सिटिजन्स बैंकको बृहत् अभियान: सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम नागरिकमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ चालू आर्थिक वर्ष २०८२/८३ मा देशव्यापी रूपमा बृहत् कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बैंकले आफ्ना सातै प्रदेशमा रहेका १४८ शाखा कार्यालयहरू मार्फत वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरेको हो ।

बैंकले कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बाग्मती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ९ र सुदूरपश्चिम प्रदेशका १० शाखाहरू मार्फत विभिन्न लक्षित वर्गलाई समेटेको छ । यस अभियानबाट महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू तथा विभिन्न उमेर समूहका गरी करिब १० हजार व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन् ।

कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता, बचतको महत्त्व र डिजिटल बैंकिङ्गको विकाससँगै बढ्दै गएको वित्तीय अपराध तथा जोखिमका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

बैंकले नगद कारोबार, लेनदेन र विप्रेषण गर्दा अनिवार्य रूपमा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरेको छ । यसबाट बैंकिङ्ग प्रणाली मजबुत हुने र नागरिकको वित्तीय ज्ञानमा सुधार आउने बैंकको विश्वास छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न सामुदायिक विद्यालय र स्थानीय स्वास्थ्य केन्द्रहरूलाई सहयोग पुर्‍याएको छ ।

यसै क्रममा बैंकको सार्केगाड शाखाले हुम्लाको सार्केगाड गाउँपालिका वडा नं. ०४ स्थित श्री हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्मका १९६ जना गरिब तथा जेहेन्दार बालबालिकाहरूलाई विद्यालय पोसाक तथा न्यानो स्विटर वितरण गरेको छ । यस्ता पहलले समाजमा सकारात्मक परिवर्तन ल्याउने बैंकले जनाएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गमा पनि नयाँ आयाम थपेको छ । बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।

त्यस्तै, युवा वर्गलाई लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र अनलाइन सेवाका लागि ‘सिटिजन्स डिजी बैंक सेवा’ सञ्चालनमा ल्याइएको छ । फ्रिलान्सरहरूका लागि विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ को सुरुवात गरिएको छ । मोबाइल बैंकिङ्ग एप मार्फत नै सेयर आवेदन र सी.आर.एन नम्बर लिन सकिने सुविधाका साथै अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको काउन्टरबाट क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।

हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग एकाइहरू मार्फत करिब २० लाख ४५ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।