
काठमाडौं । वायुसेवा निगम अध्यक्षमा श्रेष्ठको नियुक्ति विरुद्ध कार्कीको रिटमाथिको पेशी सर्वोच्च अदालतका न्यायाधीदद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ ।
उक्त रिटमाथि कारण देखाउ आदेश यस अघि नै जारी भइसकेकोले आज सरकारका प्रतिनिधिसँग निगममा मेरिट वेसिसमा सबैभन्दा अगाडि रहेका कार्कीलाई नियुक्त नगरी पछाडि रहेका श्रेष्ठलाई नियुक्त गर्नुको कारणका विषयमा दुबै पक्षसँग छलफल हुने छ । दुबै पक्षको तर्कपछि रिट निवेदकको माग बमोजिमको अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने विषयमा अदालतले आदेश दिने भएको छ ।
सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा ललितपुरका महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेपछि उनको नियुक्त कानूनसंवत नभएको भन्दै निगमको सञ्चालक समिति सदस्य महेश्वरभक्त श्रेष्ठलाई गरेको नियुक्तिविरुद्ध रिट परेको थियो ।
गत सोमबार मात्रै सर्वोच्च अदालतका नृपध्वज निरौलाको एकल इजलासले निगमको सञ्चालक समिति सदस्य कार्कीले प्रधानमन्त्री तथा मन्त्री परिषद्को सचिवालय समेत ५ जनालाई विपक्षी बनाएर हालेको मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो ।
उक्त आदेशसँगै अदालतले अन्तरिम आदेश दिने सम्बन्धमा शुक्रबार मुद्दाका विपक्षीलाई छलफलको लागि बोलाएको हो । शुक्रबार (आज)सरकारका प्रतिनिधिले निगममा श्रेष्ठलाई नियुक्त गर्नुको कारणसहितको जवाफ पेश गर्नेछन भने निगम सदस्य कार्कीले मागेको मागदाबीको विषयमा समेत छलफल हुने छ ।
रिटमा कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन मन्त्री, वायुसेवा निगम र महेश्वरभक्त श्रेष्ठलाई विपक्षी बनाएका छन् ।





प्रतिक्रिया