
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले हाल सञ्चालनमा रहेका सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता सम्बन्धी प्रणालीहरूमा प्राविधिक समस्या देखिएको भन्दै सेवाग्राहीसँग क्षमा मागेको छ ।
विभागले एक सार्वजनिक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । सूचना अनुसार, सवारी चालक अनुमति पत्र सम्बन्धी प्रणाली (ईडीएल) र सवारी साधन दर्ता सम्बन्धी प्रणालीहरू (भीआरएस तथा ईभीआरएस) मा आंशिक अवरोध उत्पन्न भएको छ।
विभागका अनुसार मुलुकभर प्रदेश सरकारमार्फत यातायात कार्यालयहरूको संख्या विस्तार हुने क्रम जारी छ । अर्कोतर्फ, आर्थिक वर्षको अन्त्यमा यातायात सम्बद्ध सेवाहरू लिन आउने सेवाग्राहीहरूको अत्यधिक चाप बढेको छ । प्रणालीको सीमित क्षमता र सेवाग्राहीको उच्च चापका कारण सर्भर तथा व्यवस्थापनमा केही समस्याहरू देखिएको विभागले स्पष्ट पारेको छ ।
प्रणालीमा देखिएका अवरोध र समस्याहरूलाई यथाशीघ्र सम्बोधन गरी सहज रूपमा सेवा प्रवाह गर्न विभाग निरन्तर प्रयासरत रहेको सूचनामा उल्लेख छ ।








प्रतिक्रिया