इंग्ल्याण्डका किपरको ‘पेनाल्टी चिट’ भाइरल: मेस्सीले फेला पारेपछि हाँस्दै हेरे

0
Shares

एजेन्सी । बुधबार सम्पन्न फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँग २-१ ले पराजित भएपछि इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डको पानीको बोतल अचानक चर्चाको विषय बनेको छ ।

खेल सकिएपछि क्यामेराहरूले अर्जेन्टिनाका खेलाडीहरू पिकफोर्डको बोतल वरिपरि जम्मा भएको दृश्य कैद गरे ।

बोतलमा टाँसिएको कागजमा अर्जेन्टिनाका प्रत्येक सम्भावित पेनाल्टी किकरले सामान्यतया कता किक हान्ने गर्छन् भन्ने विस्तृत जानकारी लेखिएको थियो जसरी परीक्षामा विद्यार्थीले चिट बनाएर लैजान्छन् ।

लियोनेल मेस्सी, एन्जो फर्नान्डेज लगायतका खेलाडीहरू आ-आफ्नै नाम र त्यससँगै लेखिएका ‘प्रिफर्ड साइड’ हरू देखेर हाँस्दै टाउको हल्लाएको त्यो दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तर विडम्बना के भने, पिकफोर्डले तयार पारेको यो ‘चिट सिट’ काम लाग्न पाएन ।

किनभने खेल सामान्य समयमै एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोलमा अर्जेन्टिनाको पक्षमा निर्णय भयो र पेनाल्टी शुटआउट हुनुको आवश्यकता नै परेन ।

उल्लेखनीय छ, महत्त्वपूर्ण प्रतियोगिताहरूमा यसरी विस्तृत पेनाल्टी नोट बनाएर ल्याउने पिकफोर्डको यो पहिलो पटक होइन, यो उनको पुरानै र प्रख्यात बानी हो।