बाँदर धपाउन खुल्यो जागिर, तलब कति ?

497
Shares

बाँदर धपाउनका लागि जागिर खुलेको छ । बाँदरले खेतबारीका अन्नबाली नै नष्टगर्न थालेपछि डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर व्यवस्थापन तथा बाली संरक्षणका लागि २० जना कर्मचारी नियुक्त गर्ने भएको हो ।

बाँदरबाट अत्याधिक प्रभावित भएका अर्धाखाँचीका २६ क्षेत्रमा २० जना बाँदर हेरालु नियुक्त गरिने भएको हो । यो संख्या थपघट पनि हुनसक्छ ।

कार्यालयले साउन ६ गते सूचना प्रकाशित गर्दै प्रभावित क्षेत्रका इच्छुक नागरिकबाट तीन दिनभित्र कार्यालय समयमा निवेदन दिन आह्वान गरेको छ ।

बाँदर हेरालुहरूलाई वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरिरहेका समूहसँगको साझेदारीमा परिचालन गरिनेछ।
नियुक्त भएका हेरालुको कार्यअवधि २०८३ साल साउन १० गतेदेखि असोज १० गतेसम्म (दुई महिना) रहनेछ।

यसमा बाँदर प्रभावित क्षेत्रका स्थायी बासिन्दा, ४५ वर्ष ननाघेका तथा वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा रुचि भएका व्यक्तिले आवेदन दिन सक्नेछन्।

आवेदननका साथमा निवेदन, यसअघिको अनुभव भए सोको प्रमाणपत्र अथवा वडाको सिफारिससहित आवश्यक कागजात लिएर डिभिजन वन कार्यालय अर्घाखाँची जानु पर्नेछ ।

विषेशगरी सामुदायिक वन, वन हेरालु, नर्सरी हेरालु, नाङ्ले हेरालु वा यस्तै प्रकृतिको कार्य अनुभव भएकालाई प्राथमिकता दिइने जनाइएको छ।

बाँदर हेरालुको कार्य बाँदरको नियमित निगरानी गर्ने, किसानलाई समयमै सूचना दिने, बाली क्षतिको अभिलेख राख्ने, सम्बन्धित वडा तथा कार्यालयलाई जानकारी गराउने तथा मानवीय र वातावरणमैत्री तरिकाले बाँदरलाई खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ धपाउने रहनेछ।

यी कर्मचारीको मासिक पारिश्रमिक १२ हजार ५०० निर्धारण गरिएको छ।