
काठमाडौं । विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधारमा चुनौती’ विषयक कार्यक्रममा श्रेष्ठले विद्युत् प्रसारण लाइन निर्माणका लागि आगामी पाँच वर्षमा ४१ अर्ब लगानी आवश्यक रहेको बताएका हुन् ।
९८ प्रतिशत घरधुरीमा विद्युत् वितरण पुगेको बताउँदै उनले हाल ५९ लाख १६ हजारभन्दा बढी ग्राहक रहेको बताए ।
हाल मुआब्जा वितरण, जग्गा प्राप्तिलगायतका विषयमा समस्या रहेको उनको भनाइ छ । जलविद्युत् उत्पादन मात्र पर्याप्त नभएको बताउँदै सुदृढ, भरपर्दो र आधुनिक प्रसारण प्रणाली नै नेपालको ऊर्जा सुरक्षा, आर्थिक रूपान्तरण र समृद्धिको आधार भएको बताए ।

हाल ४ हजार १३० मेगावाट विद्युत् उत्पादन भइरहेको उनको भनाइ छ । सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट पुर्याइने लक्ष्य लिइएको छ । ५ वर्षे रणनीतिअनुसार अल्पकालीन रणनीतिमा अवरोध हटाउने, मध्यकालीन रणनीतिमा संरचनात्मक सुधार गर्ने र दीर्घकालीन रणनीतिमा ४०० केभी ब्याकबोन र स्मार्ट ग्रिड बनाउने रहेको छ ।
नेपालको जलविद्युत् क्षमताको वास्तविक आर्थिक प्रतिफल मात्र पर्याप्त नहुने बताउँदै त्यसका लागि ४०० केभी प्रसारण सञ्जाललाई बिनाकुनै प्राविधिक सम्झौता सञ्चालन गर्न सकिने बताए ।
आगामी कदमको रूपमा विभिन्न खालका अवरोधहरू हटाउँदै, ऐन तथा मापदण्ड लागू गर्दै र दक्ष संस्थागत प्रणालीको निर्माण गरेर मात्रै ऊर्जाको रक्तसञ्चारलाई निर्वाध प्रवाह गर्न सक्षम हुने उनको भनाइ छ ।





प्रतिक्रिया