
काठमाडौं । रगत चाहिएमा अब सिधै नागरिक एपबाट कुन ठाउँमा कति रगत छ भनेर हेर्न सकिन्छ । यसले बिरामीका आफन्तले रगतको खोजीमा एउटा अस्पतालबाट अर्को अस्पताल धाउनुपर्ने समस्या धेरै हदसम्म कम हुने देखिएको छ।
‘नागरिक एप’ मा राखिएको ‘रक्त सूचना’ पोर्टलमा देशभर उपलब्ध रगतको विवरण हेर्न मिल्छ । मङ्गलबार मात्र एपको यो नयाँ भर्सन सार्वजनिक गरिएको हो । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा रहेको निःशुल्क स्वास्थ्य पोर्टलमा प्रवेश गरी ‘रक्त सूचना पोर्टल’ हेर्न सकिन्छ ।
नयाँ थपिएको यस ‘रक्त सूचना’ पोर्टल फिचरमार्फत प्रयोगकर्ताले देशभर कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। यो सुविधा अहिले केही सीमित जिल्लाहरूमा मात्र सुरु गरिएको छ। हाल नागरिक एपमा यो सुविधा काठमाडौं, चितवन, भक्तपुर र ललितपुरमा उपलब्ध छ ।
सेवाग्राहीले जिल्ला छनोट गरेपछि सम्बन्धित स्थानमा उपलब्ध रगतको समूह, रगतको मात्रा, पिन्ट संख्या र अन्य आवश्यक विवरण स्क्रिनमा देखिनेछ । त्यसपछि सम्बन्धित रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरेर आवश्यक रगत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसले विशेषगरी आकस्मिक अवस्थामा रगत खोज्न लाग्ने समय, सास्ती र अन्योललाई उल्लेख्य रूपमा घटाउने अपेक्षा गरेको बताएको छ।






प्रतिक्रिया