अर्जेन्टिना र इंग्ल्यान्डका रेफ्रीहरू किन एकअर्काको म्याच खेलाउँदैनन् ?

224
Shares

एजेन्सी । सन् २०२६ को फिफा विश्वकप अहिले आफ्नो निर्णायक र रोमाञ्चक चरणमा पुगेको छ । विश्वकपका अन्तिम नकआउट खेलहरू नजिकिँदै गर्दा मैदानमा हुने रेफ्रीका निर्णयहरूमाथि तीव्र बहस र निगरानी हुन थालेको छ ।

विशेषगरी, विश्वविजेता अर्जेन्टिना र इजिप्टबीच मंगलबार राति भएको राउन्ड अफ १६ को तनावपूर्ण खेलपछि फ्रान्सेली रेफ्री फ्राँस्वा लेतेक्सियरको भूमिकालाई लिएर चर्को आलोचना भएको छ । खेलको गाम्भीर्य र संवेदनशीलता बढेसँगै रेफ्रीका ससाना निर्णयहरूले पनि ठूलो अर्थ राख्न थालेका छन् ।

फिफाले प्रत्येक खेलका लागि निर्णायकहरूको छनोट गर्दा उनीहरूको तटस्थता र कार्यक्षमतालाई मुख्य आधार बनाउने दाबी गरे पनि अन्तर्राष्ट्रिय मञ्चमा भूराजनीतिक सम्बन्धहरूले ठूलो भूमिका खेल्ने गरेका छन् ।

अर्जेन्टिना र इंग्ल्यान्डबीचको ऐतिहासिक शत्रुताका कारण इंग्ल्यान्ड फाइनलतर्फ अघि बढेमा अर्जेन्टिनाका रेफ्रीहरूलाई खेल खेलाउन दिइने छैन । त्यसैगरी चर्चित अंग्रेजी रेफ्रीहरू एन्थोनी टेलर र माइकल ओलिभरले पनि अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको क्वार्टरफाइनल वा अर्जेन्टिनाका अन्य खेलहरूमा मैदान सम्हाल्न पाउने छैनन् ।

यस प्रतिबन्धले खेलको नतिजामा पर्न सक्ने सम्भावित प्रभाव र निष्पक्षताप्रतिको आशंकालाई सम्बोधन गर्न खोजेको देखिन्छ ।

यो अनौठो परिस्थितिको जड ४४ वर्ष पुरानो फकल्यान्ड टापुको युद्धमा लुकेको छ । दक्षिणी आन्ध्र महासागरमा रहेको यस टापुमाथि नियन्त्रण जमाउन सन् १९८२ अप्रिल २ मा अर्जेन्टिनाले आक्रमण गरेपछि दुई देशबीच ७४ दिनसम्म भीषण युद्ध भएको थियो ।

सन् १९८२ जुनमा अर्जेन्टिनाको आत्मसमर्पणसँगै समाप्त भएको उक्त युद्धमा दुवैतर्फ गरी झण्डै एक हजार मानिसले ज्यान गुमाएका थिए । यही ऐतिहासिक र राजनीतिक तिक्तताका कारण फिफाले यी दुई देशसँग सम्बन्धित रेफ्री र टोलीहरूलाई आमनेसामने हुनबाट जोगाउने नीति लिँदै आएको छ ।

विश्वकपका बाँकी नकआउट खेलहरूका लागि रेफ्री छनोट गर्दा फिफाले कार्यसम्पादनका साथै भौगोलिक र राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्ने गरेको छ । एउटै समूहमा रहेका देशका रेफ्रीहरूलाई ती देशका सम्भावित प्रतिस्पर्धीहरूको खेल खेलाउन बन्देज लगाइन्छ ।

उदाहरणका लागि, अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेलमा अंग्रेज वा नर्वेली रेफ्रीहरूलाई राखिने छैन किनकि उनीहरू सेमिफाइनलमा एकअर्काका प्रतिस्पर्धी हुन सक्छन् । यसै कारण अर्जेन्टिनी रेफ्री फाकुन्डो टेल्लोलाई केवल फ्रान्स, मोरक्को, स्पेन र बेल्जियम समावेश रहेको अर्को समूहको क्वार्टरफाइनलका लागि मात्र विचार गरिएको थियो ।

पछिल्लो समय रेफ्रीका निर्णयहरूलाई लिएर विवादहरू झन् बढेका छन् । अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गरे पनि अर्जेन्टिनी समर्थकहरू फ्रान्सेली रेफ्रीको उपस्थितिलाई लिएर असन्तुष्ट देखिए । सन् २०१८ र २०२२ को विश्वकपमा फ्रान्स र अर्जेन्टिनाबीचको कडा प्रतिस्पर्धाका कारण समर्थकहरूले लेतेक्सियरको पृष्ठभूमिमाथि प्रश्न उठाएका हुन् ।

अर्कोतर्फ, इजिप्टका प्रशिक्षक होसाम हसनले पनि रेफ्री र फिफामाथि गम्भीर आपत्ति जनाएका छन् । खेलको ७८औं मिनेटसम्म २–० को अग्रता लिएको इजिप्टले अन्तिम ११ मिनेटमा खेल गुमाएपछि हसन निकै आक्रोशित बनेका थिए ।

प्रशिक्षक हसनको गुनासो केवल हारमा मात्र सीमित थिएन । खेलको सुरुवाती चरणमा इजिप्टको ३–० को अग्रता हुन सक्ने गोललाई भीएआर मार्फत खारेज गरिनु र अन्तिम समयमा पेनाल्टी क्षेत्रभित्र भएको फलको पुनरवलोकन नगरिनुलाई उनले पक्षपातपूर्ण भनेका छन् ।

खेल सुरु हुनुअघि नै उनले रेफ्री लेतेक्सियरको पृष्ठभूमिलाई लिएर आपत्ति जनाएका थिए र रेफ्रीले केही कुरा लुकाइरहेको जस्तो देखिएको टिप्पणी गरेका थिए । यही व्यवहारका कारण उनलाई पहेंलो कार्ड समेत देखाइएको थियो । त्यसले मैदानमा खेलाडी र रेफ्रीबीचको बढ्दो अविश्वासलाई उजागर गरेको छ ।

फ्रान्स र मोरक्कोबीचको क्वार्टरफाइनल खेलमा टेल्लोको नेतृत्वमा सबै अर्जेन्टिनी रेफ्री राखिएको विषयलाई पनि आलोचना गरिएको छ ।