विश्व हिन्दू आर्थिक मञ्च नेपाल–२०२७ सफल बनाउन महासंघ र डब्लुईएफबीच समझदारी

0
Shares

काठमाडौं । नेपाललाई विश्वस्तरको लगानी, नवप्रवर्तन र उद्यमशीलताको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र विश्व हिन्दू आर्थिक मञ्च बीच एक महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सन् २०२७ मा नेपालमा आयोजना हुने ‘विश्व हिन्दू आर्थिक मञ्च’ सम्मेलनलाई सफल बनाउन र द्विपक्षीय सहकार्यका लागि यो सम्झौता गरिएको हो ।

महासंघको सचिवालयमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र विश्व हिन्दू आर्थिक मञ्च नेपाल–२०२७ आयोजक समितिका अध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले समझदारीपत्रमा हस्ताक्षर गरे ।

यो समझदारीअनुसार आगामी दिनमा नेपालका सातै प्रदेशमा लगानीयोग्य सार्वजनिक–निजी परियोजनाहरूको पहिचान र प्रवर्द्धन गरिनेछ । साथै, वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्ने र नेपालको आर्थिक कूटनीतिलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष अन्जन श्रेष्ठले यो सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय लगानी र व्यावसायिक साझेदारीको केन्द्र बनाउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘नेपालसँग प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र रणनीतिक भौगोलिक अवस्थिति जस्ता विशिष्ट सम्भावनाहरू छन् । यस सहकार्यले ती सम्भावनालाई उत्पादन, लगानी र रोजगारीमा रूपान्तरण गर्न सहयोग पुग्नेछ,’ उनले भने ।

त्यसैगरी, आयोजक समितिका अध्यक्ष सुरज वैद्यले २०२७ को सम्मेलनले वैदेशिक लगानी भित्र्याउन, युवा उद्यमशीलता प्रवर्द्धन गर्न र नेपालको आर्थिक विकासलाई नयाँ गति दिन सहयोग पुग्ने बताए।

सम्मेलनअगाडि नेपाल र विदेशमा संयुक्त रूपमा प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गरी ठोस लगानी प्रतिबद्धता जुटाइने जानकारी पनि उनले दिए ।

विश्व हिन्दू आर्थिक मञ्चका संरक्षक स्वामी विज्ञान आनन्दले नेपालमा अथाहा आर्थिक सम्भावना रहेको चर्चा गर्दै सम्मेलनमार्फत नयाँ अवसरहरूको खोजी गरिने बताए । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशी, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्ष कृष्ण प्रसाद शर्मा र विश्व हिन्दू आर्थिक मञ्च नेपालका अध्यक्ष प्रदीपमान वैद्य लगायतले यस सहकार्यले नीतिगत सहजीकरण र बाह्य लगानी प्रवर्द्धनमा टेवा पुग्ने धारणा राखे ।