एक थान मन्त्री खान आएको होइन, अर्थतन्त्रमा क्रमभंगता गर्न आएको हुँ: अर्थमन्त्री वाग्ले

490
Shares


काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन परम्परागत कार्यशैलीको अन्त्य गर्दै ‘क्रमभंगता’ गर्ने बताएका छन् ।

पदभार ग्रहण गरेलगत्तै अर्थ मन्त्रालय मातहतका निकायलाई सम्बोधन गर्दै उनले आफू केवल मन्त्रीको पद ओगट्न नभई एक विराट् लक्ष्य लिएर आएले साथ दिन कर्मचारीसँग आह्वान गरेका छन् ।

अर्थमन्त्री वाग्लेले कर्मचारीहरूलाई त्रसित नहुन तर, इमानदारीपूर्वक काम गर्न निर्देशन दिए । ‘माछा बिग्रे टाउकोबाट बिग्रन्छ भन्छन्, हामी राजनीति गर्नेहरू असल भएपछि तपाईंहरूलाई पनि काम गर्न सहज हुन्छ,’ कर्मचारी वाग्लेले कर्मचारीलाई भने, ‘म कर्मचारीलाई गाली गर्न वा आलोचना गर्न आएको होइन । तर, मुलुकको ट्र्याकभन्दा बाहिर जाने र गलत बाटो रोज्नेलाई म माया गर्न सक्दिनँ।’

उनले कर्मचारी छनोट र जिम्मेवारीमा कुनै पनि राजनीतिक पूर्वाग्रह नराखिने प्रतिबद्धता जनाए । ‘म दलीयकरणको छायाबाट टाढा छु, म केवल मेरिट (क्षमता) र इमानदारी हेर्छु,’ उनले भने । उनले कर्मचारीहरूलाई लोकसेवा पास गर्दा लेखेका देश बनाउने निबन्ध’ सम्झन आग्रह गर्दै उनले अब घुस खाने र खुवाउने समय सकिएको भन्दै चेतावनी दिए ।

जनताले विगतका विसंगति चिर्नका लागि दुईतिहाइको बहुमत दिएको उल्लेख गर्दै अर्थमन्त्रीले यसैको जगमा टेकेर आर्थिक पुनर्संरचना गर्ने बताए । ‘बरालिएको अर्थतन्त्रलाई अब ट्र्याकमा ल्याइनेछ। सुशासन र जनताको हितमा कुनै पनि सम्झौता हुने छैन’ अर्थमन्त्री वाग्ले भने ।

आगामी बजेटमार्फत् ‘आर्थिक राजकाज’को रूपान्तरण सुरु हुने उनले बताए । उनले कर्मचारीहरूलाई आफ्नो क्षमता र योजना पूर्ण रूपमा प्रयोग गर्न आह्वान गरे । उनले नेपाली अर्थतन्त्रलाई विदेशमा रहेका नेपालीसँग (डायस्पोरा) जोड्ने योजना समेत सुनाए । ‘एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनाका साथ उनीहरूको लगानी र सम्पत्तिको सुरक्षा गरिनेछ, त्यसपछि मात्र विदेशी लगानी आकर्षित हुन्छ,’ उनले भने ।