
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि नगर प्रहरीले मोटरसाइकलमा ‘ह्विल लक’ लगाएपछि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।
बिहीबार दिउँसो करिब १:४५ बजेको समयमा भएको उक्त घटनामा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली गम्भीर घाइते भएका छन् ।
पेसाले राइड सेयरिङ (पठाओ) चालक रहेका नेपालीले राहदानी विभागको ३ नम्बर गेट नजिकै आफ्नो मोटरसाइकल रोकेका थिए ।
पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ह्विल लक लगाइदिएको थियो ।
सोही विषयलाई लिएर नगर प्रहरी र नेपालीबिच भनाभन र विवाद भएको थियो । नगर प्रहरीको कारबाहीबाट आक्रोशित र आवेशमा आएका उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएका थिए र अप्रत्याशित रूपमा आगो लगाएका थिए ।
घटनास्थलमा तैनाथ प्रहरी टोलीले तत्कालै आगो निभाएर उनलाई उद्धार गरेको थियो । उनलाई तत्काल उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल पुर्याइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार नेपालीको अहिले उपचार भइरहेको छ ।
उनको अहिले वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको छ । आगोले शरीरका विभिन्न भाग जलेका नेपाली हाल सामान्य बोल्न सक्ने अवस्थामा रहेका छन् ।
प्रहरीले घटनाको सम्बन्धमा थप सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएको छ ।






प्रतिक्रिया