
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले देशमा लोडसेडिङ अन्त्य भएको दाबी गरे पनि औद्योगिक क्षेत्रमा अझै अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावका कारण उद्योगहरू गम्भीर समस्यामा परेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले विशेषगरी तराईका औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि आवश्यक गुणस्तरको विद्युत उपलब्ध नभएको बताए ।
उनका अनुसार उद्योगहरूमा दैनिक रूपमा नेपाल विद्युत प्राधिकरणबाट फोनमार्फत निश्चित समयसम्म केवल बत्ती बाल्न मिल्ने गरी विद्युत प्रयोग गर्न र उत्पादनमूलक मेसिन सञ्चालन नगर्न निर्देशन आउने गरेको छ । यसले औपचारिक रूपमा लोडसेडिङ नभने पनि व्यवहारमा उद्योगहरूले अघोषित लोडसेडिङ भोग्नुपरेको उनको भनाइ छ ।
‘काठमाडौंलगायतका शहरी क्षेत्रमा लोडसेडिङ छैन । तर सीमावर्ती तथा तराईका औद्योगिक क्षेत्रमा उद्योगहरूले अझै पनि अघोषित रूपमा विद्युत कटौतीको समस्या भोगिरहेका छन,‘ उनले भने, ‘गुणस्तरीय भोल्टेज नहुँदा उद्योगका उपकरणमा क्षति पुग्ने, उत्पादन लागत बढ्ने र उत्पादन प्रक्रिया नै प्रभावित हुने अवस्था छ ।’
श्रेष्ठले औद्योगिक क्षेत्रमा देखिएको यो समस्यालाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिए । विद्युत उत्पादन बढ्दै गएको अवस्थामा प्रसारण र वितरण प्रणालीलाई समानान्तर रूपमा विस्तार नगर्दा उद्योगहरूले अपेक्षित लाभ लिन नसकेको उनको भनाइ थियो ।
उनले अघोषित लोडसेडिङ र कमजोर विद्युत गुणस्तरका कारण उद्योगको उत्पादन क्षमता प्रभावित भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यमलाई पनि यो विषयलाई प्राथमिकताका साथ उजागर गर्न आग्रह गरे ।
‘लोडसेडिङ छैन भन्ने मात्र पर्याप्त हुँदैन । उद्योगहरूले भोगिरहेको वास्तविक अवस्था पनि सार्वजनिक हुनुपर्छ,‘ उनले भने, ‘एउटा उद्योगको क्षति भनेको अन्ततः देशकै आर्थिक क्षति हो ।‘
श्रेष्ठले उद्योगमैत्री विद्युत आपूर्ति सुनिश्चित गर्न प्रसारण पूर्वाधार विस्तार, स्थिर नीति तथा गुणस्तरीय विद्युत आपूर्तिमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।





प्रतिक्रिया