वित्तीय स्थायित्व रिपोर्ट

‘स्ट्रेस टेस्टिङ’ को नतिजा भन्छ: संयमित नभए बिग्रिँदै गएको सम्पत्ति गुणस्तरले जुनसुकै बेला वित्तीय क्षेत्रमा जोखिम

0
Shares

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रको बाह्य स्वरूप सबल देखिए पनि आन्तरिक रूपमा वित्तीय स्थायित्वमा दबाब बढ्दै गएको नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ‘फाइनान्सियल स्टेविलिटी रिपोर्ट २०२४/२०२५’ ले बैंकहरूमा पुँजीको पर्याप्तता कायम राखे पनि सम्पत्तिको गुणस्तर लगातार खस्किँदै जाँदा संकट आउन सक्ने संकेत गरेको छ ।

विशेष गरी निष्क्रिय कर्जामा भएको वृद्धि, ऋणीहरूको भुक्तानी क्षमतामा आएको गिरावट र दबाब परीक्षणका नतिजाहरूले बैंकिङ क्षेत्रको स्वास्थ्यमा केही गम्भीर जोखिमहरू देखाएका छन् ।

बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो चुनौती अहिले सम्पत्तिको गुणस्तरमा देखिएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक गतिविधिमा आएको सुस्तताका कारण अर्थतन्त्रका विभिन्न क्षेत्रमा कर्जा चुक्ता नगर्ने प्रवृत्ति बढेको औँल्याइएको छ । २०८१ असार मसान्तमा ३.८६ प्रतिशत रहेको समग्र निष्क्रिय कर्जा अनुपात २०८२ असार मसान्तसम्म आइपुग्दा ४.६२ प्रतिशत पुगेको छ । उक्त तथ्यांक २०८३ चैत मसान्तमा साढे ५ प्रतिशतभन्दा माथि पुगेको छ ।

कुल निष्क्रिय कर्जामध्ये ६२.३० प्रतिशत हिस्सा ‘खराब’ कर्जाको रहेको प्रतिवेदनमा उल्लेख छ । बैंकहरूले तत्काल असुली गर्ने सम्भावना भएको र न्यून कर्जा नोक्सानी व्यवस्था गर्दा हुने कर्जाको हिस्सा निष्क्रिय कर्जामा न्यून रहेको देखिन्छ ।

कुल कर्जामा शंकास्पद कर्जाको हिस्सा पनि १६.९५ प्रतिशतबाट बढेर २१.०६ प्रतिशत पुगेको छ । जसले आगामी दिनमा खराब कर्जा अझै बढ्न सक्ने जोखिमलाई संकेत गर्दछ।।

तथ्यांक अनुसार २०८१ असारमा १ खर्ब ९९ अर्ब ६६ करोड रुपैयाँ रहेको निष्क्रिय कर्जा एकै वर्षमा करिब ५९ अर्बले बढेर २ खर्ब ५८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। निष्क्रिय कर्जामा भएको वृद्धिले बैंकहरूको नाफामा मात्र नभई उनीहरूको पुँजीगत आधारमा समेत दबाब सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ ।

कुन क्षेत्रमा कति निष्क्रिय कर्जा ?

गत आर्थिक वर्ष २०८१/८२ मा क्षेत्रगत आधारमा हेर्दा मत्स्यपालन क्षेत्र सबैभन्दा बढी प्रभावित देखिएको छ। यस क्षेत्रको निष्क्रिय कर्जा ९.९७ प्रतिशत पुगेको छ। त्यस्तै, थोक तथा खुद्रा बिक्रेता क्षेत्रमा ८.५१ प्रतिशत, निर्माण क्षेत्रमा ८.४० प्रतिशत, कृषिमा ७.९२ प्रतिशत र यातायात तथा सार्वजनिक सेवा क्षेत्रमा ६.६९ प्रतिशत निष्क्रिय कर्जा पुगेको प्रतिवेदनमा उल्लेख छ ।


यी तथ्यांकले उत्पादनशील र सेवा क्षेत्रमा प्रवाह भएको कर्जा उठ्न नसक्दा समग्र अर्थतन्त्र नै शिथिल बनेको देखाउँछ । निर्माण क्षेत्रको मन्दी र उपभोक्ताको क्रयशक्ति घट्दा खुद्रा व्यापारमा आएको गिरावटको प्रत्यक्ष असर बैंकहरूको वित्तीय विवरणमा देखिएको हो ।

बैंकहरू अझै पनि पर्याप्त पुँजीकृत देखिए पनि दबाब बढ्दै गएको प्रतिवेदनले औँल्याएको छ । गत आबमा कुल पुँजी पर्याप्तता अनुपात १२.९५ प्रतिशत र प्राथमिक पुँजीकोष १०.१३ प्रतिशत रहेको छ ।

यो नियामकले तोकेको न्यूनतम सीमाभन्दा माथि भए पनि सम्पत्तिको गुणस्तर घट्दै जाँदा पुँजी पर्याप्तता लगातार घट्दै गएको देखिन्छ । ‘सम्पत्तिको गुणस्तरमा आएको ह्रासले पुँजी पर्याप्तता कायम राख्ने बैंकहरूको क्षमतामा जोखिम बढाएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यदि खराब कर्जा यसैगरी बढ्दै जाने हो भने बैंकहरूले थप ‘प्रोभिजनिङ’ गर्नुपर्ने हुन्छ, जसले सिधै प्राथमिक पुँजी घट्न थप दबाब पर्नेछ ।’

ठूला २ ऋणी डिफल्ट भएमा ९ बैंक समस्यामा पर्ने जोखिम

राष्ट्र बैंकले गरेको दबाब परीक्षण (स्ट्रेस टेस्टिङ) को नतिजाले पनि वित्तीय क्षेत्रमा ठूलो जोखिम देखाएको छ । बैंकिङ प्रणालीमा रहेका १५ प्रतिशत ‘असल कर्जा’ मात्र ‘कमसल’ वर्गमा झार्ने वा गर्ने अवस्था आएमा ६ वटा वाणिज्य बैंकको पुँजी पर्याप्तता अनुपात ११ प्रतिशतको न्यूनतम नियामक सीमाभन्दा तल झर्ने स्ट्रेस टेस्टिङको नतिजाले देखाएको छ ।

५ प्रतिशत असल कर्जा सिधै ‘खराब’ वर्गमा वर्गीकरण भएमा १२ वटा बैंक पुँजीकोषको संकटमा पर्ने नतिजाले देखाएको छ। त्यस्तै, यदि कुनै बैंकका शीर्ष २ ठूला ऋणीहरूले ऋण तिर्न नसकी डिफल्ट भएमा ९ वटा बैंकको पुँजी पर्याप्तता अनुपात तोकिएको सीमाभन्दा तल झर्नेछ। यसले कर्जाको केन्द्रीकरण कति जोखिमपूर्ण छ भन्ने देखाएको छ ।

तरलतामा निक्षेपकर्ता केन्द्रीकरणको जोखिम

पछिल्लो केही वर्षयता अर्थतन्त्रमा देखिएको सुस्तताले कर्जाको माग सुस्त भएको छ । जसले तरलताको सन्दर्भमा भने बैंकहरू सहज अवस्थामा देखिएका छन्। खुद तरल सम्पत्ति र कुल निक्षेपको अनुपात ३४.३३ प्रतिशत छ । जुन २० प्रतिशतको न्यूनतम सीमाभन्दा निकै बढी हो। तरलतामा पनि ‘कन्सन्ट्रेशन रिस्क’ उच्च रहेको प्रतिवेदनमा उल्लेख छ।

स्ट्रेस टेस्टिङ रिपोर्टमा शीर्ष २ ठूला संस्थागत निक्षेपकर्ताले एकैपटक पैसा फिर्ता मागे भने ३ वटा बैंकको तरलता २० प्रतिशतभन्दा तल झर्ने अवस्था देखाएको छ । शीर्ष ५ निक्षेपकर्ताले पैसा निकालेमा ६ वटा बैंकले तत्काल तरलता संकट भोग्नुपर्ने देखिन्छ। यसले बैंकहरू केही सीमित ठूला निक्षेपकर्तामा निर्भर रहेको र सर्वसाधारणको निक्षेप परिचालनमा विविधीकरणको कमी रहेको प्रतिवेदनले औँल्याएको छ ।

बैंकिङ स्थायित्व सूचकमा पनि जोखिमको उकालो ग्राफ

बैंकिङ स्थायित्व सूचकमा पनि जोखिमको ग्राफ उकालो लाग्दो देखिएको छ । बैंकिङ क्षेत्रको समग्र स्वास्थ्य मापन गर्ने ‘बैंकिङ स्थायित्व सूचक’ ले पनि सन्तोषजनक चित्र प्रस्तुत नगरेको प्रतिवेदनमा उल्लेख छ ।

२०७९ असारमा ०.३६ रहेको यो सूचक २०८२ असारमा बढेर ०.५५ पुगेको छ। बैंकिङ स्थायित्व सूचक बढ्नुको अर्थ बैंकिङ प्रणालीमा जोखिमको स्तर बढ्नु हो ।

विशेष गरी ‘सुदृढता’ (साउन्डनेस) सूचकको स्कोर ०.६६ पुग्नुले बैंकहरूको आन्तरिक सुरक्षा कमजोर हुँदै गएको संकेत गर्ने प्रतिवेदनमा उल्लेख छ । नाफा, सम्पत्तिको गुणस्तर र वित्तीय संवेदनशीलताका सूचकहरू उच्च विन्दुमा स्थिर रहेकोले बैंकिङ क्षेत्र ‘स्ट्रेस’ मा रहेको स्पष्ट पार्छ ।

सम्पत्तिको गुणस्तरमा आएको ह्रासका कारण अधिकांश क्षेत्रमा जोखिम बढेको र नाफा घटाएको प्रतिवेदनमा उल्लेख छ । जसले बैंकहरुको पूँजीकोषमा थप दबाब सिर्जना गरेको छ। निष्क्रिय कर्जा र पुनर्संरचना गरिएका सम्पत्तिहरूको बढ्दो स्तरले सम्पत्ति गुणस्तर सूचकलाई घटाएको छ । सम्पत्तिमा प्रतिफल र पूँजीमा प्रतिफलमा आएको ह्रासले नाफाको सूचकलाई पनि कमजोर बनाएको छ। जोखिम–भारित सम्पत्तिमा भएको वृद्धिका कारण संवेदनशीलताको क्षेत्रमा पनि निरन्तर जोखिम बढेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

बढ्दो निक्षेपका कारण खुद तरल सम्पत्तिमा वृद्धि भई तरलतामा सुधार देखिएपनि ‘लागत–आम्दानी अनुपात’ मा भएको वृद्धिका कारण कार्यदक्षता सूचक कमजोर भएको प्रतिवेदनमा उल्लेख छ ।

गत आबमा बैंकहरूको खुद नाफा १०.०७ प्रतिशतले बढेर ७७.५३ अर्ब पुगेको छ । तर, वृद्धिलाई उत्साहजनक भन्दा पनि गुणात्मक रूपमा हेर्दा निराशाजनक रहेको छ । सम्पत्तिमा प्रतिफल ०.८७ बाट घटेर ०.८५ प्रतिशतमा झरेको छ ।

यसको अर्थ बैंकहरूले आफ्नो सम्पत्तिको अनुपातमा नाफा कमाउने क्षमता गुमाउँदै गएको प्रतिवेदनमा उल्लेख छ । लागत–आम्दानी अनुपात बढ्दै जाँदा बैंकहरूको सञ्चालन कार्यदक्षतामा पनि ह्रास आएको प्रतिवेदनले औँल्याएको छ।

बैंकहरूका लागि अर्को समस्याको रूपमा सञ्चालन जोखिम देखिएको छ । साइबर ठगी वा प्राविधिक त्रुटिका कारण बैंकहरूको कुल आम्दानी ५० प्रतिशतले घट्यो भने १० वटा बैंकको पुँजी पर्याप्तता अनुपात जोखिमपूर्ण अवस्थामा पुग्ने देखिएको छ। सेयर बजारमा बैंकहरूको प्रत्यक्ष लगानी न्यून भए पनि बजार ५० प्रतिशतले घट्यो भने २ वटा बैंकलाई पुँजीकोषमा दबाब पर्ने देखिएको छ ।

निक्षेप संकलन र तरलतामा सुधार आए पनि कर्जा असुलीको चुनौतीले वित्तीय स्थायित्वमा भने जोखिम बढ्दै गएको देखाएको हो । ‘सम्पत्तिको गुणस्तर लगातार बिग्रिँदै गएको र निष्क्रिय कर्जाको बढ्दो दरलाई सम्बोधन गर्न निरन्तर सुपरीवेक्षकीय ध्यान आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ, ‘बैंकहरूले अब कर्जा विस्तारमा मात्र केन्द्रित नभई, भएका कर्जाहरूको गुणस्तर सुधार गर्न, कर्जा असुली प्रक्रियालाई तीव्र बनाउन र जोखिम व्यवस्थापनका आन्तरिक संयन्त्रहरूलाई मजबुत बनाउनुपर्ने देखिन्छ ।’

बैंकिङ क्षेत्र संयमित नहुने हो भने ‘स्ट्रेस टेस्टिङ’ ले देखाएका काल्पनिक ‘सक’हरू कुनै पनि बेला यथार्थमा परिणत हुन सक्ने जोखिम औँल्याएको छ ।