‘पुँजीबजार विकास मार्गचित्र’ सार्वजनिक गरी कार्यान्वयनमा लैजाने धितोपत्र बोर्डको तयारी

98
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा देखिएका वर्तमान समस्याहरूको समाधान र लगानीकर्ताको हित संरक्षणको अवधारणापत्र ल्याउने भएको छ । बजारमा हाल देखा परेका विभिन्न समस्या र लगानीकर्ताका गुनासोहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै बोर्डले बजार सुधारका लागि गहन गृहकार्य गरिरहेको जनाएको छ ।


सेबोनले आगामी एक साताभित्रै समयबद्ध कार्ययोजनासहितको विस्तृत ‘पुँजीबजार विकास मार्गचित्र’ सार्वजनिक गरी तत्काल कार्यान्वयनमा लैजाने तयारी बोर्डले गरेको बताइएको छ ।

‘बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन धितोपत्र व्यवसायीहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशन समेत दिइसकेको छ,’ बोर्डले भनेको छ, ‘तोकिएको समयमै कामकारवाहीहरू सम्पादन गराउन र नियमन व्यवस्थालाई थप व्यवस्थित बनाउन बोर्डले धितोपत्र सम्बन्धी विद्यमान ऐन, नियमावली र सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाहरूमा समयसापेक्ष पुनरावलोकनको कार्य समेत प्रारम्भ गरिसकेको छ ।’

सेबोनले यस कदमले सार्वजनिक निष्काशन प्रक्रिया र समग्र बजारको वातावरणलाई थप विश्वसनीय बनाउने विश्वास लिएको जनाएको छ ।

लगानीकर्ताको हितलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्दै बोर्डले बजारमा व्याप्त अनावश्यक हल्ला, बहकाउ र अफवाहको पछि नलाग्न बोर्डले आग्रह गरेको छ ।

बोर्डका प्रवक्ता निरञ्जन घिमिरेद्वारा जारी विज्ञप्तिमा लगानीकर्ताहरूलाई आफ्नै अध्ययन र विश्लेषणका आधारमा जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यान दिएर मात्र सुझबुझ पूर्ण लगानी सम्बन्धी निर्णय लिन सुझाइएको छ।