
काठमाडौं । विगत चार महिनादेखि पोल्ट्री व्यवसायमा ठुलो धक्का पुर्याएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को प्रकोप नेपालमा पछिल्लो समय नियन्त्रणको दिशामा अघि बढेको छ।
चालु आर्थिक वर्षको सुरुवाती दिन अर्थात् साउन १ गतेयता मुलुकको कुनै पनि क्षेत्रमा बर्डफ्लुको नयाँ सङ्क्रमण फेला नपरेपछि पशुसेवा विभागले यो रोग अब नियन्त्रणको चरणमा पुगेको निष्कर्ष निकालेको हो।
विभागका अनुसार अहिले पनि विभिन्न जिल्लाबाट शङ्कास्पद नमुनाहरू परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्मका सबै नतिजा नकारात्मक देखिएका छन्।
पशुसेवा विभागका महानिर्देशक डा। उमेश दाहालले सङ्क्रमण नियन्त्रणमा आएको स्पष्ट सङ्केत देखिए पनि जोखिम भने पूर्ण रूपमा टरिनसकेको बताए।
रोग पुनः फैलिन नदिन सरकारले प्रयोगशाला परीक्षण र निगरानीलाई तीव्रता दिँदै पोल्ट्री फार्महरूमा जैविक सुरक्षा ९बायो–सिक्युरिटी० मापदण्डलाई कडाइका साथ लागू गर्न निरन्तरता दिएको छ।
विभागले किसानहरूलाई उच्च सतर्कता अपनाउन, शङ्कास्पद लक्षण देखिएमा तत्काल पशुसेवा कार्यालयमा खबर गर्न र जैविक सुरक्षामा कुनै सम्झौता नगर्न विशेष आग्रह गरेको छ।
यस वर्षको बर्डफ्लु सङ्क्रमण पहिलो पटक २०८२ साल चैत ४ गते मोरङको सुन्दरहरैँचा र उर्लाबारीबाट सुरु भएको थियो।
त्यसपछि यो महामारी सुनसरी, झापा, चितवन, नवलपरासी, बारा, महोत्तरीसहित काठमाडौं उपत्यकाका तीनै जिल्ला र काभ्रेपलाञ्चोक गरी कुल ११ जिल्लामा फैलिएको थियो।
काठमाडौं उपत्यका र काभ्रेका मात्रै ११९ स्थानमा यो रोग पुष्टि भएको थियो, जसमा भक्तपुर सबैभन्दा बढी प्रभावित जिल्लाको रूपमा देखिएको थियो। ललितपुरमा असार २५ गतेपछि र काठमाडौं तथा भक्तपुरमा साउन १ गतेयता कुनै नयाँ सङ्क्रमण पुष्टि भएको छैन।
महामारी नियन्त्रणका लागि चालिएको कदमका क्रममा देशभर ८ लाख ३५ हजार ५६३ पन्छी, ११ लाख ६५ हजार ६६३ गोटा अन्डा र २ लाख ४५ हजार ३५ किलोग्राम दाना नष्ट गरिएको विभागको तथ्याङ्क छ।
यसबाट आर्थिक मारमा परेका किसानहरूलाई राहत दिन सरकारले ५२ करोड रुपियाँ विनियोजन गरेको थियो। जसमध्ये हालसम्म १०४ जना प्रभावित कृषक तथा पोल्ट्री फार्मले ५० करोड ७१ लाख १५ हजार रुपियाँ क्षतिपूर्ति स्वरूप प्राप्त गरिसकेका छन्।
यो महामारीबाट व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलरदेखि स्थानीय कुखुरा, हाँस र टर्कीसमेत प्रभावित भएका थिए।





प्रतिक्रिया