
मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५, पुलु बजारमा गएराति गएको विनाशकारी पहिरोमा पुरिएर एक बालकको ज्यान गएको छ।
बस्तीभन्दा करिब २०० मिटर माथिबाट खसेको ढुङ्गासहितको पहिरोले घर पुर्दा ३ वर्षीय बालक रमेश बडुवालको मृत्यु भएको हो।
छायाँनाथ रारा नगरपालिका–१३ तिर्प स्थायी घर भई पुलु बजारमा होटल व्यवसाय गर्दै आएका जगनाथ बडुवालको परिवार राति सुतिरहेको अवस्थामा पहिरो खसेको थियो।
बडुवाल स्थानीय पेमा लामाको घर भाडामा लिएर होटल चलाइरहेका थिए । पहिरोमा पुरिएका ३ वर्षीय रमेशलाई प्रहरी र स्थानीयको सक्रियतामा उद्धार गरी स्वास्थ्य चौकी पुर्याइए पनि चिकित्सकले उनलाई बचाउन सकेनन्।
पहिरोमा परी बालकका बुबा ३२ वर्षीय जगनाथ बडुवाल र २७ वर्षीया आमा सृजना बडुवाल सामान्य घाइते भएका छन्। उनीहरूको हाल पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
पहिरोले सो घर पूर्ण रूपमा ध्वस्त बनाएको छ भने आसपासका थप ८ घरहरू उच्च जोखिममा परेका छन्। जोखिम बढेसँगै ती घरमा बस्दै आएका ७ परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक ९डीएसपी० रवीराज थपलियाले जानकारी दिए।
घटनाको जानकारी पाउनासाथ छायल प्रहरी चौकीबाट टोली पुगेर उद्धार सुरु गरेको थियो। थप उद्धार र क्षतिको विस्तृत विवरण सङ्कलनका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा ७ जना र छायलबाट ६ जनाको थप टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
अविरल वर्षा र भौगोलिक विकटताका कारण सो क्षेत्रमा थप पहिरो जान सक्ने खतरा रहेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ। अहिले स्थानीय र सुरक्षाकर्मीको टोली घटनास्थलमा व्यवस्थापनका लागि खटिएको छ।





प्रतिक्रिया