
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आफ्नो मातहतका निकायबाट उत्पादन हुने विभिन्न प्रजातिका आलंकारिक (सजावटका) बिरुवाहरूको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ।
साउन ६ गते बसेको मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १२७ को उपनियम (१) मा भएको व्यवस्था अनुसार नयाँ दररेट कार्यान्वयनमा ल्याइएको हो।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंको कीर्तिपुरस्थित समशितोष्ण बागवानी केन्द्रमा उत्पादन हुने बिरुवाहरूको उत्पादन विधि र प्रजातिका आधारमा छुट्टाछुट्टै मूल्य तोकिएको छ।
जसअनुसार लेयरिङ्ग प्रविधिबाट उत्पादन गरिएका निलजाई, ईन्द्रकमल र चाईनिज गुलाबको प्रति बिरुवा मूल्य ११० रुपैयाँ कायम गरिएको छ। यी बिरुवाहरू विशेष प्रविधिबाट तयार पारिने भएकाले अन्यको तुलनामा केही महँगो दर निर्धारण गरिएको देखिन्छ।
त्यसैगरी, कटिङ्ग प्रविधिबाट उत्पादन गरिएका बिरुवाहरूको हकमा भने सहुलियतपूर्ण मूल्य तोकिएको छ।
कटिङ्ग गरिएका निलजाई, ईन्द्रकमल, एजेलिया, हंसराज, चाईनिज गुलाब र साधारण गुलाबको प्रति बिरुवा दर ६५ रुपैयाँ मात्र निर्धारण गरिएको छ।
सरकारी स्तरबाट उत्पादित यी बिरुवाहरूको मूल्यमा एकरूपता ल्याउन र सर्वसाधारणलाई सुपथ मूल्यमा गुणस्तरीय बिरुवा उपलब्ध गराउन मन्त्रालयले यो सूचना प्रकाशित गरेको हो।
कृषि विभाग र त्यस अन्तर्गतका निकायहरूबाट उत्पादन हुने यस्ता आलंकारिक बिरुवाहरूको बिक्री वितरणलाई व्यवस्थित बनाउन मन्त्रालयले समय–समयमा दररेट परिमार्जन गर्दै आएको छ।
यस निर्णयसँगै अब सजावटका बिरुवा खरिद गर्न चाहने नर्सरी व्यवसायी तथा सर्वसाधारणले तोकिएको सरकारी दररेटमै कीर्तिपुर बागवानी केन्द्रबाट बिरुवाहरू प्राप्त गर्न सक्नेछन्।
मन्त्रालयले यसअघि नै यस्ता बिरुवाहरूको उत्पादन र वितरणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन समेत दिइसकेको छ।





प्रतिक्रिया