्जनभन्दा बढी वियर उत्पादन कम्पनी थपिएका छन् । जसले नयाँ ब्राण्डमा वियर उत्पादन ल्याएका छन् ।

वियर उद्योगको उत्पादन क्षमता बढेपनि चामल उद्योग भने धरासायी नै अवस्थामा पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षमा नेपालमा ७ सय ३९ मेट्रिक टन चामलको उत्पादन भयो । जबकी क्षमता ५ हजार मेट्रिकटन थियो । गतवर्ष चामल उद्योगले क्षमताको १४.८ प्रतिशत उपयोग गरेका छन् ।

यस्तै आर्थिक वर्ष २०७३/७४ मा चामल उद्योगको उत्पादन क्षमता ७५ सय मेट्रिकटन थियो । तर,उत्पादन जम्मा २ हजार १६१ मेट्रिकटन मात्र भएको थियो ।

नेपाल दाल चामल तथा खानेतेल उद्योग संघका अध्यक्ष सुबोद गुप्ता राज्यको नीतिको कारण चामल उद्योग थप धरासायी हुँदै गएको बताउँछन् ।

‘सरकारले धान आयातमा ५ प्रतिशत भन्सार शुल्क लगाएको छ,चामल आयातमा ८ प्रतिशत शुल्क लगाएको छ, यस्तोमा धान आयात गर्नुभन्दा चामल आयात गर्नु फाइदा छ,’ गुप्ताले क्लिकमाण्डूसँग भने ।

सरकारको नीति परिवर्तन नभएमा चामल उद्योग चामल उद्योग कवाडीमा परिणत हुने उनको दाबी छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा ६५ लाख १५ हजार लिटर रक्सीको उत्पादन भएको छ । रक्सी उद्योगले ५८.८ प्रतिशत उपयोग गरेका छन् ।

राष्ट्र बैंकका अनुसार सहज रुपमा भएको विद्युत् आपूर्तिको कारण उद्योगको उपयोग क्षमता बढेको छ । गत आर्थिक वर्षमा आफ्नो क्षमताको ५९.७ प्रतिशत उपयोग उद्योगले गरेका छन् । अघिल्लो वर्ष यस्तो क्षमताको उपयोग ५७.३ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार क्षमता अनुसार सबैभन्दा बढी उपयोग पश्मिना उद्योगले गरेको छ । पश्मिनाले आफ्नो क्षमताको ९९.१ प्रतिशत उपयोग गरेको छ ।

औद्योगिक क्षेत्रमा जाने कर्जाको समेत २७.४ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०७४ असार मसान्तमा ६ खर्ब ३० अर्ब रुपैयाँ औद्योगिक क्षेत्रमा कर्जा गएकोमा २०७५ असार मसान्तसम्ममा ८ खर्ब रुपैयाँ कर्जा औद्योगिक क्षेत्रमा गएको छ ।


क्लिकमान्डु