सरकारले न्याय नदिएपछि निर्मलाका बाबुआमा आमरण अनसनमा
काठमाडौं । बलत्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका आमाबाबु न्याय नपाएको भन्दै आमरण अनसनमा बसेका छन् । घटना भएको चार महिना बित्दा पनि सरकारले अपराधीलाई कारबाही गर्न नसकेको भन्दै निर्मलाका बाबुआमा आइतबार ११ बजेदेखि अनसन बसेका हुन् ।
निर्मलाका बाबुआमा आइतबार ११ बजे कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयको गेटअघि अनसन बसेका हुन् । हत्यारालाई कारबाही नभएसम्म अनसन बस्ने उनीहरुले जनाएका छन् ।
गत साउन १० गते साथीको घरमा गएकी निर्मलाको शव भोलिपल्ट नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएको थियो ।
सरकारले छानविन माथि छानविन समिति बनाएर निर्मला हत्याकाण्डका दोषीलाई कारबाही गर्न आलटाल गरिरहेको भन्दै सर्बत्र आलोचना पनि भइरहेको छ ।